काठमाडौं । कोरोना भाइरसको महामारीका बेलामा विद्यालय जाने बालबालिकाले विभिन्न समस्या भोग्नुपरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार ६० प्रतिशत अविभावकहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त भएको पाइयो भने ८० प्रतिशतले बालबालिका पढाइमा कमजोर भएको अनुभव गरेको पाइएको छ ।
त्यस्तै अपाङ्गता भएका बालबालिकाहरूले भर्चुअल सिकाइका क्रममा गृहकार्य गर्न चुनौती भोग्नुका साथै उनीहरू पछि पर्ने सम्भावना बढी रहेको देखिएको छ । कोरोनाका बेलामा २५ प्रतिशत विद्यार्थीले मात्रै विद्यालयका कक्षा कोठाहरूमा शारीरिक दूरी अभ्यास गरेको पाइएको पनि सर्वेक्षणले देखाएको छ ।
गत नोभेम्बरमा गरिएको सर्वेक्षणमा २१ प्रतिशतले खानका लागि दैनिक संघर्ष गरिरहेको बताएका थिए भने ११ प्रतिशत परिवार र उनका बालबालिकाले पहिलाको तुलनामा कम खाना खाने गरेको बताएका थिए ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारमा कोरोना महामारीले उत्पन्न गरेको अवस्थाको नियमित अनुगमन गर्न युनिसेफ नेपालले शेयरकाष्ट इनिशियटिभ नेपालसँगको सहकार्यमा विभिन्न चरणमा टेलिफोन अन्तर्वार्ताका माध्यमबाट ‘चाइल्ड एण्ड फेमेली ट्रयाकर’ नामक गरेको राष्ट्रिय सर्वेक्षणमा उक्त निष्कर्ष आएको हो ।
सर्वेक्षणमा सहभागी १५ प्रतिशत उत्तरदाताले समुदायमा महिला तथा बालबालिकामाथि हिंसा भएको देखेको सर्वेक्षणमा भनेका छन् भने महिला तथा बालबालिकामाथि हिंसा भएको देख्नेको संख्या बढ्दै गएको छ ।
महिला विरुद्धको हिंसाका सवालमा प्राप्त भएका रिपोर्ट गरिएका हिंसात्मक व्यवहारहरूका सवालमा घरेलु हिंसा, चिच्याउने र अपमान तथा धम्की दिने जस्ता कार्यहरू प्रमुख छन् । छोरीहरूले बालविवाह गर्न बाध्य भएको र शिक्षामा भेदभाव भोग्दै छन् भने छोराहरूले आर्थिक शोषणका साथै शारीरिक हिंसा र धेरै गाली खाने गरेका छन् ।