पोखरा । पोखराको फेवातालमा सोमबार साँझ डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जनाको शव चार दिनपछि भेटिएको छ । डुङ्गा पल्टिएकै दिनदेखि बेपत्ताको खोजी गरिएपनि विहीबार बिहान उनीहरूको शव भेटिएको हो ।
डुङ्गा पल्टिएर वेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
प्रहरी, सशस्त्र प्रहरी र माझीको टोली विहीबार पनि डुङ्गा पल्टिएको भन्दा दक्षिणी क्षेत्रलाई केन्द्रीत गरेर शव खोजिरहेको थियो ।
डुङ्गा दुर्घटना भएको भन्दा करीब ३ सय मिटर दक्षिणमा केसीको शव भेटिएको थियो । त्यसको करीब आधा घण्टापछि प्रतिक श्रेष्ठको शव पनि पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो ।
मृतक दुबैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकका आफन्त यसअघि नै पोखरा पुगिसेका छन् ।
सोमबार सो डुङ्गा पल्टिदा अन्य ६ जनाको भने सकुशल उद्धार गरिएको थियो ।