arrow

प्रधानमन्त्री देउवालाई ‘विशेष मित्र’ भन्दै भारतमा भव्य स्वागत [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
pm-deuba-india.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतमा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री भएपछि एवं नेपाली कांग्रेसको सभापति भएपछि पहिलो पटक भारत भ्रमणमा गएका देउवालाई स्वागतका लागि केही दिनदेखि नै भारत सरकारले तयारी गरेको थियो । 

विभिन्न स्थानमा प्रधानमन्त्री देउवाको तस्बिर समेटेर स्वागत देखिएका ब्यानर, तुल, होडिङ बोर्ड, पम्प्लेट टाँसिएको छ । पत्रिकाहरुमा विज्ञापनसमेत छापिएको छ । तीन दिने औपचारिक भ्रमणका शिलशिलामा देउवा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउँसो भारत गएका हुन् । 

औपचारिक भ्रमणको सिलसिलामा अपरान्ह नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवालाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ‘भारतको एक विशेष मित्र’ भएको बताएका छन् । 

उनले स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै सो सम्बोधन गरेका हुन् । ‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडियो ट्वीटरमा राखी बागचीले लेखेका छन् । 

@MEAIndia ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो दुई पक्षीय विदेश भ्रमण भएकोसमेत उल्लेख गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् । देउवासँग स्थानीय समय अनुसार अपरान्ह ४ः३० बजे भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गरेका छन् । 

त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । 

त्यस्तै साँझ भारतका लागि नेपालका राजदूत  शङ्करप्रसाद शर्माले दिल्लीस्थित नेपाली दूतावासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । 

शनिबार भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । 

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ