काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी ११ औं महाविधेशन अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण महाधिवेशन हो । नौ वर्षदेखि हुन नसकेको महाधिवेशनका आकांक्षी पनि धेरै र संघसमेत जीर्ण भइसकेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवालाई पनि ठूलो दवाव छ । गुटमै विश्वास गर्ने देउवाले पहिले त आफ्नै हालीमुहालीमा जोड दिएका थिए । तर आलोचना धेरै भएपछि उनी एकाएक तात्तिए र भने ‘अब भागबण्डामा मलाई केही चाहिंदैन, जसले जे चाहन्छन् त्यही गर तर समाधान गरेर महाधिवेशन गराऊ ।’
महाधिवेशन निर्देशन समितिका संयोजक डा प्रकाशशरण महतले हाम्राकुरासंग भने, ‘सभापतिजीको ईच्छाशक्ति यति प्रखर र दृढ देखिएको कि सबै नेविसंघकै हुन् कसले के पायो पाएन भन्नु भन्दा पनि जसरी पनि महाधिवेशन गराऊ भन्नुभयो त्यसपछि हामी तात्यौं ।’
महतले भने, ‘सभापतिको कुनै आफ्नो भेस्टेड इन्ट्रेष्ट भएन भने हामीलाई पनि काम गर्न सजिलो भयो, मंगलबार राति १ बजेसम्म समितिका पाँचै जना म सहित गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर बसेर समाधान गर्न सफल भयौं ।’
समाधान चाहीं कसरी भयो त ? महतले सहजै उत्तर दिए ‘साथीहरुको चाहनालाई संवोधन गर्यौं ।
कुन्दन काफ्लेदेखि महेन्द्र शर्माको अनसनलाई संवोधन गर्यौ ।’ महतले अगाडि थपे, परम्परागत रुपले पक्ष र विपक्ष नहोस् भनेर बढी उदारता देखाएर मागरत पक्षलाई बढीभन्दा बढी सुविधा दिएर समाधान गर्यौं ।’
महतले लामो समयदेखि छलफलमा जुटिरहे पनि कहिले कुन पक्ष भड्किने र कहिले अर्को पक्ष भड्किने गर्दा तनाव भएको बताए ।
अब के हुन्छ महाधिवेशनमा
महाधिवेशनको उद्घाटन आइतबार भइसकेको छ । सोमबारदेखि बन्दसत्र सुरु हुनेवाला थियो । तर प्रतिनिधि नै चयन नगरी बन्दसत्र हुनसक्ने अवस्थै थिएन । नेता महतका अनुसार बुधबार दिनभर निर्वाचन समितिले प्रतिनिधिको नाम संकलन गर्नेछ । बिहीबार उम्मेदवारी घोषणा हुन्छ । शुक्रबार चुनाव हुन्छ ।
कुनै अवरोध नभए शुक्रबार चुनाव हुनेछ र अर्को हप्ता नेविसंघले नयाँ नेतृत्व पाउने छ । तर भृकुटीमण्डपमा तीनजना व्यक्तिमध्ये एक जना सुरक्षाकर्मी तैनाथ भएको अवस्थामा महाधिवेशन फेरि पनि निष्पक्ष हुनेमा शंका छ । त्यसैगरी अनुभवका आधारमा अहिले प्रतिनिधि चयन गर्दा कसरी आफ्ना मान्छे पार्ने भन्दैमा समय कट्ने निश्चित छ ।
नेविसंघमा थेग्रिएर बसेकाहरुको जमात छ । त्यो जमातले नेविसंघको सच्चा प्रतिनिधित्व त अहिले नगर्ला तर टिकेप्रथाको अन्त्य भने गर्ने विश्वास गर्न सकिन्छ।