arrow

धान खेती छाडेर ड्रयागन फ्रुटको व्यावसायिक खेती 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ चैत १५ मंगलबार
bhawana-adhikar-dragon.jpg

झापा । झापाका किसानहरू यहाँको मुख्य बाली धान खेतीलाई छोडेर आधुनिक र अर्ग्यानिक खेती तर्फ आकर्षित भएका छन् । यस्तै एक उदाहरणको रूपमा झापाकी एक महिला उद्यमी भावना अधिकारीले कृषि क्रान्तिको रूपमा, धान खेती छाडेर ड्रयागन फ्रुटदेखि माछा पालन व्यवसायमा लागेकी छन् । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाट नजिकै पूर्वपश्चिम राजमार्गको करिब ५० मिटर उत्तर दिशामा यतिबेला झण्डै ३ बिगाहा जमिनमा उनले सुरु गरेको ड्रयागन फ्रुटको खेती देख्न सकिन्छ । १३ महिना अघिसम्म कहिले धान खेती त कहिले बाँझै रहने उक्त खेतमा हाल हाइब्रिड सी भेराइटीको ड्रयागन फ्रुट कतै फुलिरहेको देख्न सकिन्छ भने कतै हुर्कँदै गरेका बिरुवाहरू देखिन्छन् ।

झण्डै ३ बिगाहा क्षेत्रफलमा रहेको खेतीमा झट्ट हेर्दा ड्रयागन फ्रुट मात्रै देखिए पनि त्यहाँ पुगिसकेपछि विभिन्न प्रजातिका माछा सहितको पाँच वटा माछा पोखरी, कुखुरा ,हाँस, बट्टाई , बाख्रा पालन समेत गरिएको देखिन्छ भने ड्रयागन फ्रुट सँगै मेवा र खरबुजाको खेती समेत गरिएको छ ।

आधुनिक र अर्ग्यानिक समेत रहेको यो खेती मेचीनगर १० की भावना अधिकारीले सञ्चालन गरेकी हुन । उनले “प्याराडाइज एग्रोफार्म” नामको कृषि फार्म दर्ता गरेर शुरु गरेको यो व्यावसायिक खेतीमा हाल दैनिक पाँच जनाले रोजगारी समेत पाएको छ, भने सिजनमा धेरैले उक्त फर्ममा रोजगारी पाइरहेका छन्।

झट्ट हेर्दा रहरलाग्दो अर्ग्यानिक तथा मिठो फल ड्रयागन फ्रुटसहित माछा, बाख्रा , कुखुरा ,हाँस र बट्टाई पालन गरिरहेकी उनले हालसम्म उक्त फर्ममा १ करोड २० लाख रुपैयाँ लगानी भैसकेको बताइन् । निकट भविष्यमै उक्त स्थानमा गाई पालन देखि एग्रो टुरिजमको रूपमा विकास गर्ने समेत उद्देश्य रहेको फार्मकी सञ्चालक भावना बताउँछिन् ।

भारतको हैदरावाददेखि बिरुवा मगाएर शुरुवात गरिएको यो खेतीमा केही समयपछि आफैँ बिरुवा उत्पादन गरिने समेत भावनाले बताइन् । नेपाल कृषि प्रधान देश भएकाले वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै सम्भावना रहेको र अबको युवा पुस्ताले देशमै कृषि क्रान्ति गर्न सक्ने उनको बुझाई छ ।

भावनाका अनुसार फूल फुलेको ३० देखि ३५ दिनभित्र फल पाकेर खानको लागि योग्य हुने र यो फल टिपेर राख्दा १०- १५ दिन सम्म नबिग्रिने हुन्छ । गर्मी स्थानमा बढी हुने यो फल वैशाख अन्तिम देखि असोज अन्तिमसम्म फल दिने र वर्षमा चार लट सम्म फल्ने गर्दछ । यस फलमा फुल फुल्ने, कोपिला लाग्ने र फल फल्ने क्रम एक साथ चलिरहन्छ ।

ड्रयागन फ्रुट रोपेको २२-२५ वर्षसम्म उत्पादन लिन सकिने भएको कारण सुरुवातमा केही कठिनाइ भए पनि फल दिन थालेपछि खासै मेहनत गर्न नपर्ने भावना बताउँछिन् । हाल यो खेतीमा सेतो र रातो प्रजातिको हाइव्रिड सी भेराइटिको ड्रयागन फ्रुट रहेको र प्रति केजी रु ६०० देखि ८०० सम्ममा बिक्री वितरण हुने भावनाले बताइन् ।

एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइ बाहेक अन्य गोडमेल गर्नु नपर्ने र लामो समय सम्म फल दिने हुनाले अन्न खेतिवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने उनी बताउँछिन् । ड्रयागन फ्रुटको सुकेको फूललाई ‘ग्रिन टी’को रूपमा समेत प्रयोग गर्न सकिने र यसको बिरुवा पनि गुणकारी हुने विज्ञहरू बताउँछिन् ।

‘ड्रयागन फ्रुट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टिअक्सिडेन्ट युक्त यो फल नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउने गरेका छन् । हाल ड्रयागन फ्रुटको बिरुवा प्रति गोटा रु ४०० देखि ५०० रुपैयाँ सम्ममा बेच्ने समेत गरेको बताउँदै अब आफैँ बिरुवा उत्पादन शुरु गर्ने र अझ सस्तोमा बिरुवा पाइने उनले बताइन् ।

पछिल्लो समय नेपालमा सफल व्यवसायका रूपमा अघि बढेकोले धेरैले ड्रयागन फ्रुट फलको बारेमा जान्ने इच्छा राख्न थालेको भावना बताउँछिन् । विशेषज्ञहरूका अनुसार ड्रयागन फ्रुट विशेष गरी सुगर र कोलेस्ट्रोलका बिरामीहरूका लागि अति उपयुक्त मानिन्छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइने भएकोले सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ । यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरूलाई धेरै लाभदायक छ । त्यति मात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।

यो फलको सेवनले शरीरको तौललाई सन्तुलन राख्न मद्दत गर्छ । यसले मानिसलाई सधैँ जवान राख्न भूमिका खेल्ने र बुढो हुने प्रक्रिया पनि ढिलो गराउँछ । यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो ।



नयाँ