arrow

ठेकेदार सामु सरकार निरीह

अधकल्चो बनेको चौराहा–गोलपार्क ६ लेन सडक ‘ङिच्च’

logo
नारायण वली,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
20220412_235111.jpg

रुपन्देही । यतिबेला स्थानीय तहको पञ्च वर्षे कार्यकाल सकिनै लागेको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै चुनावी माहोल पनि तातिदै गएको छ । तर बुटवलको ‘अधकल्चो’ बनेको चौराहा–गोलपार्क ६ लेन सडकको निर्माणकार्य सम्पन्न गर्नका लागि कुन पार्टीले चासो देखाउँछ भन्ने विषय केन्द्रित भएको छ ।

६ लेन सडक विस्तारका लागि २०७३ साल चैत १७ गते ठेक्का सम्झौता भएको र पहिलो सम्झौता गर्दा २०७६ साल असोज १२ गते सम्पन्न गर्नुपर्ने ठेक्का पत्रमा उल्लेख गरिएको पाइएको छ । पत्रमा भ्याट र पीएससमेत उल्लेख गर्दै कुल ४७ करोड, २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ ५० पैंसा लागत देखाइएको छ । 

शुरुमा सडक विस्तारको काम अगाडि बढ्दा घरधनीहरुले मुद्दा हाले । सडक क्षेत्राधिकारमा परेका भौतिक संरचना (घर) नहटाएर अवरोध सिर्जना गरे । केही काम शुरु भएको बेला कोरोना महामारीको कहरसँगै वर्षात् शुरु भयो । 

त्यही समयलाई निहुँ बनाएर ठेकेदार कम्पनीले पहिलो पटक म्याद थप गरेको र पहिलो म्याद अनुसार २०७७ साल जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

पुनः दोस्रो पटक म्याद थपियो जसको समयावधि सकिन अब ८३ दिन मात्रै बाँकी छ । दोस्रो म्याद थप बमोजिम २०७९ साल असार ३० गते सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

 तर यता ठेकेदारले २ पटक थपिएको म्यादसम्म पनि ६ लेनमा विस्तार कार्य सम्पन्न नगर्दा लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको मुख्य महेन्द्र राजमार्गमा पर्ने चौराहा–सिद्धार्थ राजमार्ग अन्तर्गत गोलपार्क सम्मको सडक दूरावस्थामा परिणत भएको छ ।

तस्विरमा देखिएको गत चैत १९ गते शनिबार बिहान परेको सामान्य वर्षाले हस्पिटल लाइन, पुष्पलाल पार्क सडक जलाम्य हुनुको साथै सवारी आवागमनमा समस्या भएको थियो । वर्षात्को समय नजिकिँदै गरेको अवस्थामा यहाँका नागरिक सडकको अवस्थाले चिन्तित बनेका छन् । 

बुटवलको चौराहा–गोलपार्क सडकखण्डको करिब ३ किलोमिटर सडक विस्तारको ठेक्का पाएको कम्पनी (कञ्चनजंघा बिरुवा जेभी) काठमाडौंले काममा ढिलासुस्ती गरेको भन्दै २० औं पटकसम्म ताकेता गर्दासमेत कुनै सुनुवाइ नगरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ । 

चुनाव जित्नका लागि नागरिकलाई विकास निर्माणको ठूला सपना देखाउने दलका नेताहरुले मुख्य सडकको दूर्दशा र सर्वसाधारणले भोगिरहेको असहजतालाई समाधान गर्ने प्रयासमा नलागेको सरोकारवालाहरुको गुनासो छ । 

सरोकारवालाले ठूला योजना ठेक्का लिएर अलपत्र पार्ने ठेकेदारको लाइसेन्स खारेज र ठेक्कालाई पनि रद्ध गरेर अन्य निर्माण कम्पनीलाई ठेक्का दिएर योजना सफल पार्ने तर्फ सरकारले कदम नचाल्दा सम्म यस्ता ठेकेदारले राष्ट्रिय स्तरका योजनाहरु अलपत्र र लाखौं रुपैयाँ खाने काम नगर्ने प्रवृति फस्टाउँदै जाने बताउँछन् । 

तर,अहिले सबै समस्याको समाधान भए पनि कामले गति लिन नसक्नु आफूले गरेको सर्वेक्षणमा सबैभन्दा बढी लापरबाही ठेकेदारको भएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको ठहर छ ।

ठेकेदारले पेटी ठेकेदारलाई ठेक्का दिने, यता पेटी ठेकेदारसँग निर्माण सामग्रीसमेत किन्ने पैसा नभएकाले समयमै सडक निर्माण कार्य हुन नसकेको र अस्तव्यस्त बन्न पुगेको जिसीले बताए ।

उनी भन्छन्, ‘ठेकेदारको चरम लापरबाही, संघीय सरकारको फितलो नीतिका कारण निर्माण कार्यमा ठेकेदारले चासो नदिदा बुटवलमा घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे एवं जलाम्य हुने गरेको छ । यसले विशेषगरी पैदलयात्री र साना सवारी आवागमनमा समस्या भएको छ । यहाँको व्यापार, पर्यटन क्षेत्र धरासायी भएको छ । हामीले पनि सडक विस्तारलाई निरन्तरता दिन भन्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बुटवलका सचिवलाई ज्ञापनपत्र बुझाएका हौं ।’

संघीय सरकार मातहत ठेक्का लागेको उक्त सडकमा बुटवल उपमहानगरको क्षेत्राधिकार भित्र नपर्ने भएकाले उप–महानगरपालिकाले सम्वन्धित निकायलाई छिटो गरिदिने भन्ने अपिल बाहेक अरु कुनै अधिकार नहुने उपहानगरका प्रवक्ता रामप्रसाद खनालले वताए । 

तर पछिल्लो समय बुटवल उपमहानगरपालिकाले सो जीर्ण सडकको सरसफाईका लागि सरसफाईकर्मीलाई खटाएर सरसफाईलाई प्राथमिकता दिदै आएको छ । सडकको विस्तार कार्य पछिल्लो समय थप अस्तव्यस्त वन्दा दिनप्रतिदिन अवस्था जीर्ण बन्दै गएको छ । ‘अधकल्चो’ बनेको चौराहा–गोलपार्क ६ लेन सडक ‘ङिच्च’ गरिरहेको छ । 

उक्त सडक बनाउने स्थानीय तहको निर्वाचनमा चुनावी एजेण्डा बन्ला कि नबन्ला ? ‘ज्यानमारा’ ६ लेन सडकको विषयमा चुनावी मैदानमा नेताहरु फेरि कुन एजेण्डा लिएर भाषण गर्ने हुन् ? आमनागरिक बाट यस्ता जिज्ञासा आउने बताईएको छ । ६ लेन सडक विस्तारका नाममा कच्रक्क पारिएको रोडमा सवारी साधनको दुर्घटना जोखिम पनि बढेको छ ।  

योजना प्रमुख दिपक कुमार झाँले दिएको जानकारी अनुसार हालसम्म ठेकेदारले ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ । अहिलेसम्म भौतिक प्रगति २३.५० प्रतिशत र वित्तीय प्रगति २२.४० प्रतिशत रहेको जनाइएको छ ।

अहिले सडकको दुवैतर्फ नाला बनाउने काम भए पनि ढिलासुस्ती हुँदै आएको छ । यो समाचार तयार पार्ने क्रममा सडक विस्तारको ठेक्का पाएको कञ्चनजंघा बिरुवा जेभीका आधिकारिक प्रतिनिधि सुवित श्रेष्ठलाई पटक–पटक सम्पर्क गर्न खोज्दा स्विच अफ भएको पाइएको थियो । 



नयाँ