- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने राष्ट्रिय समाचार समिति (रासस) को दायित्व अझ बढेको उल्लेख गरेका छन् ।
राससको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सूचना र प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको अवस्थामा रासस जस्ता राज्यका समाचार संस्थाको दायित्व अझ बढेको उल्लेख गरेका छन् ।
मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री देउवाले राससले पनि आफ्नो स्थापनाकालदेखि नै परिवर्तनको पक्षमा निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको भनी उल्लेख गरेका छन् ।
पछिल्लो समय गलत र भ्रामक समाचार पनि बढ्न थालेको सन्दर्भमा राससले तथ्यपरक समाचारलाई प्राथमिकता दिएर राज्यको नीति र कार्यदिशालाई रचनात्मक ढङ्गले प्रभावित गर्न सक्ने स्वस्थ र सिर्जनशील जनमतको निर्माण गर्न आवश्यक रहेकामा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले सुदृढ लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धिका पक्षमा सञ्चार वकालत गर्नेतर्फ राससको विशेष ध्यान जाने विश्वास व्यक्त गर्दै राससले आफ्ना सेवाहरुलाई समयानुकूल समयसापेक्ष रूपमा परिमार्जन गर्दै विविधीकरणतर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल सरकार राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउन सदैब प्रयत्नशील रहने उल्लेख गर्दै उनले राससले आफ्ना सेवालाई चुस्त, प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताएका छन् ।
राससले आफ्ना सेवालाई अझै प्रभावकारी बनाउन कर्मचारी र पत्रकारहरुलाई समयानुकूल प्रविधिको विकाससँगै यस क्षेत्रका नयाँ आयामका विषयमा पनि तालिम तथा क्षमता वृद्धि गराउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले वार्षिकोत्सवका अवसरमा राससले राज्यका सबै पक्षका सुभावना मुखरित गर्दै आफूलाई एक अब्बल र नेतृत्वदायी सञ्चार माध्यम बनाउन सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
उनले सरकारका तर्फबाट उत्तरोत्तर प्रगतिका लागि राससको व्यवस्थापन, कर्मचारी एवं पत्रकार, सेवाग्राही तथा शुभचिन्तक सबैमा शुभकामना व्यक्त गरेका छन् ।