arrow

नोबेलमा १० वर्षे बालिकाको जटिल र ठूलो ब्रेन ट्युमरको सफल शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
brain-tumor-10years-child.jpg

विराटनगर । ब्रेन ट्युमर सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्युमर भएका मानिसको पीडा, घर परिवारमा आइपर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप बिरामीको उपचार सफल होला नहोला भन्ने डर । वयस्क र वृद्ध अवस्थाका बिरामी भन्दा पनि कम उमेरका बिरामी भयो भने त अझ धेरै त्रास र मानसिक पीडा । यस्तै पीडादायक अवस्थामा बाँच्न बाध्य कटहरी गाउँपालिकाकी एक ऋषिदेब परिवारकी १० वर्षे बालिकाको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

विगत दुई महिनादेखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यानमै बेहोस रहेकी १० वर्षीया  दिपिका ऋषिदेबलाई उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो । बिरामीको परीक्षणको क्रममा सीट स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिनेतर्फ ठूलो आकारको ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।

“बिरामीका बुबा आमाले बिरामीको अवस्थाको कारण आस मारिसकेका थिए” उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्राडा एडमण्ड जोनाथानले भने । उनका अनुसार नोबेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याएका रहेछन् । 

आर्थिक अवस्था पनि कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । 

बिरामीको अवस्था र उपचारको बारेमा बिरामीका अभिभावकसँग छलफलपछि बिरामीको उपचार अगाडि बढ्यो । बिरामीको उपचारमा अस्पतालबाट छुटसमेत उपलब्ध गरिएको उनले बताए ।

शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा. प्रमोद चौधरीले भने शरीरको अङ्ग चलाउने दिमागको भागमा नै ठूलो ट्युमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो । 

शल्यक्रियापछि बिरामीको अवस्था ठीक छ । तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ । विस्तारै सामान्य अवस्थामा आउनेमा  ढुक्क रहेको जोनाथानले बताए ।

 बिरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै बिरामीका बुबाले भने “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाउँ देखायौँ तर कही निको भएन । नोबेलले हामीलाई धेरै सहयोग गर्यो । यहाँ आएपछि अपरेशन सक्सेस भयो । अहिले मेरो नानीले हिँड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउण्ट पनि दिएको छ ।”

डा जोनाथान भन्छन्, “बालबालिकामा टाउको दुखिरहने, उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ । त्यस्तो बिरामीहरुको सीटी स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित छ । न्यूरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिशतसम्म रहेको छ ।”    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ