arrow

यी एजेन्डा छिनोफानो गर्न एमाले बैठक, बहुमत ल्याउने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । 

त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् । 

बैठक भोलिसम्म जारी रहने छ ।  यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो । 

स्थानीय तहको चुनावमा एक्लै पनि बहुमत ल्याउने दाबी 
अध्यक्ष ओलीले सत्ता गठबन्धन र एमाले एकातिर हुँदा पनि स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै आएका छन् । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका बेला ओलीले सो कुरा बताउँदै आएका छन् । 

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गर्दै ओलीले त्यही अनुसार लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

एमालेको सचिवालय बैठक र पोलिटव्यूरो बैठकमा पनि नेताहरुले गठबन्धन भए पनि एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ गरेको र जिल्लाबाट आएका विभिन्न रिपोर्टिङको आधारमा एमालेले गठबन्धन दलहरुभन्दा केही सीट बढी ल्याएर एमाले पहिलो पार्टी बन्ने बताएका हुन् ।

‘गठबन्धन भएन भने एमाले एक्लैलै ५० प्रतिशत भन्दा माथि स्थानीय तहमा जित हासिल गर्नेछ । कांग्रेससहितको गठबन्धन भएमा ४० प्रतिशत जित हासिल हुन्छ’, एमालेको आन्तरिक बैठकहरुमा यस्तो रिपोर्टिङ भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेको अवस्था निकै बलियो भएको रिपोर्टिङ पार्टी कार्यालयमा आएको छ । 

एमालेले माधवकुमार नेपाल लगायतको समूहमा नेताहरु मात्रै गएको कार्यकर्ता खासै नगएका कारण करिब ५ प्रतिशत मात्रै असर गर्ने जनाएको छ । यसको क्षतिपूर्ति निर्वाचनको अघिल्लो दिनसम्म माओवादी, विभाजित भएर गएका पूर्व एमाले कार्यकर्ता र मधेसवादी दलका कार्यकर्तालाई फर्काएर ल्याउने मिसनका साथ एमाले अघि बढेको छ ।

विगतकै विरासत धान्न नेकपा एकीकृत समाजवादी चुनौतीको रूपमा देखिए पनि दिनदिनै पार्टी प्रवेश कार्यक्रम राखेर त्यसको क्षतिपूर्ति भर्नेतर्फ लागेको हो ।  एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान तीव्र रूपमा अघि बढाएको छ । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिष्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । 

विगतको भन्दा यसपटक स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने गरी कांग्रेसले ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारासहित एक महिने अभियान अघि बढाएको छ । 

तर त्यसका लागि एमालेनै मूख्य प्रतिस्पर्धी भएकाले कांग्रेसका लागि चुनौती रहेको छ । माओवादी र माधव नेपालको एस पार्टीले कांग्रेसको साथ नलिइ अघि बढे पनि उनीहरुले एक्लै चुनाव जित्ने अवस्था छैन । 

केही स्थानमा बाहेक माओवादीका लागि सहज अवस्था नभएकाले गठबन्धन अपरिहार्य जस्तै बनेको देखिन्छ । तर सबै दल एक्ला एक्लै चुनावमा गए कांग्रेस र एमाले नै मूख्य प्रतिस्पर्धी दल बन्नेमा एमाले पनि ढुक्क रहेको छ । 

कांग्रेस र एमाले स्थानीय तहको निर्वाचनमा ढुक्क देखिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी भने गठबन्धन नभएमा धरमरको अवस्थामा देखिएका छन् । 

चुनावी अभियान सञ्चालन गरेका दुवै दलले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसबाट सकारात्मक जवाफ पाएका छैनन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती रहेको छ भने एकीकृत समाजवादी नयाँ पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति नहुनेमा सहमत जस्तै छ । 

सत्ता गठबन्धनका शीर्ष नेताहरू चुनावी तालमेल गर्ने पक्षमा रहेता पनि सहमति जुट्न सकिरहेको छैन । सत्ता गठबन्धनबीच ६ महानगरपालिका ११ वटा उपमहानगरपालिमा भने चुनावी तालमेल गर्ने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । 

सत्ता गठबन्धनबीच कुन महानगरपालिका–उपमहानगरपालिका कसले लिने भन्ने विषयमा पार्टीभित्र आन्तरिक गृहकार्य शुरू भएको छ । तर एमालेले सबै प्रकारका रणनीतिलाई अबलम्बन गरेर भए पनि स्थानीय तहको निर्वाचनमा ठूलो दल बन्ने अभियानमा जुटेको छ । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो । २०७४ सालमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो बनेका थिए । 

एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो । 

त्यस्तै, १ सय ७१ गाउँपालिकाको अध्यक्ष जितेको थियो । स्थानीय तहमध्ये ३ सय ३१ ठाउँमा उपाध्यक्ष जितेको एमालेले त्यति बेला प्रमुखको तुलनामा ३७ ठाउँमा उपप्रमुख बढी जितेको थियो । 

एमालेले २ हजार ५ सय ६० वडामा वडाध्यक्ष जितेको थियो । अहिले पनि सो भन्दा बढी निर्वाचन जित्ने अभियानमा एमाले लागेको छ । 

आजदेखि शुरु हुने एमाले केन्द्रीय कमिटीको बैठकमा पनि एमाले स्थानीय तहको निर्वाचन केन्द्रीत विषयहरुमा छलफल गर्ने भएको छ ।

एमालेको आन्तरिक रिपोर्टिङः गठबन्धन नभए ५० र कांग्रेसको गठबन्धन भए ४० प्रतिशत जित पक्का 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ