काठमाडौं । महाधिवेशन प्रतिनिधि विवादले चरम रुप लिएपछि सोमबार स्थगित भएको काठमाडौंमा जारी नेपाल विद्यार्थी संघको महाधिवेशनको बन्दसत्र मंगलबार दिउँसो २ बजेपछि बस्ने सम्भावना बढेको छ ।
विवादित ११ जिल्लामा हुन नसकेको अधिवेशनबाट प्रतिशतका आधारमा भागबण्डा गर्दै प्रतिनिधि छान्ने तयारी भएको हो ।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक मोति भण्डारीले ६४ जिल्लामा भइसकेको अधिवेशनलाई सही मानेर ११ जिल्लाका प्रतिनिधि छान्नका लागि प्रतिशतका आधारमा छलफल हुन लागेको हाम्राकुरालाई बताए ।
प्रस्तावित प्रतिशत अनुसार आमरण अनसनको नेतृत्व गरिरहेका कुन्दन काफ्ले (कृष्णप्रसाद सिटौला पक्ष) लाई ३० प्रतिशत, एक्लै अनसन बसिरहेका इन्दु शर्मा (पूर्व केन्द्रीय सदस्य महेन्द्र शर्माको पक्ष) लाई १० प्रतिशत र बाँकी रहेको ६० प्रतिशतमध्ये त्यसलाई सत्प्रतिशत मानेर ५५ प्रतिशत रामचन्द्र पौडेल खेमालाई र ४५ प्रतिशत शेरबहादुर देउवा खेमालाई दिने रहेको छ ।
यो प्रतिशतमा सहमति भए दिउँसो बन्द सत्र सुरु हुन सक्ने बताइएको छ ।
यसैबीच, मंगलबार बिहान बाँड्ने भनिएको प्रतिनिधि पास भने स्थगित भएको छ । पूर्ण स्थानका प्रतिनिधि चयन भइसकेको अवस्था नहुँदा मंगलबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपाबाट पास वितरण गर्ने निर्णय आयोजक समितिले गरेको थियो ।
यो काम भने महाधिवेशन निर्देशक समितिको निर्देशन विपरित भएको समितिका संयोजक प्रदीप पौडेलले हाम्राकुरालाई बताए ।