arrow

इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, सयौँ लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
cardio-camp-noble-hospital-2080-09-21.jpeg

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । 

स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरकोसमेत आयोजना गर्दै आउने क्रममा गत शनिबार इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा संचालित उक्त शिविरमा ३३२ जना मुटु रोगका बिरामीहरुको परीक्षण र उपचार गरिएको नोबेलका जनसम्पर्क अधिकारी नविन दाहालले बताए । 

नोबेलको मुटुरोग विभागका प्रमुख प्राडा राजेश नेपाल, अर्का मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल र अन्य मुटुरोग विशेषज्ञ चिकित्सकसहित ८ जना चिकित्सकको स्वास्थ्य टोलीले बिरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, ईसीजी र परामर्श सेवा प्रदान गरेको थियो । 

शिविरमा ३३२ जना बिरामीको निःशुल्क इकोकार्डियाग्राम र २२५ जनाको ईसीजी गरिएको थियो ।

आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा त्यसमा पनि ईको, ईसीजी निःशुल्क भएकाले बिरामीहरुलाई ठूलो सहयोग पुग्न गएको र भविष्यमा अनुकुल मिलाएर नोबेलको सहकार्यमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्ने योजना रहेको आयोजकले जानकारी दिए ।

शिविर उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष, तुलसा टोल विकास संस्थाका पदाधिकारीहरु र अधिकारी मेडिकोका संचालकको उपस्थिति रहेको थियो । 

मन्तव्य व्यक्त गर्दै डा. राजेश नेपालले स्व. कुमार अधिकारीकोे उपचारमा आफू संलग्न भएको स्मरण गर्दै प्रायः बिरामीहरुले सोध्ने गरेको हृदयाघातका बारेमा जानकारी दिएका थिए । 

“हार्ट अट्याक भनेको भुइँचालो आएको जस्तो हो । भुइँचालो कसैलाई थाहा नदिइ आउने गर्दछ त्यस्तै हार्ट अट्याक पनि अप्रत्याशित हुने गर्दछ । तर कसैलाई हिँड्दा या काम गर्दा छाती भारी हुनु र बसेपछि आराम हुनु भनेको हार्ट अट्याक हुनु भन्दा अगाडिको लक्षण हो । हार्ट अट्याक भइसकेपछि छाती एक दमै दुख्छ र दुखिरहन्छ । पोले जस्तो र छातीमा भारी बस्तुले किचे जस्तो हुन्छ । दुखाइ देब्रे हाततिर सरेर जान्छ र बढी कान्छी औँलातिर दुख्ने गर्छ । कसैकसैलाई बङ्गारातिर पनि दुख्छ । जिउ लल्याक लुलुक हुनु, रिङ्गटा लाग्नु, वाकवाकी लाग्नु हार्ट अट्याकको लक्षण हुन् । ईसीजी गरेर हेर्दा यो प्रष्ट देखिन्छ । तर ग्याष्ट्रिक भयो भनेर मानिसहरु झुक्किने गर्दछन् । चिकित्सक पनि झुक्किएका छन् । हार्ट अट्याक भयो भने अथवा लक्षण देखियो भने घण्टा घण्टाको अझ भनौँ मिनेट मिनेटको महत्व हुन्छ । जति सक्दो चाँडो अस्पताल लगेर उपचार शुरु गर्नुपर्छ । यो भनेको आगो लाग्यो भने दमकल कहिले बोलाउने हो भने जस्तै हो । जति सक्दो चाँडो दमकल बोलायो क्षति त्यति कम गर्न सकिन्छ । त्यस्तै हार्ट अट्याक भएका बिरामीलाई जति सक्दो चाँडो अस्पताल लान सकियो त्यसले गर्ने क्षति त्यति कम गर्न सकिन्छ ।” 

डा. नेपालले विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु हुने पनि मुटु रोगकै कारणले हो भने समयमा रोग पत्ता लागेमा मुटु रोगको उपचार सम्भव भएको बताए । 

नेपाल सरकार र प्रदेश सरकारले मुटु रोगको उपचारमा सहुलियत र आर्थिक सहयोग गर्ने उल्लेख गर्दै नोबेलमा आउने बिरामीहरुले पैसा कै कारण उपचारबाट अहिलेसम्म बञ्चित हुन नपरेको बताए । 

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत मुटु रोग उपचारमा एक लाख बराबरको सहुलियत प्राप्त हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ