arrow

दूरसंचार बजारमा तेस्रो प्रतिस्पर्धी सीजी टेलिकम भित्रिँदै, उपभोक्तालाई यस्तो फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
cg-telecom.jpg

काठमाडौं । मोबाइल सेवा सञ्चालनमा नेपाल टेलिकम र एनसेलपछि तेस्रो प्रतिस्पर्धीका रुपमा  सीजी टेलिकम भित्रिने गरी गृहकार्य शुरु भएको छ । लामो समयदेखि थाँति रहेको सीजी टेलिकमलाई लाइसेन्स दिने प्रक्रिया सरकारले अघि बढाएको हो ।

यसका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई पत्राचार गरेको छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सीजीलाई मोबाइल सेवा सञ्चालनका लागि लाइसेन्स दिने प्रकिया रोकिएको थियो । सोही प्रक्रिया अहिले फेरि अघि बढेको हो ।

पहिले नै दूरसञ्चार सेवा सञ्चालनमा ल्याउन चाहे पनि तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक रुपमै सीजीलाई लाइन्सेन नदिने अभिव्यक्ति दिएका थिए ।

टेलिकमका लागि आवश्यक पूर्वाधार तयार पारेर अघि बढेको सीजीले पछि तिनै कर्मचारी, प्राविधिकहरु र कार्यालयलाई सीजी नेटका रुपमा अगाडि बढाएको थियो । अहिले सीजी नेटले देशभर आफ्नो सेवा विस्तार गरिरहेको अवस्था छ ।

सीजी नेट आएपछि अहिले इन्टरनेटको मूल्य पनि प्रतिस्पर्धात्मक रुपमा निकै तल घटेको छ । अहिले सीजी टेलिकमको लाइसेन्स प्रक्रिया अघि बढेसँगै आगामी दिनमा नेपालको टेलिकम बजारमा अर्को बलियो प्रतिस्पर्धी उभिने अवस्था भने सिर्जना भएको छ ।

यसले नेपालको टेलिकम क्षेत्रको प्रतिस्पर्धालाई मात्रै देखिँदैन, यसबाट उपभोक्ताले समेत उल्लेख्य लाभ पाउने देखिएको छ । दुईवटा मात्रै प्रतिस्पर्धी (नेपाल टेलिकम र एनसेल) हुँदा उपभोक्ताले जुन खालको लाभ पाउनु पर्ने अवस्था थियो त्यो पाइरहेका छैनन् ।

तेस्रो प्रतिस्पर्धी बजारमा आउँदै गर्दा उपभोक्ताहरुले तुलनात्मकरुपमा प्रतिस्पर्धाका कारण सस्तो दरमा टेलिफोन तथा इन्टनरनेट सेवा प्राप्त गर्ने आंकलन गरिएको छ ।

अहिले टेलिकम सेक्टरमा नेपाल टेलिकम र एनसेलबाहेक स्मार्ट सेल र यूटीएलसमेत भए पनि यिनीहरुले उपभोक्तालाई उल्लेख्यरुपमा सेवा भने दिन सकिरहेका छैनन् । यूटीएल त बन्द प्रायः छ ।

स्मार्टले पनि सरकारलाई बुझाउनु पर्ने करिब ६ अर्ब रुपैयाँ तिर्न बाँकी छ । यूटीएलले पनि सेवा सञ्चालन नगरेकै अवस्थामा समेत सरकारलाई बुझाउनु पर्ने वक्यौताको रकम ठूलो छ । सरकारले न त यिनीहरुबाट रकम उठाउन सकेको छ, न लाइसेन्स नै खारेज गर्न सकेको छ ।

अर्कोतर्फ एनसेलको अब, दुई वर्षमात्रै लाइसेन्स बाँकी छ ।

सिजी टेलिकमले लाइसेन्स लिने प्रक्रिया अघि बढाउँदै गर्दा आम नागरिकमा भने सस्तोमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा पाउने अपेक्षा जाग्न थालेको छ ।

भारतमा जियो नेटवर्क आएपछि मोबाइल इन्टरनेट र भ्वाइसमा जसरी आमुल परिवर्तन भयो र आम उपभोक्ताले लाभ उठाउन पाए । त्यसरी नै सिजी टेलिकम आउने कुराले सस्तो दरमा मोबाइल इन्टरनेट र भ्वाइस सेवा पाउने अपेक्षा गरिएको छ ।

यो अपेक्षालाई सकारात्मक मान्ने आधारहरु पनि देखिएकै छन् । किनकी विगत केही समययता इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मुल्य घटाएका छन् भने ब्यान्डविथको स्पीड सोही मुल्यमा झन्डै दोब्बरको हाराहारीमा बढाएका छन् ।

यसका मुख्य दुई कारणहरु रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आर्इस्पान) का पूर्व अध्यक्ष बिनय बोहोरा बताउँछन् । उनका अनुसार पहिलो मुख्य कारण ठूलो लगानी गरेर ुस्जी, नेपाल टेलिकम, डिशहोम जस्ता प्रतिस्पर्धीहरु आक्रमक रुपमा बजारमा भित्रिनु हो ।

आइस्पानका पूर्व अध्यक्ष बोहोराका अनुसार अर्को कारण भनेको आक्रामक रुपमा भित्रिएका कम्पनीहरुले आफ्ना ग्राहक तान्ने भए भन्दै ग्राहक गुम्न नदिन इन्टरनेट सेवा प्रदायकले विभिन्न अफर ल्याउँदै इन्टरनेटको मूल्य ठूलो मात्रामा घटाउनु हो ।

यस्तै अहिले औसतमा प्रति उपभोक्ता मुल्यसमेत पन्ध्र सय भन्दा बढीबाट घटेर एक हजारको हाराहारीमा पुगेको उनको भनाइ छ ।

खासगरी प्रतिस्पर्धा बढ्ने बितिक्कै मूल्यमा ठूलो गिरावट आएको छ भने उपभोक्ताले कम मुल्यमा इन्टरनेट चलाउन पाएका छन् ।

बोहराले भनेझैं सीजीले समेत आफ्नो उपस्थितिले इन्टरनेटको मूल्य घटेको दाबी गरिरहँदा आउने दिनमा सीजी टेलिकमले लाइसेन्स पाएको अवस्थामा इन्टरनेटको मूल्य घटेझैं भ्वाइसको मूल्यसमेत उल्लेख्य रुपमा घट्ने दाबी सीजीले गरेको छ ।

आफूले लाइसेन्स पाएको अवस्थामा सीजी नेटको कार्यालयलाई थप विस्तार गरेर तत्काल छोटो समयमा नै टेलिफोन सेवा शुरु गर्न सक्ने दाबी सीजीले गरेको छ ।

सीजी टेलिकमको विषयमा मन्त्रालयले पत्राचार गरे अनुसार आफूहरु चाँडै निष्कर्षमा पुग्ने एनटीएले जनाएको छ । बजारमा नयाँ प्रतिस्पर्धी भित्रिए उपभोक्ताहरुले लाभ पाउने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ ।

‘बजारमा जति धेरै प्रतिस्पर्धा हुन्छ त्यति नै उपभोक्ताले लाभ पाउँछ’, उनले भने । यद्यपि, नियामक निकाय र सरकारी संयन्त्र बलियो भएन भने यो कुरामाथि विश्वास गर्न नसकिने उनको भनाइ छ ।

सञ्चार मन्त्रालयले यस सम्बन्धी पत्राचार गरेको र प्राधिकरणले छलफल गरिरहेको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताएका छन् ।

प्राधिकरणले यसअघि पनि इच्छुक सबै कम्पनीलाई टेलिकमको लाइसेन्स दिँदै आएको एनटीएका अर्का एक अधिकारीको भनाइ छ ।

बजारमा अहिले दुई वटा मात्रै प्रतिस्पर्धी भएका कारण र दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधि चाँडो अँगाल्न सक्ने गरी टेलिकमको खाँचोसमेत भएका कारण सीजीले चाँडै लाइसेन्स पाउने सम्भावना देखिएको ती अधिकारीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ