काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ नेविसंघको विधिवत महाधिवेशनका लागि सहमति जनाएका छन् । असन्तुष्ट पक्षका नेता कुन्दन काफ्लेको नेतृत्वमा देउवा निवास बुढानीलकण्ठ गएको एक हजार बढी कार्यकर्तासहितको टोलीलाई सम्वोधन गर्दै देउवाले आफू विधिवत् महाधिवेशनकै पक्षमा रहेकाले विवादित जिल्लालाई समाधान गरेर महाधिवेशन गर्ने बताएका छन् ।
उनले विद्यार्थी नेताहरुकै अगाडि फोन गरेर महाधिवेशन निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतलाई विवाद समाधान गरेर आमरण अनसन तोडाउन निर्देशन दिएका छन् ।
नेपाली काँग्रेसका नेताहरु भ्रातृ संगठन नेविसंघको आइतबारदेखि हुँदै गरेको महाधिवेशनका लागि गम्भीर नभएपछि पीडित नेताहरु अन्ततः नेताहरु भेट्न उनीहरुकै निवासमा पुगेका हुन् ।
देउवाले आमरण अनसनरत दुई विद्यार्थीको अवस्था गम्भीर भएको चिकित्सकले बताएको उल्लेख गर्दै ‘म विधिवत महाधिवेशन गराउँछु तपाईहरु आमरण अनसन फिर्ता लिनुस्’ भनेका छन् ।
देउवाले आफ्ना मागबारे सकारात्मक भावना राखेसंगै पूर्व कोषाध्यक्ष कुन्दन काफ्लेको नेतृत्वमा गएको नेविसंघको टोली खुसी भएर फर्किएको सहभागी नेता बलदेव तिमल्सिनाले जानकारी दिए ।
नयाँ सरकारमा कसलाई पठाउने भन्ने रस्साकस्सी चलिरहेका बेलामा नेविसंघका मागबारे उनीहरुलाई सोच्ने फुर्सद नभइरहँदा पीडित नेताहरु भने मुख्य नेताका ढोका ढक्ढक्याउन पुगेका हुन् ।
गत शनिबारदेखि दुई विद्यार्थी नेताहरु आमरण अनसनमा बसिरहेका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।
विधिवत महाधिवेशनको माग गर्दै आमरण अनसनमा बसेका नेताहरुको माग सम्वोधन हुने सम्भावना त कमजोर बनेको छ नै अब महाधिवेशन हुनेमै शंका छ ।
महाधिवेशन हुन दुई दिन बाँकी रहँदा अझै ११ जिल्लाको अधिवेशन नै गर्न बाँकी छ ।
अधिवेशन भएको भनिएका अन्य ११ जिल्लामासमेत विवाद छ । नेविसंघमा टिके प्रथा जारी रहेकाले विगत ९ वर्षदेखि महाधिवेशन हुन सकेको छैन ।