arrow

प्रदेश एकको नाम कोशी–किराँत हुनसक्छ : मुख्यमन्त्री राई

logo
विवेक मिश्र,
प्रकाशित २०७८ फागुन २३ सोमबार
rajendrakumar-rai.jpg

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम कोशी-किराँत रहन सक्ने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी-किराँत हुनुपर्ने बताएका हुन् । 

दुई दिन अघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम कोशी हुनुपर्ने सुझाव दिएका थिए । मुख्यमन्त्री राईको यो भनाइले अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गर्ने सङ्केत मिलेको छ । 

राईले तत्कालीन एमालेको निर्णय तथा नेकपा हुँदाको संसदीय दलमा कोशी–किराँत राख्नुपर्छ भन्नेको बहुमत रहेको स्मरण गर्दै राईले त्यही निर्णय आफ्नो पार्टीको लाइन भएको बताए ।  राईले आफ्नो पार्टीको निर्णय र लाइन पनि विगतको एमालेले गरेको निर्णयको आधारमा भएको भन्दै तत्कालीन एमालेले कोशी–किराँत हुनुपर्छ भन्ने विषयमा निर्णय गरेको दाबी गरे । 

‘मैले पुरानो निर्णयलाई, दस्ताबेजलाई (एमालेकै महाधिवेशन र केन्द्रीय सदस्य तथा कार्यदलको) हेर्ने हो भने यो ठाउँ भनेको किराँत–कोशी भनेर स्पष्टसाथ लेखिएको थियो,’ उनले भने, ‘त्यसो हुँदा मैले सार्वजनिक हिसाबले बोल्दा बहु पहिचानको कुरा गरिरहेको छु । ह्विप नलगाउँदा त्यो हिसाबले जाने कुरा हुन्छ । केन्द्रीय निर्णय भएको अवस्थामा भने अर्को कुरा हो । तर, पार्टीको पुरानो निर्णयको आधारमा भन्ने हो भने अहिलेसम्मको चाहिँ बहु पहिचानको आधारमा किराँत–कोशी हुनुपर्छ भन्ने कुरा हाम्रो हो ।’

उनले आफ्नै कार्यकालमा यो विषयलाई टुङ्गोमा पुर्‍याउने पनि बताए । ‘म एकदमै जोड दिएर त्यसमा लागेको छु, डराएर, भागेर बस्दिन, सगरमाथा भए पनि कोशी भए पनि वा बहु पहिचान भए पनि भोटिङमा जाने नै भन्नेमा छु,’ उनले भने, ‘कोशी वा सगरमाथा भूगोलको पहिचानको कुरा गर्नेहरूले भनेका छन् । जातीय पहिचानको कुरा गर्दा किराँत, लिम्बुवान वा शेर्पा भन्ने कुरा पनि आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ