ठूलो परिमाणमा नेपालगन्जबाट ब्राउन सुगरसहित बीसी पक्राउ, काठमाडौं लागेका थिए पठाउन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
688
Shares
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्गलवार बिहान साढे ५ बजे शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा बढैयाताल गाउँपालिका १ शान्तिपुर बर्दियाका २४ वर्षीय प्रवीण बीसीलाई नेपालगन्ज १६ चौलिका चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।
पक्राउ परेका बिसीसँग १५० ग्राम ब्राउन सुगर र भारतीय ३ हजार रुपैयाँ बरामद गरिएको छ । बीसीले भारतको रुपइडिया गएर भारतीय व्यक्तिसँग नगद ४ लाख रुपैयाँमा ब्राउन सुगर खरिद गरी नेपालगन्ज लिएर आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।
त्यस्तै बिसीले ब्राउन सुगरलाई सडक मार्ग प्रयोग गरी काठमाडौं लैजाने उद्देश्यले एकाबिहानै नेपालगन्ज लिएर आएको समेत खुल्न आएको छ। अनुसन्धानका क्रममा बिसीको बयान अनुसार उक्त ब्राउन सुगर ओसारपसारमा जिल्ला बाहिरका अन्य व्यक्तिको समेत संलग्नता रहेकाले अन्य जिल्लासँग समन्वय गरी उनीहरूको खोजतलास सुरु गरिएको प्रवक्ता न्यौपानेले बताए।
बिसी विगत एक १ वर्षदेखि लागूऔषध सेवन तथा कारोबार गर्दै आएको समेत खुल्न आएको छ। पक्राउ परेका बिसीसँग लागू औषध कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।