arrow

नवलपुरमा गठबन्धनले एमाले अप्ठेरोमा, साना दलसँग एकता प्रयास

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ चैत २४ बिहिबार
gathabandan-nawalpur1.jpg

कावासोती । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी घोषणापत्रको तयारीमा जुटेका छन् । चुनावी कार्यक्रममा नेताहरुको दौडधूप त छँदैछ । राजनीतिक दलहरु २०७४ मा निर्वाचित भएका क्षेत्रहरु जोगाउने र पराजित भएका स्थानीय तहमा विजय हासिल गर्ने ध्याउन्नमा छन् । सत्ता गठबन्धनमा आवद्ध रहेका दलहरु चुनावी गठबन्धन कायम राखेर जित निश्चित गर्ने योजनामा छन् ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । यसले शंका र राजनीतिक तरंग दुवै सिर्जना गरेको छ । कतिपयले यसलाई कम्युनिष्ट गठबन्धन रोक्ने षडयन्त्र मात्र भनेका छन् ।

सबै स्थानमा भने चुनावी तालमेल गर्न नहुने सत्ता गठबन्धनका दलका नेताहरुकै धारणाअनुसार कांग्रेसको यस्तो निर्णय सार्वजनिक भएको हो । उता, प्रतिपक्ष नेकपा एमालेका नेताहरु सत्ता गठबन्धनसहित अन्य दलहरु एक भएर आए पनि आफूहरु विजयी हुने चुनौती प्रस्तुत गरिरहेका छन् ।

यस्तोमा ४ नगरपलिका र ४ गाउँपालिका रहेको नवलपुर जिल्लाका स्थानीय तहमा आफ्नो अवस्था कस्तो छ भनेर दलहरु जोडघटाउमा छन् ।

यस्तो छ अघिल्लो निर्वाचनको अवस्था

गैंडाकोट नगरपालिका
गैंडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका छत्रराज पौडेलले ११३०२ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका गजेन्द्रबहादुर आलेले ११,०७८ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकी विष्णुकुमारी कंडेलले ११५५५ मत पाएर विजयी हुँदा नेकपा एमालेकी राधा पौडेल १०,४५६ मतका साथ उपविजेता बनेकी थिइन् । १८ वडा रहेको गैंडाकोट नगरपालिकामा ९ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा एमाले र १ वटा वडाध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जितेका थिए ।

देवचुली नगरपालिका
देवचुली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पुर्णकुमार श्रेष्ठले ८,५७९ मत पाएर विजयी हुँदा निकटम प्रतिद्वन्दी नेकपा एमालेका हरिप्रसाद न्यौपानेले ८,५१० मत पाएका थिए । उपप्रमुखमा नेकपा एमालेकी पार्वता तिवारीले ८,७५१ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसकी लक्ष्मी बस्ताकोटी ८,३९२ मतका साथ उपविजेता बनेकी थिइन् । 

१७ वडा रहेको देवचुली नगरपालिकामा १० वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ६ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

कावासोती नगरपालिका
कावासोती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी चन्द्रकुमारी पुन १३,०४१ मत पाएर विजयी हुँदा निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२,५९४ मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालकै प्रेमशंकर मर्दनियाले १३,८१४ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसकी खगिसरा गुरुङ ११,६९३ मतका साथ साथ उपविजेता बनेकी थिइन् । 

१७ वडा रहेको कावासोती नगरपालिकामा ८ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर रानाले १०,९९७ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भीमलाल अधिकारीले १०,०६४ मत पाएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकै ओमकुमारी महतोले १०,८३५ मत पाएर विजयी हुँँदा नेकपा एमालेकी जोगमाया महतो १०,०३३ मतका साथ उपविजेता बनेकी थिइन् । 

१५ वडा रहेको मध्यविन्दु नगरपालिकामा १० वटा वडानेपाली कांग्रेस र ५ वटा वडाएमाले उम्मेदवारले जितेका थिए ।

बुलिङटार गाउँपालिका
बुलिङटार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीले ४,६९८ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका विद्रोही गिरीले २, ४८२ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मैना कामी ४,६६२ मत पाएर विजयी हुँदा एमालेकी पार्वती थापा २,५४७ मतका साथ उपविजेता बनेकी थिइन् । ६ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको ६ वटै वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

बौदीकाली गाउँपालिका
बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर रानाले ३,१९१ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका श्यामसुन्दर श्रेष्ठले ३,०३९ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मायादेवी श्रेष्ठ ३१७३ मत पाएर विजयी हुँदा नेकपा एमालेकी डिलकुमारी केसी सारु ३,०१० मतका साथ उपविजेता बनेकी थिइन् । ६ वटा वडा रहेको बौदीकाली गाउँपालिकामा ३ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

हुप्सेकोट गाउँपालिका
हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मीदेवी पाण्डेले ४,५९२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेकबहादुर पुलामी मगरले ४,३५८ मत पाएका पाएका थिए भने उपाध्यक्षमा नेकपा एमालेकी स्वतन्त्र कोपिला मल्ल ४,४६८ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका ओमबहादुर घर्ती ४,४१३ मतका साथ उपविजेता बनेका थिए । 

६ वटा रहेको हुप्सेकोट गाउँपालिकामा ४ वटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका र २ वटा वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

विनयी त्रिवेणी गाउँपालिका
विनयी त्रिवेणी गाउँपालिका नेपाली कांग्रेसका डम्बरबहादुर जिसीले ६,९०९ मत पाएर विजयी हुँदा निकटम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डेले ५, ३५० मत पाएका थिए 

उपाध्यक्षमा नेपाली कांग्रेसकी मिनाकुमारी राना ६,८९६ मत पाएर विजयी हुँदा एमालेकी ताराकुमारी बिक मतका साथ उपविजेता बनेकी थिइन् । ७ वटा वडा रहेको विनयी त्रिवेणी गाउँपालिकामा ६ वटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका र १ वटा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

कुल ९२ वटा वडा रहेको नवलपुरमा गत स्थानीय निर्वाचनमा ५६ वटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेस, ३३ वटा वडाको वडाध्यक्षमा नेकपा एमाले, २ वटा वडाको वडाध्यक्षमा नेकपा माओवादी केन्द्र र १ वटा वडामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका थिए ।

अब के होला ?
कांग्रेस, माओवादी, एकीकृत समाजवादी , जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एक भएर निर्वाचनमा होमिएमा अघिल्लो निर्वाचनको नतिजा जोगाउन गाह्रो हुने एमालेका एक नेता स्वीकार गर्छन् ।“हाम्रो अवस्था जे भए पनि पाँचवटा एकैतिर भएर आउँदा अघिल्लो निर्वाचनको नतिजा जोगाउन गाह्रै छ नि !” ती नेता भन्छन् ।

तर एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डले भने अन्य दलको गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए । उनले भने, “यो गठबन्धनलाई हामीले अप्राकृतिक गठन्धन भनेका छौं, अहिले नीति, विचार, कार्यक्रम, सिद्धान्त नमिल्ने पार्टीहरुको बीचमा बनेको गठबन्धन निश्चित स्वार्थ सिद्धिका लागि बनेको हुँदा  गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्छ ।”

गठबन्धनसँग एक्लै चुनाव लड्ने बताइरहँदा पाण्डेले स्थानीय तहको आवश्यकतामा केही साना दलसँग तालमेल हुन सक्नेतर्फ संकेत गरेका छन् । केही साना दलहरुसँग स्थानिय तहमा औपचारिक अनौपचारिक छलफल शुरु भएको पाण्डेले बताए ।

पार्टी फुटको असर जिल्लामा नभएको बताएका पाण्डेले पार्टी छोड्ने न्यून संख्यामा रहेका र त्यसले निर्वाचनमा असर नपार्ने जिकिर गरे ।                                                                 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ