arrow

कोइरालाले रेलाई भने नेपाल र भारतबीचको सदियौँको सम्बन्ध बिगार्ने काम कसैको हितमा छैन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1172619575.jpeg
काठमाडौँ। नेपाली काँग्रेसले यसअघिको आफू नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । काँग्रेस पदाधीकारीको आज बसेको बैठकले सोमबार हुने सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल काँग्रेस र आन्दोलनरत दल सम्मिलित त्रिपक्षीय वार्तामा पार्टीले राख्ने कार्यसूचीबारे छलफल गरेको थियो । 
 
बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्र बडूले भन्नुभयो, “मधेस आन्दोलनको प्याकेजमै समाधान खोजे ढिलो हुन्छ, त्यसैले तत्काललाई संसद्मा दर्ता भएको प्रस्ताव पारित गर्ने र सीमाङ्कनका विषमा राजनीतिक तहमा थप वार्ता र संवादमार्फत सहमति खोज्नुपर्छ ।” 
 
आजको बैठकमा सभापति सुशील कोइरालाले शुक्रबार आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, शनिबार एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो । 
 
बैठकले सोमबारको त्रिपक्षीय वार्तामा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी हुने निर्णय गरेको छ । काँग्रेसले शनिबार वीरगञ्जमा पार्टीको कार्यक्रममा मधेसवादी पार्टीले आक्रमण गरी पार्टीको झन्डा जलाउने कार्य गरेकामा त्यसको भत्र्सना गरेको छ । 
 
सभापति कोइराला र राजदूत रायबीच भेटवार्ता 
 
काँग्रेस सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज भेटवार्ता भएको छ । राजदूत राय सभापति कोइरालालाई भेट्न उहाँको निवास महाराजगञ्ज पुग्नुभएको थियो । भेटमा कोइरालाले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन कष्टकर बन्दै गएको भन्दै तत्काल नाकाबन्दी फिर्ता लिन आग्रह गर्नुभएको काँग्रेस प्रवक्ता बडूले जानकारी दिनुभयो । 
 
सभापति कोइरालाले अहिलेको अवस्थाले दुई देशबीचको सदियौँदेखिको सम्बन्ध बिगार्ने र कसैको हितमा नहुने बताउनुभएको थियो । उहाँले मधेसमा जारी आन्दोलनको समाधानका लागि आफूहरु प्रयासरत रहेको राजदूतलाई जानकारी दिँदै छिट्टै सहमति हुने बताउनुभएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ