arrow

दाङका पाँच  मतदानस्थल अतिसंवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
local-level-election-everytime1.jpg

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि दाङमा चार लाख नौ हजार ९०२ मतदाता कायम भएको छ ।  प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ । निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले तयारीलाई तीव्र पारेको छ ।

सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी मतदानस्थलको अवलोकन तथा वर्गीकरण गरिसकेको छ । यसपटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा  १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । 

उनका अनुसार तीमध्ये १३६ मतदानस्थल संवेदनशील, पाँच अतिसंवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य रुपमा वर्गीकरण गरिएको छ ।  निर्वाचनलाई दृष्टिगत गरी  प्रदेशस्तरीय तालिम तथा छलफल भइसकेको र अब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएपछि निर्वाचनमा परिचालन हुने कर्मचारी, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ ।  

मतदानलाई निष्पक्ष भयरहित बनाउन सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । त्यस्तै केही दिनमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीहरुसँग आचारसंहिताका विषयमा छलफल गरिने कार्यालयले जनाएको छ । 

हालसम्म निर्वाचनमा आवश्यक पर्ने मतपेटिका तयारी अवस्थामा राखिसकेको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्राविधिकलाई तालिम दिइसकेको छ । जिल्लामा आगामी वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलेपछि थप तयारीलाई तीव्र पारिने निर्वाचन अधिकारी भण्डारीको भनाइ छ । 

यता दलहरुलाई उम्मेदवारी चयनमा भने सकस परेको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको  जिल्लामा  पाँच दलीय गठबन्धनले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ