काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाली चलचित्रमा बदलाव आएको बताएका छन् । उनले भने, 'पछिल्लो समय युवाहरुले चुनौतिपूर्ण किसिमले नयाँ-नयाँ प्रयोग चलचित्रमा गरेको पाइन्छ, नेपाली चलचित्रमा आएको परिवर्तनको सन्देश यहि हो ।' थापाले बुधबार राजधानीमा आयोजीत साइन्स फिक्सन चलचित्र ‘बिजुली मसिन’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त धारणा राखेका हुन् । संसदको कृषि तथा जलश्रोत समितिका सभापति समेत रहेका थापाले उर्जा संकटको विषयलाई ज्वलन्त रुपमा उठाउदै आएका छन् ।
चलचित्र निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियती र आम नेपालीहरुमा देखिएको असहजता तथा अभावको दैनिकीलाई चलचित्रमा कलात्मक ढंगले देखाउने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले युवापुस्ताले नयाँ कथामा चलचित्र निर्माण गरेकोमा खुशी व्यक्त गर्दै चलचित्रको विषय आफ्नाे लागि नौलो भएको बताए ।
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, खेलाडि विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवकेशिल नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।