काँग्रेस केन्द्रीय समिति बैठक आज सकिने, निर्णय भोलि आउने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
611
Shares
फाइल तस्बिर
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए।
स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रवार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ।
आजको बैठकमा पदाधिकारीले धारणा राख्दै छन् । काँग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा काँग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।
गत शुक्रवारदेखि सुरु भएको बैठक आज सकिने सम्भावना रहेको रिजालले बताए । उनका अनुसार पदाधिकारीले धारणा राख्ने क्रम सकिए बैठक आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने भोलि (मङ्गलवार) मात्रै सार्वजनिक हुनेछ । बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए ।