arrow

जसलाई दरबारमार्गमा गायक पेलेको गाडीले उडायो

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७८ चैत ६ आइतबार
paras-accident-news.jpg

काठमाडौं । २१ वर्षअघि चर्चित गायक प्रविण गुरुङको एउटा भीआईपी गाडीको ठक्करबाट मृत्यु भएको थियो । यसको सम्झना धेरैजसोलाई छ । तर प्रवीण गुरुङ दुर्घटनाको १९ दिनपछि उही गाडीले गराएको अर्को दुर्घटनाको घटना गुमनाम छ । यो घटनाको रेकर्ड प्रहरीसँग पनि छैन । 

गुरुङ दुर्घटनाकै शैलीमा गाडी चलाइएको थियो । तर ठक्कर खाने व्यक्ति अझै जिवित छन् । गाडीको ठक्करबाट उनी उडेका थिए । ठक्कर हान्नेले उनलाई हात हल्लाएर बाइबाइ गरेका थिए । 

यमराजको चक्रबाट बाँचेका उनी अर्थात् नरहरि बस्नेत । काठमाडौंको दरबारमार्गमा २०५७ साल साउन २२ गते भीआईपीले चलाएको गाडीले ठक्कर दिँदा गायक गुरुङको मृत्यु भएको थियो । २०५७ साल भदौ ११ राति ११:३० बजे बस्नेतलाई त्यही गाडीले उडाएको थियो । बस्नेत मरेनन् । अर्धहोशमा बाँचे । 

बस्नेतले त्यतिबेलाको घटनाबारे सम्झँदै गर्दा आफ्नो तत्कालीन अवस्था खोल्दै गए । भन्छन्, ‘नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको त्यतिखेरको बसाइ बिजुलीबजार नजिक थियो । अहिलेको एभेरेष्ट होटेल त्यस समयको सेराटन होटल थियो । मैले २०४८ देखि सरसफाइ क्षेत्रमा काम गरेँ । सो क्षेत्रमा संयोजकको भूमिका निर्वाह गरेका कारण कुनै समस्या परे सबै तिरबाट मलाई खबर आउँथ्यो । जिम्मेवारी मेरो थियो ।’ 

उनी भन्दै गए, ‘सुशील कोइराला सेराटन होटल नजिक बस्नुहुन्थ्यो । सो समय सो क्षेत्रको डम्पिङ बन्द थियो । उहाँले जसरी पनि उठाइदिनु भनेर भन्नुभयो । २०५७ साल भदौ ११ गते दिउँसोको घटना हो आफ्ना कर्मचारीले काम गर्न त्यो ठाउँमा मानेनन् । एक जना भाइलाई बोलाएर ल्याएँ ।’

बस्नेतले सम्झदै गए, ‘ध्रुव खनालको जग्गा नजिकमा एक जना भाइ कवाडी फोहोर छान्दै थिए । रावल नाम गरेका ती भाइलाई मैले काम गर्छौ भनेर सोधेँ उनले गर्छु भने । कति पैसा लिन्छौ भनेको दुई सय दिनु न भने । मेलै तिमीलाई दुई सय होइन तीन सय नै दिन्छु राम्रोसँग काम गर भनेर लिएर गएँ । उनीलाई ट्याक्टरसँग काम लगाएँ । त्यहाँको ६-७ ट्याक्टर जति फोहोर लगेर खाल्टामा गाड्यौँ ।’

आफू दुर्घटनामा परेको घटनाबारे अगाडि भने, ‘२०५७ साल भदौ ११ गते ११:३० बजे रातको समय थियो ती भाइले आफ्नो कोठामा पुर्याइ दिनुपर्छ भनेर भन्न थाले । गाडी पाउँदैन भनेपछि मैले बाइक छँदैछ म पुर्याइदिन्छु भनेँ । सो समय मेरो बसाइ शान्तिनगर प्रयागमार्गमा थियो । त्यहाँ सरसफाइमा काम गर्दै गरेका अन्य कर्मचारीलाई सरसफाइ गर्दै गर भनेर म ती भाइलाई लिएर निस्किएँ ।’ 

बस्नेत भन्छन्, ‘ठ्याक्क बुद्ध नगरबाट उँभो निस्कने बिजुली बजारको पुल छ । पुल पुल क्रस गरेर आफ्नो साइडमा पुगेपछि माइतीघर तर्फबाट फक्स लाइट दिइराखेको दायाँबायाँ दायाँबायाँ देखेँ मैले । रफ तरिकाले तीव्र गतिमा गाडी आइरहेको थियो । हेडलाइट देखेपछि गाडीले हान्छ भनेर साइड लागेर बिस्तारो गरेँ ।’

उनी अगाडि भन्न थाले, ‘मेरो वाइवीएक्स बाइक नाली छोला जस्तो दूरीमा थियो । मास्तिर बुद्ध नगर जानेतिर दोबाटोमा आएपछि जहाँ चिनियाँ सरकारले बनाइदिएको झण्डा राख्ने पोल थियो त्यसको माथि पुगेपछि सेराटन होटेलको अलि तल लगभग ८० मिटर तल झ्याप्पै गाडीले आएर हान्यो ।’

उनी त्यो गम्भीर मोडलाई सम्झदै भन्छन्, ‘गाडीले हानेपछि बाइक उड्यो । बाइकसँगै पछाडि बस्ने रावल र म उड्यौँ । हामी माथि उडेकै अवस्थामा गाडी बानेश्वर चोक पुग्यो र बाइबाइ गर्दै हात हल्लाउँदै गयो ।’ 

बस्नेतले थप अगाडि भने, ‘जुन गाडीका चालक थिए उनी बाइ गर्दै गए । उनी तत्कालीन युवराज पारस वीर विक्रम शाह रहेछन् । त्यो गाडी निलो प्लेटको थियो । मेरो तीन दिनपछि होश आयो । तीन दिनसम्म अर्धहोशमा थिएँ । पछाडि बस्ने ती भाइ ५० मिटर टाढा खसेछन् । उडेको र गुडेको स्पिड नमिलेपछि उनी बजारिएर । मलाई समातेको भए पनि केही हुने थिएन ।’

उनलाई के भयो त ? उनी अगाडि भन्छन्, ‘पिचमा बजारिँदा मेरो कपडा छियाछिया भएको थियो । म त्यहाँ ७ मिनेट पूर्ण रूपमा बेहोश भएछु । उठेपछि ती भाइ बुद्धनगरको तल्लो साइटमा ओरालोमा लडिरहेका थिए । म अर्धचेतनमा थिएँ । पछि तीन दिनपछि होश आएपछि मैले अनुमान गरेँ । बाइकको पछाडि जापानिज क्यारियर हालेको थिएँ । त्यो समयको सबैभन्दा बलियो सामान यताउता लग्न मिल्ने भनेर । त्यो चाहिँ रोटो जस्तो भएको थियो । कच्याककुचुक । बाइक केही भएको थिएन । त्यति प्रेसरले हानेको रहेछ । अचम्म के छ भने मेरो बाइकको साइड लाइट पनि केही भएको छैन । हेलमेट र बाइक माझ रोडमा लडिरहेको थियो । बाइकलाई बेहोशमै सेराटन होटेलको नालीतिर हुत्याइदिएँ । हेलमेट साढे १७ सय हालेर त्यो समय किनेको थिएँ त्यो हेलमेटलाई पनि किन चाहियो र भनेर एक लात्ती दिएँ । बुद्धनगरतिर गयो ।’ 

उनले त्यो घटनाबारे थप भन्छन्, ‘ती भाइलाई अस्पताल लानुपर्छ भन्ने सोचाइ आयो र ट्याक्सीमा हालेर वीर अस्पताल लगँे । वीरमा लगेर उपचार गराएँ । पैसा रहेनछ मसँग । ट्याक्सीलाई लिएर कोठामा गएँ र कोठाबाट पैसा लिएँ । पैसा लिएर ट्याक्सी भाडा दिएँ । ती भाइको उपचार गराउन लगभग ६ महिना जति लाग्यो । तीन ठाउँमा आन्द्रा ड्यामेज भएको थियो । जीउमा अप्रेशन गरिएको थियो ।’ 

उनलाई त्यतिबेला केही पनि भएन त ? बस्नेत भन्छन्, ‘मलाई सबैभन्दा ठूलो तनाव ती भाइलाई बचाउनुमा थियो । उसको टेन्सनले गर्दा मेरा लागि एउटा सिटामोल पनि खर्च गरिन । साधारण खाना खाएँ । मलाई तनाव भयो । टाइफाइड भएछ । टाइफाइड भएर पनि बिग्रियो । बिग्रिएपछि औषधि खाएँ । औषधि एक दिन छोडेँ । इन्जेक्सन लगाउनुपर्ने अवस्थामा पुगेको थियो । पहेँलो बेसार जस्तो भमिट हुन्थ्यो । त्यस्तो भएपछि एक दुई महिना बेहोश हुन्थे । दुई चार महिना बेहोश भएर पुन: उठेर हिँड्थेँ फेरि बेहोश हुन्थे । ०५७ सालदेखि ०५९ सालसम्म एन्टिबायोटिक खाएँ ।’

अनि उनलाई निको भयो त ? उनी भन्छन्, ‘०५९ सालमा अस्पताल पुगेपछि डाक्टरहरूले एलर्जी भएको भनेपछि १०-१५ हजारको औषधि त्यहीँ फालिदिएँ । एलर्जी भएपछि यसै मर्ने उसै मर्ने भन्ने लाग्यो । औषधि फालेर जडीबुटीतिर लागेँ । रत्नपार्क गएर जडीबुटी ल्याएर खान थालेपछि मलाई अहिले चाहिँ ठीक छ ।’ 

उक्त दुर्घटना पूर्वयुवराज पारसले नै गराएको भन्ने उनलाई कसरी यकिन भयो त ? उनी भन्छन्, ‘दुर्घटना पारसले नै गरेको भन्ने चाहिँ पछि थाहा भयो । त्यहाँ यस्तो नीलो प्लेट भएको गाडी थियो भनेपछि उनीहरूले भन्न चाहेनन् । सो समय १९ दिनअघि मात्र दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रवीण गुरुङको मृत्यु भएको थियो । त्यो घटना नै गुपचुप भएपछि कसैले बोेल्ने आँट गरेनन् । गायक जस्तो मान्छे त दरबार मार्गमा त्यसरी मारिए भनेपछि म आफू बाँचेकोमैँ खुशी भएँ । बोल्न सकिन । बानेश्वर चोकदेखि एभरेष्ट अघि ट्याक्सीहरू स्ट्यान्ड बाइ बसेका थिए । सबैले त्यो घटना देखेर परासले भएको बताए । सबै चुपचाप लागे बोल्ने आधार पनि भएन । बोल्न सक्ने पनि अवस्था थिएन ।’ 

घटनापछिको अवस्थाबारे उनी बताउँदै गए, ‘मेरो बाइक ट्राफिक कार्यालय रामशाहपथ लगेको रहेछ । ५-६ महिनापछि बाइक निकालँे । निकालेको तीन वर्षसम्म पनि बाइक चढिन । त्यो डरले चढ्न मन लागेन । प्रहरीले पनि केही भन्न चाहेन । पत्तै लागेन भन्यो सकियो । प्रहरीको पनि बोल्ने उपाय थिएन । त्यसरी पनि थाहा भएको हो । त्यहाँ मेरा साथी भाइ पनि थिए प्रहरीमा । मलाई माया गर्ने पनि थिए । उनीहरूले बोल्न नमिल्ने भनेपछि कुरा खुलेको हो । त्यो कुरो भन्नै हुँदैन भन्यौ भने हामी जोखिममा छाँै भन्नुभयो । ट्याक्सीका साथीहरूलाई सोधेको थिएँ मैले । प्रहरी प्रशासनले त भन्ने कुरै भएन ।’ 

उनको खर्च त्यतिबेला बढी नै भएछ । भन्छन्, ‘सो समय उपचारमा साढे तीन लाख खर्च गरँे । ती भाइको बस्ने खाने घरमा कमाउने उही सबै गरेर खर्च पुग्यो । पछि आफूलाई पनि डेढ दुई लाख खर्च गरेँ । गाडीले हानेपछि तीनकुनेको प्रभागबाट इन्स्पेक्टर आउनु भएको थियो । उहाँले विशेष गाडीले हानेको यिनी बेहोशमै छन् उपचार गर्नु है केटाहरू भनेर भन्नु भएको थियो । मेरो सिको फाइभ घडी पनि गायब भयो ।’ 

यो विषयमा तीनकुनेस्थित महानगरीय प्रहरी वृत्तसँग बुझ्दा त्यस सम्बन्धमा केही पनि जानकारी छैन । तत्कालीन प्रहरी प्रमुखलाई सम्पर्क गर्न सकिने सम्भावना पनि नरहेको प्रहरीले बताएको छ । निकै पुरानो घटना भएको र पीडित पक्षबाट घटनाको फलोअपसमेत नभएका कारण उक्त जानकारी पाउन सम्भव नरहेको एक प्रहरीले बताए ।

त्यतिबेला प्रहरी कार्यालयका प्रमुख रहेका व्यक्तिसमेत अहिले निकै धेरै वर्ष भइसकेका कारण कहाँ छन् भनेर खोज्न अलि असहज नै हुने प्रहरीको भनाइ छ । त्यतिबेला अहिलेको जस्तो फोनसमेत नभएका कारण झनै गाह्रो भएको प्रहरीको भनाइ छ ।

बस्नेत भन्छन्, ‘मेरो गाडी लाइन भएको कारणले कसैलाई अलिकति छोयो भने त्यसलाई लगेर उपचार गराउनुपर्छ भन्ने मान्यता हो । कमिलो देखेँ भने पनि मार्न हुँदैन । विश्वकर्माले भोग खानुहुन्न । त्यो घटनामा भगवानले मलाई बचाउनुभयो । त्यहाँ बाँच्ने सम्भावना थिएन । हामी हावामा नउडेको भए स्पट डेथ हुन्थ्यो ।’

उनले त्यतिबेलाको घटना देखेकासँग पनि कुराकानी गरेका रहेछन् । उनी भन्छन्, ‘प्रत्यक्षदर्शीका अनुसार उताबाट गाडी आइरहेको थियो । ट्याक्सी नम्बर मैले टिपिन । उहाँले भन्नुहुन्थ्यो पछाडिबाट गाडीले हानेपछि तपाई उडेर माथि जानुभयो । माथि सेराटनको गेटभन्दा केही तल तपाई खस्नुभयो । बाइक भुईँमा खस्नुअघि एउटा भाइ खस्यो भन्नुहुन्थ्यो । लगभग एक वर्षसम्म सो क्षेत्रमा पुगेर मैले सोधखोज गरिरहेँ ।’

बानेश्वरको त्यो घटना उनी अहिले पनि सम्झन्छन् त्यही ठाउँमा पुगेर । भन्छन्, ‘अहिले पनि सो क्षेत्रमा पुगँे भने बसेर हेर्न मन लाग्छ मलाई । जिउ पुरै थङथिलो भएको थियो । कोखा र टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोबाट पानी रसाइरहेको थियो ।’ 

दुर्घटनापछि उनी तीनकुने माइतीघर खण्डमा सधैँ झस्कन्छन् । भन्छन्, ‘माइतीघरबाट बानेश्वरतिर र तीनकुनेबाट बानेश्वरतर्फ लाग्दा खेर त्यो कुराको याद आउँछ । कोटेश्वरबाट आउँदा तीनकुनेको पुल कटेपछि सतर्क हुन्छु । माइतीघरबाट बानेश्वरतर्फ लाग्दा पनि सतर्क हुन्छु । तीव्र गतिमा गाडी आए बाइक साइड लगाएर बस्छु ।’

उनी तीव्र गतिमा गाडी आए साइड लगाएर बस्न अन्यलाई पनि अनुरोध गर्छन् । पछाडिको रफ चलाए साइड लाग्नु नै उपयुक्त हुने उनी बताउँछन् । आफूलाई भेटाउन सक्छ भन्ने भए आफ्नो सवारी साधन साइड लगाउने सुरक्षित ठाउँमा बस्ने र अघि गएपछि जाने । 

उनले सो समय क्षतिपूर्ति स्वरूप केही पनि पाएनन् । तर पनि उनको पारसप्रति द्वेषभाव छैन । भन्छन्, ‘मेरो सो समय ५-६ लाख क्षति भएको छ । अहिलेसम्म वास्तविक रूपमा भन्नु पर्दा म मानसिक र शारीरिक रूपमा घाइते छु । मलाई अहिले पनि समयमा खाना खाएन, तातो चिसो मिलाएन भने फ्याट्टै ज्वरो आउँछ । पुरै निर्मूल भएको छैन ।’ 

बस्नेत भन्छन्, ‘बोल्न सक्ने पनि अवस्था थिएन । खोजी खोजी व्यवस्था गर्ने समय थियो त्यो । मेले चाहिँ के सोचेँ भने मेरा बुबाले पुराण लगाइरहनुहुन्थ्यो । त्यहाँ चक्रको विषय आउँछ । जसले जस्तो गर्छ त्यसले त्यस्तै भोग्छ । पारसले जे गरे त्यसको दण्ड उनैले भोग्छन् । म धार्मिक आस्था राख्ने भएको कारण म धेरै डिप्रेशनमा चाहिँ गइन । यो धर्तीमा पठाउने, हामीलाई चलाउने त हामी होइन नि त । बाल्यकालदेखि जब म जान्ने भएँ हामीलाई चलाउने कुनै अदृश्य शक्ति छ भन्ने मलाई लाग्छ । पारसले जे भोग्दै छन् त्यो उनको कर्मको फल हो ।’ 

उनी धार्मिक हुँदै सम्हालिँदै भन्छन्, ‘जुनै धर्मशास्त्रलाई हेर्दा पनि कर्मको हाताहाती सजाय चाहिँ भगवानले दिनुहुँदो रहेछ भनेर मैले पत्ता लगाएँ । संयोग परेको होला वा साँच्चै अपराधकै फल उहाँले पाउनुभएको होला त्यो भगवानलाई थाहा छ हामीलाई थाहा छैन । तर मेरो आत्माले चाहिँ त्यही भन्छ । उहाँलाई भगवानले सद्बुद्धि दिउन् । वहाँको परिवारमा मङ्गलमय होस् ।’

२०२९ चैते १५ गते ओखलढुङ्गामा जन्मिएका नरहरि अहिले ४९ वर्ष पुगे । ओखलढुङ्गाबाट ०४६ सालपछि कोटेश्वर हुँदै बानेश्वर आएर बसे । बानेश्वर बसेपछि ०४८ सालमा फोहर मैला क्षेत्र निजी क्षेत्रमा आबद्ध भए । त्यसअघि केही समय भारतको कालकातातिर गएर फर्किएका थिए । बाल्य अवस्थादेखिनै मृत्यु परान्तसम्म कर्म गर्नुपर्छ भन्ने सिद्धान्त रहेको बताउने उनले पछिल्लो समय अध्यात्म क्षेत्रमा पाइला राखेका छन् । अरूभन्दा अध्यात्म मार्गमा आनन्द भएको कारण यसमा लागेको उनी बताउँछन् । 

पछिल्लो समय काठमाडौँको डाँडमा उनी माहुरी पालन गरिरहेका छन् । माहुरी पालनमा उनका परिवारका सदस्यले साथ दिएका छन् । परिवारको आर्थिक अवस्था राम्रै रहेको उनी बताउँछन् । भन्छन्, ‘अहिले तारकेश्वर वडा नम्बर २ काभ्रेस्थलीमा माहुरी पालन गरिरहेको छु । एउटा माहुरीले दश हजारसस्म जीवाणुको नाश गरेर वातावरणको सुधार गर्छ । त्यसरी घरमा दुई घार माहुरी राखियो भने घरको वातावरण पनि शुद्ध हुन्छ । उडेर जाने रसलाई जम्मा गर्छ । माहुरीले हरेक दिन सङ्घर्ष गर्छ हेर्दा पनि आनन्द आउँछ ।’ 

अध्यात्ममा लागेपछि हरेक चिजलाई प्रकृतिसँग जोड्न मन लाग्छ । बस्नेत पनि त्यसै गर्छन् । भन्छन्, ‘माहुरी पनि मानिस जस्तै हो एक परिवारबाट अर्कोमा छुट्टिन्छ । तिनीहरूलाई पनि संगाघरको कटेरोमा राख्ने गर्थे बाल्यकालमा । मैले आफ्नै देशमा काम गरूँ भनेर गरेको हुँ । विदेशमा गुलामी किन गर्ने ? मेरो योजना यही माहुरी पाल्ने बस्ने हो । भयो भने केही जग्गा थप्छु र कृषिलाई बढाउँछु । विभिन्न बाँझिएर रहेका जग्गालाई सदूपयोग गर्छु । विषादीको प्रयोग कम हुनुपर्छ । माहुरी मासिएको ४ वर्षमा मानिस रहँदैनन् वैज्ञानिकका अनुसार । माहुरीको महत्व त्यत्रो छ । त्यसलाई बुझाउन पनि लागिपरेको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ