नयाँ दिल्ली । भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार विजय जोलीले नेपालमा अब कुनै हालतमा राजतन्त्र पूर्नस्थापना हुन नसक्ने ठोकुवा गरेका छन् ।
नयाँ दिल्लीमा रहेका दि ह्विस्ट्ल ब्लअरका पत्रकार चेतनाथ अधिकारीसँगको कुराकानीमा जोलीले भने,‘नेपाली जनताले जिवित भगवान मानेका राजाले विपत्त पर्दा जनतालई राहत दिनु त परको कुरा, उनी पीडित जनतासामू देखा समेत परेनन्, त्यसैले उनलाई फेरि जनताले पत्याउन गाह्रो छ ।’यद्धपी उनले राजालाई नेपाललाई रुल गर्न ईच्छा भए प्रजातान्त्रिक अभ्यासमार्फत जनतामा जानुपर्ने धारणा राखे ।
जोलीले ओलीको बहिर्गमनलाई अहिलेको आवश्यकत्ता रहेको उल्लेख गर्दै अब बन्ने सरकारको भारतसँगको सम्बन्ध सुमधुर बन्ने र नेपालमा भारतविरोधी भावना कम हुने विश्वास व्यक्त गरे ।
उनले अघि थपे,‘नेपालमा पछिल्लो समय धर्म परिवर्तन ह्वात्तै बढेको छ, हामी यसलाई नजिकबाट नियाँलिरहेका छौं, यो अपराध हो, धर्म किनबेच गर्ने काम कुनै हालतमा स्विकार्य छैन, नेपालले यसमा ध्यान दिन जरुरी छ ।’ उनले पछिल्लो समय नेपाल–भारत सम्बन्धमा नकरात्मक भावना वृद्धि भएको भन्दै त्यसलाई कम गर्नको लागि दुवै देशवीच जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिए ।
भारत सँधै नेपालमा शान्ति, सुशासन, स्थायित्व र विकास चाहने बताउँदै त्यसको लागि जस्तोसुकै सहयोग गर्न समेत तयार रहेको उनको भनाई थियो । फरक प्रसँगमा उनले नेपालभन्ने वित्तिकै आफूलाई पशुपतिनाथ, नेपाली जनताको अपार माया र पत्रकार ऋषि धमला मानसपटलमा छाउने बताए ।