पाँचथर। पूर्वी पहाड र हिमालमा पाइने विश्वमै दुर्लभ मानिएको रेडपाण्डा संरक्षण संर्वद्धनको अभावमा लोप हुने अवस्थामा पुगेको छ । हिमाली जिल्ला ताप्लेजुङ र पहाडि जिल्ला पाँचथर र इलाममा पाइने रेडपाण्डा लोप हुने अवस्थामा पुगेको हो ।
समुन्द्र सतहको २२ सय मिटरदेखि चार हजार मिटरसम्म पाइने रेडपाण्डा खुला सीमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फडानीका कारण लोप हुने अवस्थामा पुगेको रेडपाण्डा संरक्षण कार्यक्रम संचालनमा क्रियाशिल संस्था दिपज्योति क्लवका कार्यकारी निर्देशक सुनिल वान्तवाले वताए ।
आकर्षक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुन्छ। विकास निर्माणले वासस्थान लोप , कुकुरको आक्रमण,आहाराको विनास अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको बिभिन्न अध्ययनहरुले देखाएको छ ।रेडपान्डा पाँचथर, इलाम, र ताप्लेजुङका हिमाली क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेडपाण्डा नेटवर्क कन्जरभेशन कोडिनेटर पेमा लामाले वताए ।
बिभिन्न स्थानमा ट्रेपिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सीमानाका कारण रेडपाण्डको संख्या दिनानुदिन घटदै गइरहेको लामा वताउछन् । महिलाले बोक्ने झोला, टोपी तथा विलासिताका सामाग्री निर्माणमा रेडपाण्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपाण्डाको चोरी तस्करी हुने गरेको छ। हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएपनि अहिलेसम्म रेडपाण्डाको संख्याको यकिन तथ्याङ्क छैन ।
वासस्थानको अतिक्रमण, विनाश, आगलागी र मानवीय गतिविधिका कारण रेडपाण्डाको संख्यामा कमी हुँदै आएको छ। नेपालका सबै स्थानमा रेडपाण्डा भेटिएपनि अध्ययन नभएको उनले वताए । हाब्रे, पुडेकुदो जस्ता नामले चिनिने रेडपाण्डा पूर्वी नेपालमा पाइने पुष्टी भइसकेकाले अब खोटाङ, जुम्ला, जाजरकोट र कालीकोटमा अध्ययन शुरु गर्ने नेटवर्कको योजना छ ।
तीन जिल्लामा २ सय १८ वटा रेडपाण्डा रहेको अनुमान गरिएपनि यकिन तथ्याङ्क भने छैन । २२ गाविसमा गरिएको कार्यक्रमबाट ग्रामीण क्षेत्रमा जनचेतनाको विकास भएपनि श्रोत अभावले निरन्तरता दिन समस्या भएको छ । यस्तै फिदिममा आज दिप ज्योति यूवा क्लवले आयोजना गरेको कार्यशाला गोष्ठीमा वोल्दै अधिकांश वक्ताहरुले क्लवले रेडपाण्डा संरक्षणको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंशा गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा,स्थानिय विकाश अधिकारी कोमल प्रसाद धमला,नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,नेकपा मालेका केन्द्रिय पार्षद लय वास्कोटा,संघिय लिम्वुवान मंच नेपालका दिपक खनाल,गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालकृष्ण ओझा,गरिवी निवारण कोष प्याफकी कार्यप्रवन्धक विद्या गौतम लगायतले क्लवले गरेको कामको प्रशंशा गरेका थिए ।
यस्तै कार्यक्रममा क्लवका कार्यकारी निर्देशक सुनिल वान्तवाले क्लवले गरेका कामको वारेमा जानकारी गराए । जिल्लामा सन् २०१६ देखि सन् २०२० सम्म साढे चार वर्ष रेड पाण्डा नेटवकले संरक्षण सर्वद्धनको पक्षमा काम गर्ने कार्यक्रममा जानकारी गराइयो ।