arrow

एनआरएन जापानमा भएको धाँधलीबारे केन्द्रीय पदाधिकारीमाथि नै उजुरी, प्रहरीले थाल्यो छानबिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
nepal-police12.jpg

काठमाडौं । गत जुलाई ३० मा भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएन) जापानको चुनावमा केन्द्रीय सचिवालयस्थित एमआइएस प्रणालीको चरम दुरुपयोग गरी धाँधली गर्नेहरू विरुद्ध नेपाल प्रहरीको साइबर क्राईम ब्युरोले अनुसन्धान तीव्र पारेको छ।

एनआरएन जापानद्वारा संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा गठित छानबिन समितिले केही केन्द्रीय पदाधिकारीहरूको निर्देशन र रेखदेखमा सचिवालयका आइटी विभागका केही कर्मचारीहरूको संलग्नतामा योजनाबद्ध रूपमा धाँधली गरिएको भन्ने सप्रमाण रिपोर्ट सार्वजनिक गरिएपछि उक्त घटनाको छानबिन गरी दोषीहरू विरुद्ध कारबाही गर्न माग गर्दै नेपाल प्रहरीमा उजुरी परेको थियो।

सङ्घकै केही पदाधिकारीले उक्त छानबिन रोक्न प्रयास गर्दै आएका थिए। तर ढिलै भए पनि नेपाल प्रहरीले छानबिन शुरु गरी आइटी विभागका सम्बद्ध कर्मचारीहरूलाई बोलाएर बयान लिनुका साथै केन्द्रीय पदाधिकारीहरूलाई पनि थप जानकारीका लागि पत्र काटेको छ। 

उक्त छानबिनबाट सङ्घको एमआइएस प्रणालीको दुरुपयोग गरी केन्द्रको चुनावमा पनि जापानको जस्तै धाँधली गर्ने योजनामा धक्का लागेपछि सङ्घकै केही पदाधिकारीहरूले उक्त छानबिनलाई राजनीतिक रङ्ग दिने प्रयास गर्न थालेका छन्। यसबारे बुझ्दा नेपाल प्रहरीको साइबर क्राईम ब्युरोका एक अधिकारीले छानबिन भइरहेको पुष्टि गरे। तर उनले यो संवेदनशील विषय भएको र छानबिन जारी रहेकाले थप जानकारी दिन नमिल्ने बताए।

कसरी गरियो जापानको चुनावमा धाँधली ?
गैर आवासीय नेपाली सङ्घ जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो ।

समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएन जापानको सदस्यता नरहेकाहरूद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ । सिस्टम लग अनुसार १७१३ सदस्यहरूको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ।

कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २,९०४ र सिङ्गल इमेल दर्ता भएकाबाट ४,८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताइएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटा देखि ४९६ सम्म मत राखिएको छ । 

निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरीत ६० वटा ग्रुप मेल बनाई निर्वाचनको परिणामलाई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २,९७० मतदाताको सदस्यता बनाइएको त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानाङ्गले बताए ।

छानबिन समितिले आफ्नो निष्कर्षमा भनेको छ, ‘यस्ता ग्रुप इमेलहरू प्रयोग गरी धेरै भन्दा धेरै सदस्यहरूको भोटिङ लिङ्क एउटै इमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरीत भएको देखिन्छ ।’ प्रतिवेदनका अनुसार एमआइएस प्रणालीमा पहुँच भएका केही व्यक्तिले इमेलहरू पनि प्लस र डट प्रयोग गरेर समूहगत इमेलहरूको प्रकृतिमा नै परिवर्तन गरेका छन् ।

एनआरएन जापानको चुनावमा भारत तथा नेपालबाट पनि अनलाइन भोट खसालेको पाइएको थियो। त्यसपछि समितिले छानबिन गर्दा निर्वाचनमा धाँधली भएको भेटाएको हो । भोटिङको क्रममा अनियमितता भएको प्रमाण समितिले भेटाएको संयोजक प्रधानाङ्गले बताए । ‘सबैको एउटा इमेल आएजस्तो देखिने तर, भोट जाँदा धेरैजसो सदस्य र दर्ता नभएका इमेलमा धेरै भोट खसेको देखिएको छ,’ प्रधानाङ्गले भने ।

प्रधानाङ्गले चुनाव उद्देश्यभन्दा बाहिर गएको बताए । यसभन्दा अघिका भोट खसालेर गर्ने चुनावमा कुनै विवाद नदेखिएको प्रसङ्ग सुनाए । ‘यो भन्दा अघि पनि ई भोटिङ थियो ।'वन डिभाइस वन भोट सिस्टम थियो । त्यसमा कुनै पनि विवादै हुँदैनथ्यो,’ उनले भने, ‘त्यसपछि एमआईएस सिस्टम आयो जसको खुल्ला दुरुपयोग गरिएको छ ।’

समितिले गत अक्टोबर ३० तारिखमा प्रतिवेदन बुझाएको थियो । तर केन्द्रले दोषीहरू विरुद्ध कारबाही त परै जाओस्, स्पष्टीकरण समेत नसोधेर ढाकछोप गर्ने प्रयास गरेपछि एनआरएन जापानकै केही सदस्यहरूले नेपाल प्रहरीमा उजुरी गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ