काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशनका लागि गठित निर्देशन समितिले विधान पारित गरेको छ । बिहीबार पारित भएको विधानमा १२ औं महाधिवेशनका लागि विद्यार्थी नेता बन्ने उमेर ३२ वर्षसम्ममात्र तोकेको छ ।
आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै गरेको ११ औं महाधिवेशनका लागि भने यो उमेर हदबन्दी लागु हुने छैन । नेविसंघमा उमेरको हदै नभएको भन्दै विशेष आलोचना हुँदै आएको थियो ।
त्यस्तै नेविसंघको कार्यसमिति अहिलेसम्मकै जम्बो बनाइएको छ । १५१ सदस्यीय कार्यसमितिमा १२९ जना निर्वाचित र २२ जना मनोनित हुनेछन् ।
अहिले सात प्रदेशमासमेत विभाजन गरी निर्वाचन हुँदैछ । हरेक प्रदेशका लागि उपाध्यक्ष र सहमहामन्त्री छुट्टाइएको छ ।
नेविसंघको माउपार्टी नेपाली काँग्रेसले डा. प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति बनाएर विधान तयार पारेको हो । सदस्यहरुमा गुरुराज घिमिरे, प्रदीप पौडेल, गोविन्द भट्टराई र किशोरसिंह राठौर छन् ।
सदस्य पौडेलले ‘मेरो पालामा ४१ सदस्यीय केन्द्रीय समिति थियो, प्रजातान्त्रिक काँग्रेस जोडिएपछि ५५ सदस्यीय भएको थियो, यो त अहिलेसम्मकै जम्बो हो’ भने ।
विधानमा २ वर्षभित्र अधिवेशन गर्नुपर्ने प्रावधान राखिएको छ । विशेष परिस्थितिमा तीन महिना थप्न पाउने र त्यो समयसम्म गर्न नसके समिति विघटित हुने प्रावधान राखिएको छ । समिति विघटन भएपछि पार्टीले ६ महिनाभित्र अधिवेशन गर्ने पनि उल्लेख गरिएको छ ।
त्यसैगरी विधानमा कुनै पदमा भएको व्यक्तिले चुनावमा उम्मेदवारी दियो भने रहेको पद स्वतः खारेज हुने पनि उल्लेख गरेको छ । तल्लोतहबाट माथिल्लो तहका लागि उम्मेदवारीसम्म दिएको हकमा पनि स्वतः खारेज हुने विधान आएको हो ।