काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सोचेजसरी सजिलै समाधान हुने देखिएको छैन । प्रतिनिधि विवाद समाधान भए पनि को को प्रतिनिधि छान्ने भनी अहिलेसम्म निक्र्योल हुन नसक्दा बिहान ९ बजे वितरण गर्ने भनिएको परिचयन पत्र नै तयार हुन सकेको छैन । स्रोत भन्छ –नामावलीको कुरा नै मिलेको छैन, पहिले जुन अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ ।
महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोति भण्डारीले नाम टाइप हुँदै गरेकाले परिचयपत्र वितरण गर्न केही घण्टा ढिलाई हुने बताए । अहिलेसम्म नाम नै फाइनल नभएको अवस्थामा परिचयपत्र तत्काल बन्ने सम्भावना देखिंदैन । ९ बजेदेखि नै परिचयपत्र पार्टी मुख्यालय सानेपाबाट बाँडिने जनाइएको थियो ।
प्रतिनिधिका नाम निश्चित हुन नसकेका अवस्थामा दिउँसो २ बजेदेखि हुने भनिएको बन्दसत्र एकादेशको कथाजस्तै भएको छ । गत आइतबार सुरु भएको महाधिवेशनमा अहिलेसम्म बन्दसत्र नै सुरु हुन सकेको छैन ।
नयाँ नतेृत्वको चयनका लागि साउन २९ गते निर्वाचन गर्ने तयारी गरिएको छ । तर त्यो तयारीअनुसार काम भने हुन सकेको छैन । विवाद समाधान भएसँगै बुधबार साँझ बसेको नेविसंघ निर्वाचन समितिको बैठकले मोटामोटी रूपमा यस्तो कार्यतालिका बनाएको समिति सदस्य अरूण कुमार पंञ्जियारले बताए ।
निर्वाचन समितिले बनाएको मोटामोटी निर्वाचन कार्यतालिका अनुसार विहीबार साँझ ५ बजे मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गर्ने, सम्भव भएसम्म सोही दिन र नभए भोलिपल्ट अर्थात् शुक्रबार मतदाताहरूको नामावलीमाथि दावी विरोध गर्ने कार्यतालिका छ ।
त्यसपछि शुक्रबार नै उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेर २९ गते शनिबार निर्वाचन गर्ने मोटामोटी कार्यतालिका तय भएकोसमेत पञ्जियारले जानकारी दिए ।
उनका अनुसार हालसम्म निर्वाचन समितिलाई जम्मा ६३ जिल्लाको मात्रै मतदाताको नामावली प्राप्त भएको छ । बाँकी मतदाताको विषयमा सहमति भएपछि विहिबार नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।
डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष भरत खरेलको संयोजकत्वमा बनेको निर्वाचन समितिमा महासचिवद्वय मेघराज पोखरेल र अरूणकुमार पञ्जियार, नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य कृष्ण प्रसाद पनेरू र अधिवक्ता तेज रावल सदस्य छन् ।