काठमाडौं । नेविसंघको जारी ११ औं महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । विवाद नमिलेपछि दिउँसो २ बजेबाट सुरु गर्ने भनेको बन्द सत्र अझै सुरु हुन नसकेको हो । विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधि झमेला नमिलाउन पार्टी नेतृत्व तथा विद्यार्थी नेताहरु चणबद्ध छलफलमा छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा पार्टीका उच्च तहका नेताहरु छलफलमा छन् । विमलेन्द्र निधि लगायत नेताहरु विहानै देखि विवाद मिलाउन भन्दै छलफलमा जुटेका बताइएको छ । उनीहरुले विद्यार्थी नेतालाई बोलाएर समाधानको प्रयास गरिरहेका छन् ।
नेताहरुले प्रतिशतका आधारमा भागबण्डा गर्न खोजेपछि कुरा मिल्न नसकेको बताइएको छ । यस्तै, पार्टी नेताहरु नेविसंघको विवादसंगै सरकारमा सहभागि हुने मन्त्रीको समेत छलफलमा रहेकाले ढिलाई भइरहेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुको पक्षबाट ६ जना मन्त्री पठाउन माग गरेका छन् ।
जवाफमा देउवाले पहिले पार्टी एकिकरण नहुँदाको जस्तो ६०–४० को हिसाव हुँदैन, मैले सबैलाई मिलाएर लाने हो –भनेका छन् । देउवाको भनाई उद्त गर्दै एक नेताले भने, ‘मैले चुनाव जितेको र तपाईले चुनाव हारेको हो । त्यसैले ६०–४० को हिसाव हुँदैन ।’ नेताहरुलाई नेविसंघको महाधिवेशन र सरकारमा जानेहरुको बागबण्डा एकै पटक पर्दा सकस भएको छ ।
कांग्रेसले पाएको १३ मन्त्रालय मध्ये ४ मन्त्रालयको टुंगो लागेको छ । सोमबार मात्रै कांग्रेसले परराष्ट्रमा शेखर कोइराला र रक्षामा अर्जुन नरसिंह केसीलाई पक्का गरेको छ । यसअघि, विमलेन्द्र निधि उपप्रधान तथा मृह मन्त्री र रमेश लेखक भौतिक योजना तथा पूर्वाधार मन्त्रीको सपथ लिइसकेका छन् ।