- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बुद्ध जन्मिएको देश नेपालले साँच्चिकै विश्वलाई शान्तिको पाठ सिकाएको छ । यतिधेरै जातजातिबीच पनि आपसी भाइचारासँग मिलेर बसेका नेपालीको यो भूमि राष्ट्र संघको दस्तावेजमा नलेखिएपनि अहिलेसम्म पनि शान्ति क्षेत्रकै रुपमा रहेको छ । तर, तत्कालीन राजा वीरेन्द्रले देखेको दस्तावेजमा नै नेपाललाई शान्ति क्षेत्रको रुपमा घोषणा गर्ने सपना भने अझैसम्म पनि पूरा भएको छैन विश्वका शक्तिराष्ट्रहरु मध्ये छिमेकी मुलुक भारतले नमानेको शान्ति क्षेत्रको प्रस्ताव गर्ने व्यक्ति थिए राजा वीरेन्द्र ।
तिनै वीरेन्द्रको आज ७४ औं जन्मदिन हो । नेपालमा राजतन्त्र विस्थापित भएपछि राज परिवारको राम्राकामको समेत प्रशंसा गर्न नसक्ने हाम्रा संकुचित सोचाईका कारण तत्कालीन राजा वीरेन्द्रलाई ठूला राजनीतिक दलले सम्झिएनन् । समग्रमा भन्दा केहीले मात्रै उनलाई सम्झिएर संकुचित स्मरणमा नै उनको जन्मदिन मनाईयो । तर, उनले नेपाललाई दिएको योगदान भने कम प्रशंसनीय छैन ।
राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा २०३१ सालमा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव अघि सारिएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यसम्म आइपुग्दा यो प्रस्तावको विश्वका १ सय ३० राष्ट्रहरूले समर्थन गरेका थिए। अमेरिका लगायतका विश्वका प्रमुख राष्ट्रले मान्यता दिएपछि शान्तिक्षेत्रको प्रस्ताव धेरै महत्व पायो। तर, बाँकी विश्वले मान्यता दिए पनि छिमेकी भारतले आफ्नो नीति अनुकूल नभएको अनुभूत गर्यो र त्यसमा अडिग रह्यो। हाम्रो भूराजनीतिक वास्तविकता र छिमेकी देशको सोचाइसँग बाझ्दा जत्ति नै कूटनीतिक प्रयास गरे पनि त्यो असफल रह्यो। यो प्रस्तावको विरोधमा उत्रिने भारत बाहेक अर्को देश सोभियत संघ थियो।
नेपालको यो प्रस्ताव कुनै देशका विरुद्ध लक्षित नभई नेपालले छुट्टै मान्यता पाउन र छिमेकमा हुने अप्रिय घटनाबाट नेपाल अलग रहन चाहेको हुनाले शान्तिक्षेत्रको प्रस्ताव अगाडि ल्याइएको थियो। पञ्चायतकालमा धेरै महत्वका साथ प्रचार गरिएको यो प्रस्ताव पञ्चायती व्यवस्था ढलेपछि बेवारिसे बन्न पुग्यो। यता मुलुकमा सोही समयको हाराहारीमा राजनीतिक द्वन्द्व बढ्यो। त्यसबेलाको सरकारले जे गरे पनि विरोध नै गर्नुपर्छ भन्ने मान्यताले राजनीतिक पार्टीहरूलाई गाँज्यो। जसले गर्दा शान्तिक्षेत्रको प्रस्तावले बलियो आधार प्राप्त गर्न सकेन। घरभित्रै चर्को विवाद भयो। जसले गर्दा शान्तिक्षेत्रको प्रस्तावले पूर्णता पाएपछि संयुक्त राष्ट्रसंघमा गएर राजाले त्यसको विश्वव्यापी घोषणा गर्ने सोचाइ त्यहीँ गएर अन्त्य भयो। यसरी शान्तिक्षेत्रको प्रस्ताव एक हदसम्म अगाडि बढ्यो र थन्कियो। नेपालको परराष्ट्र सम्बन्धका विभिन्न पाटामा जटीलता हुँदा अहिे पनि यो प्रस्तावको चर्चा हुने गरेको छ।
तिनै स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार राखे। वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्व राजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा फणीराज पाठकलगायत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीको कार्यक्रममा उपस्थिति थियो । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो ।