arrow

बाबु ब्रिटिश आर्मी, पुत्र रामकाजी सडकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
ramkajiboss.jpg

भद्रपुर । रामकाजी श्रेष्ठ ब्रिटिश आर्मीका छोरा हुन् । भद्रपुर वडा नम्बर ५ का रामकाजी सेफ्टीट्यांकी गाडी चलाउँछन् । भद्रपुरमा कसैको शौचालय भरिए उनी सेफ्टीट्यांकी लिएर त्यहाँ पुग्छन् । र त्यहाँ सफा गरेर फर्किन्छन् । उनी यसअघि स्कुल बस चलाउँथे । सेफ्टीट्यांकी चलाउँदा उनको दैनिक पाँच सय रुपैयाँ आम्दानी हुन्छ । दैनिक उनी झापाको दमकदेखि लिएर काँकडभिट्टासम्म पुग्छन् । शौचालयको फोहोर लगेर मल बनाउने ठाउँमा छोडिदिन्छन् । शौचालय सफा भएपछि उनी घरबेटीको स्याबासी लिएर फर्किन्छन् । 

२०२० सालमा उनका बुबा चक्रबहादुर बेलायती सेनामा भर्ती भए । १२ वर्ष अघि उनको निधन भयो । निधनपछि आउने पेन्सन उनकी श्रीमती कलमाया श्रेष्ठलाई बेलायत सरकारले दिँदै आएको छ । ‘बाबु ब्रिटिश आर्मी छोरा चाहिँ सेफ्टीटयांकी ड्राइभर ?’ भनी रामकाजीलाई प्रश्न पनि तेर्सिने गर्छ । 

रामकाजी भने सहज जवाफ दिन्छन्, ‘बाबु पो ब्रिटिश आर्मी त छोराछोरी त होइन नि । आफ्नो कर्म गरी खान पर्‍यो । वाध्यता हो । मैले अरू काम जानेको छैन । घरको काम पनि गर्छु र अन्य काम पनि गर्छु । घर खर्च चलाउनु पर्‍यो । केटाकेटीलाई पढाउनु पर्‍यो ।’ 

अहिले सोही पेन्सन टेन्सनको विषय बनेको छ रामकाजीलाई । सबैको शौच भरिए खाली गरिदिने रामकाजी भने मनमनै भरिएका छन् । त्यो पनि आफ्नो घरायसी विषयलाई लिएर । उनको घरपरिवार उनको साथमा छैन । परिवारमा उनका सात जना छोराछोरी, श्रीमती र आमा छिन् । तर सबै तितर बितर छन् । 

उनकी विवाहित बैनी गीता मेचेले अहिले आमालाई लगेर राखेकी छिन् । ३१ वर्षअघि गीताले भद्रपुर वडा नम्बर ५ को शिवालय मन्दिरका सञ्जय मेचेसँग विवाह गरेकी थिइन् । ६ वर्षअघि उनको डिभोर्स भयो । 

रामकाजीकी आमा कलमायाको नाममा अहिले पनि करोडौँको सम्पत्ति रहेको छ । भद्रपुरमा छ कट्ठा जमीनको तीन करोड रुपैयाँ बराबरको हुन्छ । ओखलढुङ्गा पहाडमा ५० रोपनी जग्गा छ । सोही सम्पत्तिलाई देखेर गीताले आमा लगेको दाजु रामकाजी बताउँछन् । 

'मेरो आमासँगै सबै छोराछोरी साथमा थिए । मेरो बैनीले मेरो आमाको जग्गा मेरो नाममा पास गरेको चित्त नबुझेर लगिन् । भान्जा भान्जीले छोराछोरीलाई कुटपिट गरेर खेदाए । घरको गाईबाच्छा, धा,न माछा पोखरी सबै तोडफोड गरेर लगिन् ।' 

उनकी श्रीमती भने भद्रपुर वडा नम्बर ६ बार्बिसेमा छोराले किनेको जग्गामा बस्छिन् । सो घरमा उनका दुई छोरी र कान्छा छोरा बस्छन् । उनी भन्छन् ,' भद्रपुरमा मात्रै आमाको करोडौँको सम्पत्ति छ । दुवै मिलेर भोग चलन गरे भइहाल्थ्यो । तर बहिनीले मानिनन् ।' 

बहिनी गीता भने राजनीति गर्छिन् । सशस्त्र द्वन्द्वकालमा उनी माओवादी निकट भएर काम गरिन् । अहिले राप्रपामा आफ्नो दाउ चलाउन थालेकी छिन् । ‘नेताले मेरो घर बिगार्नुपर्ने हो कि सपार्नुपर्ने हो ?’ रामकाजीको गुनासो छ । 

९० वर्षीया कलमायाको १५ हजार जति मासिक पेन्सन आउँछ । वृद्धाभत्ता चार हजार आउँछ महिनाको । अहिले सो पेन्सनपट्टा भत्ता सबै गीताले आमामार्फत बुझ्दै छिन् । पेन्सनलाई लिएर आमालाई बहिनीले बन्दी बनाएको उनको आरोप छ । भन्जाहरुसमेत लागेर रामकाजीलाई कुटपिट गरे । उनी भन्छन्, ‘भन्जाहरुसमेत लागेर मलाई कुटपिट गरेर आमालाई लगे ।’

आमा पाउन झापा जिल्ला अदालतमा उनले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले गीता मेचेको पक्षमा फैसला गरेको छ । 

माघ २५ गते बन्दी प्रत्यक्षीकरणको मुद्दामा उक्त आदेश दिएको हो । सो आदेशमा आमालाई छोरीले बन्दी नबनाएको र वृद्ध आमालाई अड्डा अदालतमा मुद्दा मामिला गरी विभिन्न किसिमको हैरानी दिएको उल्लेख छ । कलमायाले स्वेच्छाले छोरी गीतासँग बसेको देखियो भन्दै बन्दी प्रत्यक्षीकरण मुद्दा खारेज गरेको छ । 

उनी न्यायका लागि पनि नधाएका हैनन् । तर उनको गुनासो सुनुवाइ भएन । उनी भन्छन्, ‘मैले न्याय पाइन सबै उसको हातमा छ पार्टीको मान्छे उसको पक्षमा छन् । हामीजस्तो सोझो मान्छेको केही नहुँदो रहेछ । जो पार्टीमा छ उसैको ठूलो हुँदो रहेछ स्वर । हामी सधैँ दबेको दबै भयौं ।’

उनी भन्छन्, ‘बहिनीले पार्टीका मानिस लिएर गएपछि कुरो के भयो थाहा भएन मलाई फैसलाको कागज थमाइयो । आमा चाहिँ मैले पालेको छोरीहरूसँग बसेको भन्ने खालको झुटो आरोप लगाइएको छ ।’

उनी भद्रपुरका मेयर जीवन श्रेष्ठकोमा पनि पुगेका थिए । उनले ‘तेरो घरको कुरा तँ आफैं मिला’ भनेर पठाइदिए । 

जिल्ला प्रशासन कार्यालय झापाले पनि सुनवाइ नगरेको उनको गुनासो छ । प्रशासन कार्यालयका एक कर्मचारीले ‘बहिनीले आमा पालेको छ तँ किन चिन्ता लिन्छस् ?’ भनिदिए । न्याय समिति पुग्दा ‘बहिनीले पनि पाल्न पाउँछ । बहिनीसँग झगडा नगर्नु’ भने । 

अहिले उनी आफूमाथि अन्याय भएको भन्दै हारगुहार गर्दै हिँडिरहेका छन् तर उनी कहाँ जानु पर्ने हो त्यो थाहा छैन । उनी भन्छन्, ‘मेरो चाहाना अरू केही होइन मेरो घरमा आमा आउन् ।’ 

स्थानीय छिमेकी भने सोझा रामकाजीलाई बहिनीले अन्याय गरेको बताउँछन् । 'कलमायालाई गीताले जबरजस्ती लिएरै गएकी हुन् । म जान्न जान्न भन्दा भन्दै गीताले आफ्नो छोरालाई बाइकमा हाल्न लगाएर जबरजस्ती लगे भन्दै चिच्याउँदै जानुभएको हाम्रो आँखाले प्रत्यक्ष देखेकै हो’, छिमेकी कमला लिम्बूले भनिन् । 

उनले अगाडि भनिन्, ‘यी भाइ इमान्दार र सोझो छन् । दिदीबहिनीले उकासेर यस्तो गरे । बहिनी गुण्डा टाइपकी छिन् । आमालाई एक्लौटाएर यी भाइहरूलाई कुटेर निकाल्न खोजिन् ।' 

गीतालाई स्थानीयले छोरा आमाबुबाको घरमा नबसेर कहाँ बस्छ त भनेर प्रतिकार पनि गरेका छन् । उनीसँगै पुगेका डीएसपीलाई स्थानीयले छोराको घर कहाँ ससुरालीमा हो ? भनेर सोधे । उनीहरुले रामकाजीले गासबास नपाएको भएर त्यसको व्यवस्था गर्न सुझाव दिएका छन् ।  

यता गीता भने आफूले आमाको भलाइमा काम गरेको दाबी गर्छिन् । रामकाजीले आमालाई दुःख दिएको उनको तर्क छ । गीता भन्छिन्, 'स्थानीयले जे पनि भन्छन् आफ्नो आमालाई पनि छोरीले किट्न्याप गर्छ । आमालाई जबरजस्ती ल्याएर मलाई के फाइदा छ न म किड्न्पर हो न कुनै दलाल हो । म एक छोरी हुँ ९० वर्षकी आमालाई एक्लो देखेर ल्याएकी हुँ । आमालाई हेरविचार गर्नु, स्याहार सुसार गर्नु, दबाइ पानी गर्नु, आमालाई नुहाइ धुवाइ गरिदिनु, के छोरीले पाप गरेको हो रु यदि मैले किड्न्याप गरेको भए कानूनले मलाई छोड्ने थियो त ?' 

उनी भन्छिन् - 'मलाई सम्पत्ति चाहिँदैन मैले छोरीको कर्तव्य मात्र गरेको हुँ । उसकै छोरी इशिका श्रेष्ठलाई  ४० दिनको हुँदा ल्याएर पाले । अहिले १६ वर्षकी भइन् । आमा बाबु झगडा गरेर नानी मर्ने अवस्थामा ल्याइएको थियो । आमाबाबुको हक मात्र माग्नै हैन । कर्तव्य पनि पुरा पनि गर्नुपर्ने हो । त्यो मान्छेले गरेन ।'

रामकाजीकी आमा कलमाया भने आफू छोरासँग नजाने बताउँछिन् । कलमायाले भनिन् ,'म छोरीसँगै बस्छु । म त्यसको क्रिया खान्छु । म त्यो बज्यिासँग बस्दैन । म आफै आएको हो ।  रामकाजीले पाल्न सकेन । म जाँदिन ।'



नयाँ