arrow

नोबेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा, कारबाहीको माग गर्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
nobel-hospital-birodh-2022-2342424.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानले बुधबार मोरङ्गको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै प्रदर्शन गरेको छ । मेडिकल कलेजमा भएको तोडफोड र आतंकप्रति ध्यानाकर्षण भएको जनाउँदै अभियानका मोरङ जिल्ला संयोजक जितेन्द्र यादवको नेतृत्वमा घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

विद्यार्थी आन्दोलनको नाममा नोबेल हस्पिटलभित्र तोडफोड तथा बिरामी कुरुवालाई आतंकित पार्ने एवं नर्सहरुसँग अभद्रता गरेको विरुद्धमा अभियानले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा हस्पिटलभित्र गुन्डागर्दी गर्न पाइँदैन, बिरामीलाई आतंकित गर्न पाइँदैन, आन्दोलनको नाममा गुण्डागर्दी बन्द गर, नोबेल हस्पिटलभित्र आतंक मचाउने उपर कारवाही गर जस्ता नारा अभियन्ताहरुले नारा लगाएका थिए ।

नोबेल मेडिकल कलेजमा विधार्थी संगठनको नाममा गुण्डागर्दी गरिएकोप्रति अभियानले समेत आपत्ति जनाएको छ। अभियानका संयोजक यादवले भने, ‘अस्पताल, कलेज, मन्दिर लगायतका संरचना सामाजिक संरचना हुन् । त्यहाँ गएर बिरामी तथा घाइते एवम् महिला स्वास्थ्यकर्मीहरुलाई त्रसित र आतंकित बनाउनु, धम्की दिनु, तोडफोड गर्नु र असुरक्षाको वातावरण श्रृजना गर्नु निन्दनीय कार्य हो।’ 

आन्दोलन आफैमा गलत नभए पनि आन्दोलन सरोकारवाला केन्द्रित हुनुपर्ने अभियानको जोड छ। ‘कलेजले कुनै गल्ती गरेको भए वा विद्यार्थीहरु समस्यामा परेको भए कलेजलाई नियमन गर्ने मेडिकल काउन्सिल जस्ता निकाय छन्’ यादवले भने ‘उनीहरुसँग सम्वन्धित भएर गरिएको भए आन्दोलनलाई जायज मान्न सकिन्छ ।’

तर कुनै मन्दिर, अस्पताल, स्कुल, कलेजमा भेला भएर आन्दोलन गर्नु, तोडफोड गर्नु र धम्की दिनुलाई कदापि सही मान्न नसकिने भन्दै नोबेल मेडिकल कलेजमा भएको तोडफोड तथा क्षतिका लागि जिम्मेवार भएकाहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको अभियानका संयोजक यादवले बताए ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्यार्थी र कलेजका सुरक्षागार्डबीच सोमबार झडप भएको थियो। विद्यार्थीले मेडिकल कलेजमा तोडफोड गरेका थिए ।

दोहोरो झडपमा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा, मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टर लगायतमा क्षती पुगेको थियो। कलेजका सुरक्षा गार्डले भाटाले हिर्काउँदा केही विद्यार्थी घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ