arrow

अर्को विवाह गर्न श्रीमतीको हत्या

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ फागुन २२ आइतबार
hatya-murder.jpg

सिराहा । सिरहामा सामाजिक सञ्जाल फेसबुकमा प्रेममा परेर मन्दिरमा विवाह गरेका युवकले अर्को बिहे गर्नका लागि पहिलो श्रीमतीको हत्या गरेका छन् । प्रहरीले सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ७ का २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पूजा सिंह भन्ने पूजा कुमारी पोदारको हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।

गत मङ्गलवार कर्जन्हा नगरपालिका वडा नम्बर ७ स्थित कमला नदी किनारको बाँस घारीमा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नम्बर २० जैशिदेवलकी २२ वर्षीया पूजाको शव फेला परेको थियो ।

यस घटनाको अनुसन्धानको क्रममा मृतककी श्रीमान् अमरलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले बताए । प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको समय अमर पूजासँग प्रेममा परेका थिए । 

कानुनको विद्यार्थी रहेकी पूजा ल फर्ममा काम गर्दै आएकी थिइन् । पूजा र अमरको फेसबुकमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहे। अमर माघ १३ गते नेपाल फर्केपछि २७ गते काठमाडौँको भद्रकाली मन्दिरमा विवाह गरेका थिए । विवाह गरेर दुबै जना काठमाडौं बाफलमा छुट्टै कोठा भाडामा लिई बस्दै आएका थिए ।

विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले स्वीकार नगरेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर घर आएपछि पुनः नफर्केपछि पूजा फागुन १६ गते अमरलाई खोज्दा खोज्दै सिराहाको बस्तीपुर चोकमा पुगिन्। सिराहा पुगेकी पूजा श्रीमानलाई आफू आएको जानकारी गराएपछि अमरले आफू बाहिर रहेकोले साँझमा लिन आउने भने। 

अमरले पूजा आफूलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीहरूसँग सल्लाह गरेर हत्याको योजना बनाई बस्तुपुर चोकमा पुगेर अमरले घर लैजाने बहानामा पूजालाई कमला नदिको किनारमा एकान्त स्थलमा लगी साथीहरूसँग मिलेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जानकारी दिए।

फेसबुकमा प्रेममा परेर विवाह गरेका युवकले घर परिवारलाई मनाउन आएकोमा अमरकै सहमतिमा असन्तुष्ट परिवारले धनुषाकी युवतीसँग अर्को विवाह तय गरेका थिए । तर पूजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले आफ्नो साथीहरूसँग मिलेर पूजाको हत्या गरेको छ।

यस घटनामा अमर पक्राउ परे पनि अन्य संलग्न व्यक्तिहरु अहिले फरार रहेका छन् । फरारहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ