काठमाडौं। नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनमा कुन गुटबाट को आधिकारिक उम्मेदवार बन्ने भन्ने विषयमा अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन। पार्टीभित्रका गुटहरु आफ्ना समुहबाट एकल उमेद्वार बनाउन भगिरथ प्रयत्नमा छन्। पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट ६ जना चुनावी मैदानमा छन्। त्यहाँ एकल उमेद्वार बनाउन प्रयास भइपनि अझै सफल भएको छैन। सम्भवत त्यहाँबाट ३ जना उमेद्वार बन्ने देखिन्छन। काँग्रेसको राजनीतिमा प्रतिपक्षी भुमिकामा रहेका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्ष पनि अहिले एकल उमेद्वार बनाउन अहोरात्र लागिरहेको छ।
अहिले पौडेल पक्षबाट अध्यक्ष पदको लागि दाबेदारी दिँदै आएका कतिपय नेताहरू महामन्त्री पदसम्म पाएपनि सहमति जनाउने अवस्थामा पुगेका छन्। अहिले अध्यक्षमा झण्डै आधा दर्जन भन्दा बढी उम्मेदवारहरू यो पक्षबाट रहेको भएपनि अन्तिममा दुई या तीन जना मात्रै टिक्ने देखिएको छ। बाँकी उम्मेदवारहरू पार्टी नेताहरुको आश्वासनमा फिर्ता हुनसक्ने आँकलन हुन थालेको छ।
स्रोतबाट प्राप्त जानकारी अनुसार यो पक्षबाट अहिले सबैभन्दा बढी सम्भावना मनोजमणि आचार्यको रहेको छ। उनी आफ्ना गुटको आधिकारिक उम्मेदवार बन्नेमा अरू भन्दा ढु्क्क रहेपनि उनलाई दिपक भट्टराईले पछ्याएका छन्। उनीपछि उनकै हाराहारीमा सम्भावना बोकेका अर्का अध्यक्षका आकांक्षी भट्टराई अन्तिमसमयसम्म अध्यक्षको लागि दाबेदारीमा रहनेछन्। अन्तिममा उनले पार्टीका दाईहरुका कुरा सुनेर महामन्त्री पदसम्ममा झर्न सक्ने विद्यार्थीहरुमा चर्चा छ।
उता, अध्यक्षका उम्मेदवार विनिता अधिकारीको पनि केहीहदसम्म सम्भावना रहेपनि उनी पनि आफ्नो दावेदारीलाई फिर्ता लिने अवस्थामा पुगेको देखिन्छ। गुटका कसैको नाममा पनि सहमति नमिलेको खण्डमा महिला उम्मेदवारको नाताले उनलाई फाइदा हुन सक्ने भएपनि अहिले उनलाई महामन्त्री पद दिने आश्वासन दिईएको छ। तर, अध्यक्षका उमेद्वारहरुलाई महामन्त्री दिने भनिएपनि निर्वाचन हुने दुई महामन्त्रीमा एकमा हिमालदत्त श्रेष्ठलाई महामन्त्री दिने आश्वासन दिईएपछि अधिकारीको सम्भावना त्यहाँ पनि कमजोर पर्न सक्ने देखिएको छ। यद्यापी यहाँ आधिकारिक अध्यक्ष र महामन्त्रीमा कसले बाजी मार्छ हेर्न बाँकी नै छ। अध्यक्षका आकांक्षी अधिकारी भने महामन्त्री पनि दिईएन भने आफू अध्यक्ष मै लड्ने अडान लिँदै आएकी छिन्।
नेविसंघमा महाधिवेशन प्रतिनिधीको विवाद नमिल्दा सोमबार बन्द सत्र हुने बेलासम्म पनि महाधिवेशन प्रतिनिधीको नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन समिति बनेको छैन्। प्रतिनिधीको कार्ड बनेको छैन्। विधिवत महाधिवेशन माग गर्नेहरु अहिले पनि आमरण अनशनमा छन्।
नेविसंघमा देउवा, पौडेल र कृष्ण प्रसाद सिटौला निकट विद्यार्थीहरुबीच प्रतिष्पर्धा छ। पछिल्लो समय भने खुम बहादुर खड्का निकटहरु पनि संगठित रुपमा नेतृत्वमा दावी गरिरहेका छन्।