arrow

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
dubas-meet.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्कतिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताए । साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनलेजानकारी गराए ।  

प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड-१९ को सङ्क्रमणवाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखी विभिन्न सुधार कार्य अगाडि बढाएकोले गत छ महिनामा मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको बताए । सामाजिक क्रियाकलापमा पनि अपेक्षित सुधार आएको उनको भनाइ छ ।

यस अवधिमा १८ वर्ष माथिका एक करोड-९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्णमात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ । यो अवधिसम्ममा विभिन्न प्रकारका कुल चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी दुई करोड ७४ लाख ७५ हजार ९९५ डोज खोप वितरण गरिएको छ । पुस मसान्त सम्ममा  एक मात्रा खोप लगाएको जनसङ्ख्या एक करोड ५६ लाख छ हजार २१ र  पूर्णमात्राको खोप लगाएको जनसङ्ख्या एक करोड १८ लाख ६९ हजार ९७४ रहेको छ ।

कोभिड-१९ विरुद्धका विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ । प्रधानमन्त्री दउवाले सङ्क्रामक रोग विरुद्ध खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने र तरल अक्सिजन उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराउभयो ।

कोभिड-१९को सामना गर्नका लागि सरकारी अस्पतालमा पूर्वाधार सेवामा उल्लेख्य सुधार गरिएको छ । फलस्वरूप अक्सिजन प्लान्ट, भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको उपलब्धतामा बढोत्तरी भएको बताउँदै उनले सरकारी अस्पतालको सुधार र स्तरोन्नतिलाई प्राथमिकतामा राख्नेकार्य अघि बढाइएको बताए । कोभिड-१९ को बढ्दो प्रकोपसँगै अवरुद्ध हुन पुगेको अन्य बिरामीको उपचारलाई सरकारी अस्पतालमा सुचारु गरिएको छ ।

कोभिड-१९ को नयाँ स्वरूपको ओमिक्रोन भाइरसको सङ्क्रमण हुन नदिनका लागि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थालाई भरपर्दो बनाइएको छ । अक्सिजनको पर्याप्त र भरपर्दो आपूर्ति तथा भण्डारण, स्वास्थ्य पूर्वाधारको विस्तार र जनशक्तिको व्यवस्थापनमा सुधार गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ