- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। स्थानीय तहबाट उम्मेदवार सिफारिसको काम सिद्ध्याएर घोषणापत्र निर्माणमा लागेको एमालेले महानगपालिका, उपमहानगरपालिका र नगरपालिकामा सकेसम्म विवादरहित छनोट गर्ने तयारीमा लागेको छ । विगतको मत परिणाम र प्रतिस्पर्धी नेपाली कांग्रेसका सम्भावित उम्मेदवारहरूलाई हेरेर मात्रै आफ्ना उम्मेदवारहरू तय गर्ने भएको हो ।
हाल एमालेले काठमाडौँ महानगरपालिकासहित ६ वटा महानरपालिका र ११ वटा उपमहानगरपालिकाको उम्मेदवार सिफारिसको काम सिध्याएको छ । स्थानीय तहमध्ये महानगरपालिका र उपमहानगरपालिकाको सिफारिस टुङ्ग्याएपछि उम्मेदवार टुङ्गो लगाउने जिम्मेवारी भने केन्द्रलाई परेको छ ।
उम्मेदवार दर्ताको काम चार दिनपछि हुने भएकाले (वैशाख ११ र १२ गते) एमालेले सबै स्थानीय तहमा आफ्नो उपस्थिति जनाउने मात्र होइन सशक्त प्रतिस्पर्धी रहेकोसमेत जनाएको छ । सत्तारुढ दलहरूले अझै पनि गठबन्धनको तर्फबाट साझा उम्मेदवार नदिएको अवस्थामा एमालेका लागि चुनाव प्रचार प्रसार गर्ने एकल अवसर पनि जुटेको छ ।
एमालले काठमाडौँ महानगरपालिकाको मेयरमा सङ्घीय सांसद रामवीर मानन्धर, हालका मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तलाई सिफारिस गरेको छ । त्यसै गरी उपमेयरमा सांसद रत्ना गुरुङ, पेम्बा लामा, मिना काफ्लेलाई सिफारिस गरेको छ ।
त्यसै गरी ललितपुर महानगर मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई सिफारिस गरेको छ । त्यसै गरी पोखरा महानगरको मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मिनाकुमारी गुरुङ, पुष्पज्योति ढुङ्गाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारीलाई सिफारिस गरेको छ ।
पोखराको मेयर चयनमा निकै पेचिलो बन्ने अवस्था आएको छ । त्यसै गरी उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुङ्गानालाई सिफारिस गरिएको छ।
चितवन महानगरको मेयरमा विजय सुवेदी, उपमेयर भने टुङ्गिन बाँकी रहेको छ । वीरगन्ज महानगरको मेयरमा जसपाबाट भर्खरै प्रवेश गरेका वर्तमान मेयर विजय सरावगीको सिफारिस भएको छ भने उपमेयर टुङ्गिन बाँकी रहेको छ । विराटनगर महानगरको मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको सिफारिस भएको छ । उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अन्जु उपाध्याय ‘शिला’ सिफारिस भएकी छिन् ।
काठमाडौँ महानगरमा विगत यस्तो थियो
विगतमा पनि यस्तै गठबन्धन र अन्यौलकाबीचमा स्थानीय तहको निर्वाचन हुँदा एमाले सबैभन्दा ठुलो दल भएको थियो । २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।
पहिलो चरण अन्तर्गत वैशाख ३१ गते बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा निर्वाचन भएको थियो। त्यस्तै, दोस्रो चरण अन्तर्गत असार १४ गते प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएको थियो।
तेस्रो चरण अन्तर्गत असोज २ गते मधेस प्रदेशमा निर्वाचन भएको थियो । त्यस बेला एमालेले पहिलो स्थान हासिल गरेको थियो । त्यति बेला एमालेले दुई, काँग्रेसले दुई, नेकपा माओवादी केन्द्रले एक, सङ्घीय समाजवादी फोरमले एक महानगरपालिकामा प्रमुख जितेका थिए ।
एमालेले काठमाडौँ र पोखरा, काँग्रेसले ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र सङ्घीय समाजवादी फोरमले वीरगञ्जज महानगरपालिकामा प्रमुख जितेका थिए । त्यति बेलाको अवस्था र अहिलेको अवस्थामा केही परिवर्तन भए पनि अहिले पनि गठबन्धन दल र एमालेबीच कडा प्रतिस्पर्धा हुने अवस्था आएको छ ।
त्यति बेला काठमाडौँ महानगरपालिकामा एमाले र राप्रपाको गठबन्धन बनेको थियो । एमालेले प्रमुख र राप्रपाले उपप्रमुख लिएर गठबन्धन गरेका थिए । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले जितेका थिए ।
शाक्य ६४ हजार ९१३ मत सहित विजयी भएका थिए । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ सहित विजयी भएकी थिइन् ।
उनका निकटतम प्रत्याशी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए ।