काठमाडौं । सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले चार सदस्यीय जाँच आयोग गठन गरेको छ ।
गोरखाको सिर्दिवासबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको ९एन–एकेए हेलिकोप्टर दिउँसो नेपाली समय अनुसार १२ः३२ मा अन्तिम सम्पर्क भई नुवाकोटको मदनपुर–९ बेतिनि जंगल चुच्चेभीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका एक र नाबालक सहित ७ जनाको मृत्यु भएको थियो ।
जाँच आयोग गठनपछि पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जारी गरेको विज्ञप्तिमा दुर्घटनाका कारणहरु पत्ता लगाउनुका साथै भविष्यमा यस्तो दुर्घटना हुन नदिने सुझाव सहित तथ्यहरु पत्ता लगाई तीन महिना भित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान दुर्घटना नियमावली २०७१ बमोजिम नेपाल सरकार (प्रधानमन्त्रीस्तर)को मिति २०७३–०४–२५ को निर्णयानुसार विज्ञसम्मिलित जाँच आयोग गठन गरिएको उल्लेख छ ।
जाँच आयोगमा हवाई विभागका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठ, सैनिक अवाई महानिर्देशनालयका पाइलट सुवास थापा, सिम्रिक एयरका इन्जिनियर विष्णु बस्न्यात सदस्य तथा पर्यटन मन्त्रालयका सह–सचिव सुरेश आचार्य सदस्य–सचिव छन् ।
यसैबीच, नागरिक उड्डयन प्राधिकरणले हुम्लाको कर्णाली नदीमा झरेको मकालु एयरको सिंगल इन्जिन विमान दुर्घटनापछि सिंगल इन्जिन भएका विमानले यात्रु बोक्न नपाउने गरी ‘यात्रु चार्टर’ रोक्ने तयारी गरेको छ ।
प्राधिकरणले यसबारे छलफलका लागि बुधबार नेपालमा सिंगल इन्जिन विमान उडाउने कम्पनीलाई बोलाइएको छ । अहिले नेपालमा गोमा एयर, मकालु र एयर काष्ठमण्डपले सिंगल इन्जिन विमान उडाउँदै आएका छन् ।
नेपालमा पछिल्लोपटक ६ वटा यस्ता विमान थिए । तर कालिकोट र हुम्लामा भएका दुईटा दुर्घटनापछि अब नेपाली आकाशमा चार विमान मात्रै सिंगल इन्जिनका छन् । यसअघि, उड्डयनका सेफटी चिफ भेषराज सुवेदीले सिंगल इन्जिन विमानलाई यात्रु बोक्ने अनुमति नभएको बताएका थिए । कार्गो विमानहरुले यात्रु बोक्न नपाउने भएपनि पहाड र हिमाली क्षेत्रमा विकल्प नभएपछि उडाउने गरेको बताइन्छ ।