काठमाडौं। गत २४ गते युनिलिभरको व्यवस्थापकका तर्फबाट ‘युनिलिभरको हेटौडास्थित कारखानामा तालाबन्दी कायमै, कम्पनीको व्यवस्थापनद्वारा स्पष्टीकरण’ नामक शीर्षकमा एउटा विज्ञप्ती आयो। यसरी छापिएको विज्ञप्तीमा 'व्यवस्थापनले वार्ताका माध्यमबाट समस्या समाधान गर्न र बाध्य तुल्याउने रणनीति छाड्न कामदारका नेताहरुलाई पटक–पटक अपिल गरेको भएपनि युनियनका नेताहरुले अनुचित दबाबको रणनीति कायमै राखेर व्यवस्थापनलाई दैनिक कार्यसञ्चालन गरिरहन असम्भव बनाएको' आरोप लगाईएको छ।
उसले निकालेको विज्ञप्ती र उसले त्यसभन्दा अघि गरेको सम्झौतालाई एकैठाउँमा राखेर हेर्ने हो भने यहाँ एउटा बहुराष्ट्रिय कम्पनीले कामदारको नाममा गरेको अर्को बदमासी सावित भएको देखिन्छ। युनिलिभरले विज्ञप्ती निकाल्नु भन्दा एक दिन अगाडि मात्रै कम्पनीले स्थानीय प्रशासन, श्रम कार्यालय, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतको रोहबरमा कामदारहरूसँग तीनबुँदे सहमति गरेको थियो। सहमतिपत्रमा व्यवस्थापनको तर्फबाट पनि तत्काल उद्योग खोल्ने र कामदारको तर्फबाट पनि दुई वर्षसम्म बन्द हड्ताल जस्ता गतिविधि नगर्ने सहमति भएको थियो।
तर, व्यवस्थापन आफैंले कम्पनी बन्द गरेको हिन्दूस्तान लिभरको बैठकको लागि भन्दै भारत गएको टोली आजसम्म पनि फर्किएका छैनन्। जसले गर्दा बन्द उद्योग बाहिर दिनभरी कुरेर गेटबाट नै बेलुकी फकिनुपर्ने स्थिती सिर्जना भएको कर्मचारीहरू बताउँछन्। उनीहरू सहमति तोड्नकै लागि हो भने सहमतिको औचित्य के ? भन्दै प्रतिप्रश्न गर्छन्।
युनिलिभरले जारी गरेको विज्ञप्तीमा स्पष्टसँग भनिएको छ ‘औद्योगीक सम्बन्धका मुद्दाहरुका कारण गत असार २६ गतेदेखि उद्योगको सामान्य काम कारबाहीमा गम्भीर रुपमा अवरोध सिर्जना भइरहेको छ। परिणाम स्वरुप युनिलिभरद्वारा उत्पादित दैनिक उपभोग्य सामानहरु ट्रेडको लागिपठाउने कार्य नराम्रोसँग प्रभावित भएको छ।’
तर, उनीहरूबीच भएको
सहमतिको पत्रको तेस्रो बुँदामा विद्यमान अवरोध हटाउँदै कम्पनी पूर्ण रूपमा सूचारु राख्ने र दशौं सामुहिक सौदाबाजी भएको सहमतिको मितिदेखि २ वर्षसम्म कामदारहरूले कुनैपनि थप माग राखी बन्द हड्ताल जस्ता कम्पनी सञ्चालनमा अवरोध हुने काम गर्न नपाउने उल्लेख गरेको छ। तर यस्तो सम्झौता भएकै भोलिपल्ट कम्पनी आफै तालाबन्दीमा उत्रिएपछि भने कामदारहरू समेत आश्चर्यमा परेका छन्। सम्झौता पत्रमा हस्ताक्षर गर्ने मध्येका एक रविबाबु मल्लले कामदारहरू कम्पनीको अहितमा कहिलैपनि नरहेको भन्दै अहिले कम्पनी बन्द भएकोमा कामदारहरूको कुनै हात नरहेको बताउँछन्।
तर युनिलिभरका सुरक्षा व्यवस्थापक गोविन्द अधिकारीलाई सम्झौता भएपछि यस विषयमा कुराकानी गर्दा मजदूर आन्दोलनको कारण आफ्नो कम्पनी बन्द रहेको जानकारी दिए। तर कसले गर्दा यो बन्द भएको हो भन्ने प्रश्नमा भने उनले लिखित प्रश्नको माग गरे। असहले उनीसँगै सिंगो व्यवस्थापनको टीम भारतमा बैठककको लागि भन्दै गएको छ। तर अहिलेसम्म पनि कम्पनी खुलेको छैन। आफैंले तादलाबन्दी गरेर हिँडेपछि कर्मचारीहरू भने आएर दिनभरी बाहिर बसेर घर फर्किने गरेको बताउँछन्।