arrow

नवलपुरमा गठबन्धनले तत्काल उम्मेदवारी घोषणा नगर्ने

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ चैत २८ सोमबार
gathabandha-five-parties (1).jpg

नवलपुर । नवलपुरमा पाँच दलीय गठबन्धनले तत्काल उम्मेदवारी घोषणा नगर्ने भएका छन् । आइतबार कावासोतीमा बसेको पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय बैठकले दलहरुले उम्मेदवारको आन्तरिक तयारी गरे पनि उम्मेदवारको विषयमा तत्काल निर्णय र घोषणा नगर्ने निर्णय गरेको हो ।

कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले गठबन्धनलाई वडा तहसम्म सक्रिय बनाउनका लागि चैत २९ गतेभित्र वडा तहसम्म गठबन्धनको बैठक बसी वडा स्तरको सहकार्यको आधार र खाका, गठबन्धनका दलहरु र विपक्षी दलको अवस्था विश्लेषण गरी पालिका स्तरीय संयन्त्रलाई बुझाउन गठबन्धनका वडा स्तरका सांगठनिक संरचनालाई परिपत्र गर्ने निर्णय गरेको हो । 

त्यस्तै पालिकाहरुको प्रमुख र उपप्रमुखको हकमा पालिका स्तरीय संयन्त्रले आवश्यक निर्णय गरेर जिल्ला संयन्त्रलाई सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गठबन्धनमा आबद्ध दलहरुले कार्यकर्ताहरुलाई गठबन्धनविरुद्ध अभिव्यक्ति नदिन र गठबन्धन बाहेकका दलहरुसँग सहकार्य नगर्न कार्यकर्ताहरुलाई निर्देशन दिनेसमेत निर्णय गरेको हो ।

बैठकमा कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्र नवलपुरका संयोजक धनप्रसाद सापकोटा , एकीकृत समाजवादी नवलपुरका अध्यक्ष शालिकराम भट्टराई, जसपा नवलपुरका अध्यक्ष धनबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दीपक पाण्डेको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ