काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । साउन २३ देखि २५ गतेसम्म हुने भनिएको यो महाधिवेशनबारे सबै कार्यकर्ता तथा नेता भने ढुक्क हुन सकेका छैनन् ।
दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरी ढुङगेल विधिवत महाधिवेशनको माग राख्दै पार्टी कार्यालयमा शनिबारदेखि आमरण अनशनमा छन् भने सन्तुष्ट पक्षका नेताहरु महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रचारमा जुटेका छन् ।
प्रचारप्रसार तीव्र हुँदै गर्दा अझै पनि कतिपय तोकिएकै मितिमा महाधिवेशन हुन्छ नै भनेर ठोकुवा गर्न सक्ने अवस्था नभएको तर्क गर्छन्। तर महाधिवेशनस्थल भृकुटीमण्डप पुग्यो भने कोही पनि अब पछाडि फर्कने स्थिति देखिदैन ।
भृकुटीमण्डपमै बस्ने हो भने माउ पार्टी नेपाली काँग्रेसको मुख्यालयमा शनिबारदेखि आमरण अनसनमा बसेका दुई विद्यार्थी नेतामाथि व्यङ्ग्य गरेजस्तै हुन्छ ।
आमरण अनसन छाड्न दबाब दिन माउ पार्टीले कुनै पहल नै गरेको छैन । निर्देशन समितिसंग बिहीबार राति भएको वार्ता पनि असफल भएको छ । निर्देशन समितिले सीधै आमरण अनसन फिर्ता गरी चुनावी माहोलमा आउन आग्रह गरेको छ । जुन मान्य हुने कुरै भएन ।
उनीहरुको अवस्थासमेत गम्भीर हुँदै गएको छ । शुक्रबारदेखि आइसीयुमा हुने सबै सुविधा अवलम्बन गर्ने आन्दोलनका नेतृत्वकर्ता कुन्दन काफ्लेले हाम्राकुरालाई बताए ।
६४ जिल्लामा अधिवेशन भए पनि ११ जिल्लामा धाँधली भएको, बाँकी रहेका ११ जिल्लामा अधिवेशन हुनै नसकेको, काठमाडौं उपत्यकाका स्ववियु निर्वाचन नभएका क्याम्पसमा अधिवेशन नै नभएको, विश्वविद्यालय, वैदेशिक नियोग गरी झण्डै ११०० प्रतिनिधि चयन नै हुन सकेको अवस्था छैन ।
यस्तोमा काँग्रेसले कसरी महाधिवेशन गर्ला ?
यो महाधिवेशन भयो भने तिनै आमरण अनसनकारी र अधिवेशन नभएका स्थानका प्रतिनिधिलाई गिल्याएरमात्र हुनेछ । जसले काँग्रेसलाई विकृतिको बाटोमा लैजाने चिन्ता गर्न थालिएको छ ।