- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यही शुक्रबारबाट शुरु हुँदैछ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका वाङ यीको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
उनको भ्रमणको मिति नजिक नजिक आउँदा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण कुटनीतिक क्षेत्रमा जति महत्व हुन्छ त्यो भन्दा बढी राजनीतिक रुपमा महत्व रहेको छ ।
नेपालको संघीय संसदबाट अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
कम्युनिष्ट पार्टीकै सहयोगमा एमसीसी पास भएपछि चीनका उच्च अधिकारीहरु उनीहरुप्रति झस्किएका छन् । बलियो कम्युनिष्ट बनाउन चाहेका चिनियाँ अधिकारीहरुले पछिल्लो पटक एमाले र माओवादी केन्द्र विभाजित भएकोमा चित्त दुखाएका छन् । तैपनि नेपालको सरकार सञ्चालन जुन पार्टीले गर्यो त्यसलाई उनीहरुले समर्थन गर्दै आएका छन् ।
एमसीसी संसदबाट अनुमोदन भएपछि चिनियाँ अधिकारीहरुले नेपालका दुई कम्युनिष्ट पार्टी फेरि जोड्ने प्रयासको थालनी गरेका छन् । अहिले उच्च अधिकारीहरुको भ्रमण पनि यसमै केन्द्रीत भएको स्रोतको दाबी छ ।
‘नेपालमा रहेका चिनियाँ जासुसहरुलाई थप परिचालन गर्नु र उनीहरुबाट नेपालका कम्युनिष्ट पार्टीका नेताहरुको धारणाबारे जानकारी लिनु हो’, स्रोतले भन्यो ।
यद्यपि यो भ्रमण नेपाल सरकारकै व्यवस्थापनमा र निमन्त्रणमा भएका कारण अन्य शंका गर्ने ठाउँ छैन । एमसीसी अनुमोदनअघि चिनियाँ अधिकारीहरुले त्यसलाई पास नगराउन हर प्रयास गरेका थिए ।
तर अमेरिकी सरकारको चर्को दबाबका अघि नेपाल सरकार र नेपालका कम्युनिष्ट पार्टीको कुनै जोड नचलेपछि अन्ततः गत फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएरै छाड्यो ।
चिनियाँ पक्षसँग नजिक रहेका नेताहरुले सो विषयमा असन्तुष्ट देखिए पनि नेतृत्व तहले पास गराएपछि नेपालमा रहेका चिनियाँ अधिकारीलाई कम्युनिष्ट पार्टीलाई गोलबन्द गराउने टास्क दिइएको छ ।
‘चिनियाँहरुले पार्टी विभाजन नहोस् भनेर धेरै प्रयास गरेका थिए तर सकेनन् । अहिले भने उनीहरु स्थानीय तहको निर्वाचनअघि वा पछि जसरी भए पनि कम्युनिष्टहरुले कार्यगत एकता र त्यसपछि पार्टी एकता होस् भन्ने अभियानमा लागेका छन् । यो काम निकै मसिनो गरी हुँदैछ’, स्रोतले भन्यो ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितको टोली सोमबारमात्रै चीन गएको छ । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणअघि एमाले उपाध्यक्षको टोली चीन जानुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले पहिलेदेखि नै एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेपछि चिनियाँ पक्षले दूरी बढाएको थियो ।
कुटनीतिक मामिलाका जानकारहरु भने चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नियमित भ्रमणको रुपमा बुझ्नुपर्ने र आपसमा रहेका असमझदारी तथा अविश्वास हटाउने एउटा अवसरका रुपमा लिनुपर्नेमा जोड दिए पनि अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरुको बेमेललाई न्यूनिकरण गर्नु नै प्रमुख उदेश्य रहेको स्रोतको दाबव्ी छ ।
‘नेपाल कम्युनिष्ट पार्टी बलियो हुँदा मात्रै आफ्नो स्वार्थ अनुकुल नेपाललाई प्रयोग गर्न सकिने चिनियाँ बुझाइ रहेको देखिन्छ’, स्रोतले भन्यो ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगै चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सङ ताओ पनि नेपाल आउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य विदेश विभाग प्रमुख समेत रहेका सङले हालै विदेश विभागको प्रमुखको हैसियतमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो वार्ता गरेका थिए ।
नेपाल भ्रमणका क्रममा पनि उनीहरुसँग भेट हुनेछ । चिनिया राजदूत हाउ यान्छीले उनीहरुको भेटघाट तय गरिसकेकी छिन् । ओली र प्रचण्डसँग भेटेर समय व्यवस्थापन गरिसकेकी हुन् ।
राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङलाई सिधै रिपोर्ट गर्न सक्ने भएकाले सङ बेइजिङमा विदेशमन्त्री वाङपछि नेपाल मामिलामा प्रभावशाली नेता मानिन्छन् ।
भ्रमणको क्रममा ७ देखि ९ जना चिनियाँ अधिकारी वाङ नेतृत्वको प्रतिनिधिमण्डलमा नेपालमा आउने छ ।