काठमाडौं । सहमति भाँड्न खोजिएपछि नेविसंघको बन्द सत्र थप अन्योलमा परेको छ । माउ पार्टी कांग्रेसको पार्टी कार्यालयमा हुने भनिएको बन्द सत्र आन्तरिक समस्याका कारण सुरु हुन सकेको छैन । नेविसंघको प्रतिनिधि विवाद फेरि बल्झिएपछि बन्द सत्र अन्योलमा परेको हो ।
नेविसंघकै एक नेताका अनुसार अध्यक्ष रञ्जित कर्णले सोमबार मात्रै गरेको सहमति बाँड्ने प्रयत्न गरेका छन् ।
कर्णले विवादित ११ जिल्लाको विवाद मिलाउने क्रममा गरेको सहमति र बनेकाे फाइल चलाई जिल्ला र क्याम्पसबाट निर्वाचित भएकाहरुको समेत नाम काट्ने काम गरेको ती नेताले बताएका छन् । उनका अनुसार कुन्दन काफ्ले पक्षधरका प्रतिनिधिको नाम काट्ने काम भएपछि विवाद बल्झिएको हो ।
आफैले गरेको भद्र सहमति उल्लंघन गरेको भन्दै नेविसंघको नयाँ नेतृत्वका आकांक्षीहरु आक्रोशित भएका छन् । विहिबार दिउँसो २ बजे सम्म नामावली प्रकाशन गर्ने तयारी रहेपनि विवाद बल्झिएपछि बन्द सत्र अन्योलमा परेको छ । नेतृत्वले सभाहलका कारण बन्द सत्रमा अलमल भएको बताए पनि हलका कारण नभई आन्तरिक समस्याका कारण समयमा सुरु हुन नसकेको बताइएको छ ।
पार्टी केन्द्रीय समितिले प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको केन्द्रीय निर्देशन समितिले वुधबार मात्रै प्रतिनिधिको विवाद सुल्झिएको भन्दै निर्वाचन समिति गठन र अनसन बसेका विद्यार्थीसंग पाँच बुले लिखित प्रतिवद्धता गरेको थियो । जस अनुसार आज विहान ९ बजे भित्र परिचयपत्र वितरण र दिउँसो नामावली प्रकाशन गर्ने तयारी भएको थियो ।