काठमाडौं। सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकी अध्यक्ष भावना विद्रोहीले सत्यनिरुण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा उजुरी दर्ता गरेकी छिन् ।
तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा २०५४ सालदेखि सामेल भएकी विद्रोहीले राज्यपक्षबाट चरम शारीरिक र मानसिक यातना पाएको भन्दै न्याय दिलाइदिन आयोगमा उजुरी दिएकी हुन् ।
उनले सोमबार सत्यनिरुण तथा मेलमिलाप आयोगको कार्यालय बबरमहल र बेपत्ता आयोगको कार्यालय हरिहरभवनमा पुगेर तत्कालीन राज्य, सेना र प्रहरीविरुद्ध उजुरी दिएको बताइन ।
२०५८ सालदेखि ०६२ सालसम्म सेना र प्रहरीबाट पटक पटक बेपत्ता पारिएकी विद्रोहीले प्रहरी र सेनाको पाशविक र मानसिक यातना खपेकी थिइन् । उनी भन्छिन् ‘त्यत्तिबेला मलाई प्रहरी र सेनाले २१ औं शताब्दीको सभ्य मानव युगलाई पनि बिर्साउने बर्बर यातना दियो । त्यत्तिबेलाको शारिरीक र मानसिक यातनाले अझै अस्वस्थ र घाइते छु। त्यसो हुँदा पनि राज्यले ध्यान दिन नसकेकाले उजुरी गर्न बाध्य भएँ।
आफू संलग्न भएको पार्टी शान्ति प्रक्रियामा आएपछि विचलनको बाटोमा हिँडेको भन्दै विद्रोहीले २०६७ सालमा सर्वहारा कम्युनिष्ट पार्टी माओवादीको नाममा नयाँ पार्टी खोलेर त्यसको नेतृत्व गरिरहेकी छिन् । जनयुद्धका पीडितहरुलाई न्याय दिने आशा नभए पनि निराशाको बीचमा आफूले उजुरी दिएको उनले बताइन।