- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
‘जिब्रोको गरिमा मीठो बोलीमा’ । प्रायः सार्वजनिक यातायातमा यो भनाइ लेखिएको देखिन्छ । यसो किन भयो ? आम मान्छेको धारणा बन्यो कि सार्वजनिक यातायातमा छाडा बोलिन्छ । मर्यादाहीन दुर्वाच्य बोलिन्छ । गाडीका चालक र सहचालक मीठो बोल्दैनन् । भाडामा यात्रुले गर्ने किचकिच र अनावश्यक ‘टर्चर’ ले गर्दा ‘इरिटेड’ बनेर कन्डक्टरले जथाभावी मुख छाडछन् । अभद्र व्यवहार गर्छन् । मानौं अभद्र बोली बोलिने स्थल नै सार्वजनिक यातायात हो । यस्तो भाष्य निर्माण भएको परिप्रेक्षमा सार्वजनिक यातायातमा यस्ता भनाइ लेख्न लगाउने र यातायात सम्बद्द कर्मचारी चालक, सहचालक लगायतलाई बोली मीठो बनाउने तरिकाको तालिम समेत दिइयो ।
यात्रुसँग गर्ने व्यवहारबारे सिकाइयो । यद्यपि सार्वजनिक यातायातमा बोली, वचन र व्यवहार आज पनि तात्विक भिन्नता छैन । गाडी चालक, सहचालक गाडी बाटो र गन्तव्य सबै मेरो हो मेरो गाडी चढेपछि आफ्नो मर्जी चलाउँछन् । गाडी चढेपछि चालकको मर्जीमा दिसापिसाब, खानपान, ओराल्ने, राख्ने सबै तजबिजमा चल्छ । सार्वजनिक यातातातको मापदण्ड र मर्यादा चालकको आफ्नो मर्जीमा अनुवाद हुन्छ । आफूले कमिशन पाउने लोभमा बासी खाना खुवाउने एकमात्र होटल भएको ठाउँमा रोक्ने र यात्रुलाई बासी फोहर, अस्वस्थ्य र चर्को मूल्य तिर्न बाध्य बनाउनेदेखि दिसापिसाबले च्याप्दा पनि ठीक ठाउँमा नरोकिदिने गर्छन् ।
यात्रु चढाउँदा, ओराल्दा रोगी, बिरामी, अशक्त, केटाकेटी, गर्भवती, वृद्धवृद्धाको अवस्था विचार गरिदिने मान्छे कमै हुन्छन् । दुई पाङ्ग्रे सवारी साधन चलाउनेलाई पेल्नेदेखि दुर्घटना भइहालेमा जसरी पनि मृत्युवरण गराउन किचेर मार्ने अमानवीय हर्कत तुच्छ व्यवहारसमेत चालकले बारम्बार गर्ने कारण यी पेशाप्रति मान्छेको दृष्टिकोण सकारात्मक छैन । त्यसैले सार्वजनिक यातायातका मान्छेको बोली र व्यवहारमा उलेख्य सुधारको आवश्कता छ ।
दवाब र तनावरहीत वातावरण प्रदान गरेर गाडी हाँक्न दिने बुझक्की यात्रु हुनु पनि त्यति नै आवश्यक हुन्छ तनाव सिर्जित दुर्घटना कम गराउन । यात्रु र गाडी सम्बद्द कर्मचारीको सौहार्दपूर्ण सम्बन्ध दुर्घटना न्यून गर्ने एक ‘फ्याक्टर’ हो । आजको मेरो आलेखको विषय सार्वजनिक यातायात सुधारको नभएर सार्वजनिक यातायातमा प्रयुक्त भाषा शैली र व्यवहार विभिन्न उच्च पदस्तको बोली र आचरणसँग तादाम्य भएको तुलनात्मक अध्ययन गर्नु हो ।
यातायात सेवाका कर्मचारी जस्तै भएको छ देशको सार्वजनिक प्रशासन पनि । सार्वजनिक प्रशासन भन्नाले सम्पूर्ण सार्वजनिक कार्यालय भनेर बुझ्नु आवश्यक छ । जहाँ बोलीको मर्यादा, गरिमा र सीमा छैन । जहाँ मन्त्री नै जथाभावी अश्लील गालीगलौज र बेइज्जत गर्न उत्रन्छन् । अश्लील बोल्नुलाई आफ्नो स्वतन्त्रता र अधिकार ठान्छन् । मन्त्रीले जथाभावी बोलेपछि ऊ अन्तर्गत रहने सचिवदेखि सामान्य कर्मचारीले कस्तो बोल्छन् कस्तो व्यबहार गर्छन् त्यो भुक्तभोगी सेवाग्राहीले अनुभव गरेकै छन् । विभिन्न संचारमाध्यमबाट त्यस्ता खराब बोली र व्यवहारको तथ्य खोतल्ने काम भएकै छ ।
कस्ता बोल्छन् हाम्रा नेताहरू ?
वाक क्षमताका धनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जति सम्प्रेषण क्षमतामा अब्बल छन् त्यति नै छुद्र बोलीमा पनि माहिर छन् । उनले दुई वर्षअघि माधवकुमार नेपालको स्वास्थ्यलाभलाई फर्काएको जबाफ र विभिन्न सार्वजनिक मञ्चमार्फत आफ्ना विरोधीलाई गरेको आलोचना अहिले संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको भाइरल भएको भिडियो कै हाराहारीको हो ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले जति तुच्छ र घटिया शब्दबाँण छोडे ती सार्वजनिक यातायातका सहचालकले यात्रुलक्षित बोलीसँग नै तुलनीय छन् । भलै ओलीको बोलीमा प्रत्यक्ष अश्लील देखिन्न । तर अन्तर्यमा फोहरी र दुर्गन्धित भाव र लक्ष्य अनुभूत हुन्छ । ओलीको कतिपय बोलीलाई प्राज्ञिक दृष्टिले अत्यन्तै तल्लोस्तरको देख्छ ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि कहिलेकाहिँ भड्किन्छन् । नेपाल टेलिभिजनको एक कार्यक्रममा विगतमा स्वर्गीय मदन भण्डारी लक्षित भनाइ होस् या आफ्ना कार्यकर्तादेखि सार्वजनिकरुपमा प्रश्न सोध्नेलाई आवेश, आक्रोशमा जबाफ फर्काउनु अश्लीलताको एक हद हो ।
अश्लील दुर्वाच्यमा मात्रै सीमित हुँदैन । त्यो हाउभाउ, संकेत, सन्दर्भ र शारीरिक हाउभाउमा पनि प्रकट हुन्छ । बोलीमा असन्तुलन गडबडी सामान्य मानवीय कमजोरी र ‘स्कुलिङ’ को पनि दोष हो । पूर्वमन्त्री योगेश भट्टराईले पनि सत्याग्रही प्राडा. गोविन्द केसीलाई दुर्वाच्य बोल्दै आफ्नो मर्यादा र हैसियत भुलेर निर्वस्त्र उत्रिएको धेरै भएको छैन ।
बोल्न ढंग नपुग्दा र आफ्नो स्थान विशेषको हेक्का नराख्दा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ पनि मन्त्री छोड्न बाध्य भएका थिए । त्यस्तै पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड वाला भिडियो टेपमा पनि कर्मचारी लक्षित सीधै अश्लील बोलेको सुनिएको थियो । जसको कारण उनी पनि पद गुमाउन पुगे ।
सामान्य मान्छेको अश्लील बोलीको सामान्य प्रभाव तर पहुँचमा पुगेका, बसेका र बस्ने सम्भावना भएका मान्छेको प्रभाव देशव्यापी हुने र ठूलाले बोलेको अनुकरणीय बन्ने हुनाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अपनाउनुपर्ने संयम अपनाउन नसक्दा आवेगको बोली महँगो र भारी पर्ने गरेको छ । नेता र विशिष्ट व्यक्तिसँग पनि हाँसो, खुशी, रीस, राग, रोमान्स, दुःख, पीडा सबै हुन्छ । त्यो मानवीय स्वभाव पनि हो ।
यद्यपि विशिष्ट हुनुको अर्थमा नैतिकता, सीमा, मर्यादा, पद र सार्वजनिक व्यक्तित्व हुनुको अतिरिक्त भार र भाव पनि बहन गर्ने अवस्था रहन्छ । तसर्थ खुलेर हाँस्न, बोल्न, रुन, दुःख प्रकट गर्न केही बार र बन्देज आवश्यक भएको हो । निजी जिन्दगी कम र सार्वजनिक जिन्दगी बढी हुनाले गोपनीयताको लागि सेवा, सुरक्षा र मर्यादाको व्यवस्था गरिएको हुन्छ ।
सामान्य मान्छे झैँ हरेक दुःख, सुख, रिस र आवेगमा प्रकट हुनु सहानुभूति हुँदैन । अधिकार खोज्ने स्वतन्त्र हुने नाममा अराजक र मर्यादाहीन बन्न पटक्कै सुहाउन्न । ‘प्रोटोकल’ ख्याल गर्नुपर्ने राजकीय नियम उसै बनेको कहाँ हो र । वाक स्वतन्त्रताको जति महत्व र अर्थ छ त्यति नै वाक मर्यादाको पनि मूल्य र अस्तित्व छ । मूल्यहीन हुनु भनेको जथाभावी बोल्ने र बोलेको कुराको स्वामित्व नलिने, उत्तरदायी नबन्ने कारण नै बोलीको गरिमा गिरेको र बोली अर्थहीन बन्न पुगेको हो ।
पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले जसरी बोल्छन् र प्रस्तुत हुन्छन् त्यसको असली भिडियो सार्वजनिक भएर अहिले भाइरल बनेको छ । विगतमा पनि एक साधारण मान्छेलाई प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सदस्य हुँदा टाउको निहुराएर बोल भन्दै थर्काएको भिडियो सार्वजनिक भएको थियो । जुन उनको पदीय हैसियत अनुकुल आचरण र व्यवहार थिएन । उनी कानून निर्माण गर्ने र कानून कार्यान्वयन गराउन सक्ने निकायका प्रतिनिधि हुनाले गलत गर्नेलाई कानूनी कारबाही गर्न सकिन्थ्यो । उनले जुन कुरामा स्याबासी पाएका छन् त्यो काम मन्त्रीकै हैसियतमा बसेर पनि गराउन सकिन्छ । त्यसको लागि डन बनेर सडकमा निस्कनु पर्दैन । उनले गरेका राम्रा कामको तारिफ हुन्छ र गरेको पनि छु । तर उनले जसरी बोले जे बोले त्यो सार्वजनिक यातायातमा काम गर्ने एक सहचालकले बोल्ने र गर्ने व्यवहार समान हो । सबै चालक सहचालक आले जस्तै अराजक र छाडा हुँदैनन् पनि ।
प्रेम आले मात्रै यहाँ दोषी छैनन् । उनको विगत विचार नगरी टिकट दिने दल, जिताउने जनता अनि यस्तो व्यक्तिलाई बोकेर मन्त्री बनाउने ओली र माधव नेपालसमेत त्यो हर्कतका साझेदार र हिस्सेदार हुन् । मन्त्री आलेले यसबीच जनताको ध्यान जाने केही काम गरे पनि त्यो उनको ‘स्टन्ट’ थियो । मन्त्रीले कानून बनाउने र कार्यान्वयन गर्ने हो डोजर लिएर कानून विरोधी काम गरी क्षणिक वा सस्तो प्रचार रोज्ने होइन ।
आले शैली मन्त्रीको पद, गरिमा र ओहोदाको लागि होइन । तर मन्त्रीहरू काम नगर्ने गरे भ्रष्टाचार मात्र गर्ने नजिर बसेको देशमा आलेको ‘भालेगिरी’ आम मान्छेको लागि केही राहत जस्तो देखिए पनि उनले गर्ने तरिका नपुर्याउन सकेकै हुन् ।
आलेको हैसियत हुन्थ्यो भने एउटा मान्छेसँग त्यो प्रकारको विवाद तुच्छ गाली र नारी जातिको अस्मितामा खोट लगाउने गरी बोल्ने थिएनन् । कसैलाई गाली गर्न उसको दोष काफी हुन्छ। किन आमा र बाउको नाम जोड्न पर्छ र ? विशेष गरी महिलाको चारित्रिक दोष र खोट देखिने गाली उसको छोराको लागि गरियो । के यो सोचनीय विषय होइन र ? छोराको बदमासीमा आमा बाउ गालीको हकदार कसरी बने ? कुनै व्यक्तिलाई कसैले दुःख दियो भने कानूनी उपचारको बाटो छ ।
झन् मन्त्रीले सजिलै कानूनी उपचार पाउन सक्छन् । देशभित्र बाहिर जुनसुकै स्थानमा लुके पनि पक्रने संयन्त्र हातमा लिएर बसेको मान्छेले कसैलाई हिंसा गर्ने, हात खुट्टा भाँचेर राख्नेदेखि अश्लील गालीगलौज गर्न मिल्छ ? मन्त्री गुण्डा हुन् कि राज्यको सेवा सुबिधा लिएर बसेको कानूनका पालक ?
विधि, पद्धति र मर्यादाको कुरा गर्ने माधवकुमार नेपालले यसको जबाफ दिनु, खोज्नु र माग्नु पर्छ कि पर्दैन ? मन्त्री छनोट गर्दा विगतको पृष्ठभूमिको मूल्यांकन गर्नुपर्छ कि संसद्को गणित मात्रै ? कसैलाई उठाउने, हात खुट्टा भाँच्ने लाइसेन्स राज्यको मन्त्रीसँग रहन्छ ? नेकपा समाजवादीले यसको मूल्य कति र कस्तो चुकाउने छ त्यो रहस्य खुल्दै जानेछ । दुर्गन्धित फोहरी अपशब्द बोल्ने, लेख्ने सबै असभ्य हुन् । मानव मात्रका कलंक हुन् ।
निर्वाध वाक स्वतन्त्रताको माग गर्ने अधिकार सम्झनेले वाक मर्यादाको पक्ष भुल्न र बिर्सन मिल्दैन । तसर्थ अधिकारसँग कर्तव्यजस्तै वाक स्वतन्त्रतासँग वाक मर्यादा, वाक सीमा र वाक कर्तव्यकाबारे बहस पैरवी किन नगर्ने ? प्रायः नेपालीहरू, नेता, सांसद, मन्त्री र अरु उच्च पदस्थको रौद्ररूप मन्त्री आलेकै स्तरको हो ।
कागलाई कोइलीको जामा लगाइदिएर भाका पनि कोइलीकै अपेक्षा गर्नु हाम्रो मूर्खता हो । हामीले खोज्ने वाक स्वतन्त्रता र वाक मर्यादा चैँ शब्दकोशमा भेटिने परिभाषा मात्रै हो ? संस्कृति मन्त्रीले अवलम्बन गरेको भाषिक मानकले हामीलाई कहाँ लैजान्छ ? जिब्रो फलामले बनेको हुँदैन तर यसले मुटु छेड्न सक्छ उसै भनिएको होइन रहेछ ।
हुनत हाम्रा भाग्य विधाता सांसद, मन्त्री सबै खाली कागजमा सही गरेर आफ्ना ख्वामित मालिकको मर्जीअनुसार आफ्नो संसद अधिकार र विवेक बेचेर निस्प्राण बुख्याँचा जस्तो बनेको बेला उद्दण्ड बुख्याँचाले नीति र नैतिकताको पालना गरेन । संस्कारी बनेन भनेर के चित्त दुखाउनु ?