- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि विसं २००६ साल बैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।
सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापाथलीदेखि च्यासलमा सार्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्मा हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिकको कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
स्थापना दिवसका अवसरमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । ‘आजको दिन देशभित्रका कम्युनिष्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो’, उनले भनेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् । उनीहरूले भारतको कोलकाता (तत्कालीन कलकत्ता) मा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ सालमा पहिलो पटक कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो ।
मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ लगायत कार्यक्रम लोकप्रिय बन्यो । उक्त सरकार ९ महिनामात्र सत्तामा टिकेको थियो ।
त्यसपछि भने कम्युनिष्ट पार्टीहरूले पटकपटक सत्तारोहरण गरिसकेका छन् । तर, उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिष्ट पार्टीहरू आलोचित छन् ।
अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा। बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् । जसमा प्रचण्ड र ओलीले दुई पटक सत्ताको नेतृत्व गरे ।
एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को घोषाणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।
पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार स्थापना भएको मिति इस्वी सम्वतमा भएको र त्यसलाई विक्रम सम्वतमा रूपान्तरण गर्दा १० बैशाख भएको दाबी गरेका छन् ।
स्वार्थ केन्द्रीत राजनीति
स्वार्थ केन्द्रीत राजनीतिका कारण २००६ सालमा चार नेताले स्थापना गरेको कम्युनिष्ट आज ७३ वर्षको अवधिमा आइपुग्दा ७३ पार्टीमा विभाजित भएको छ । जुन उद्धेश्यले सर्वहारा वर्गको उत्थानका लागि पार्टी स्थापना भएको थियो त्यसलाई लत्याएर व्यक्ति र स्वार्थ केन्द्रीत राजनीति गरेका कारण नै कम्युनिष्टहरु विभिन्न चिरामा विभाजित हुन पुगेका छन् ।
स्वार्थ केन्द्रीत राजनीतिकै कारण संस्थापक पुष्पलाललाईसमेत कारबाही गरिएको थियो । मदन भण्डारीलेसमेत आलोचना खेप्नु परेको थियो ।
अहिले पनि आफ्नो स्वार्थका कारण नेताहरु सहयात्रीहरुलाई ‘लाल गद्दार’ घोषणा गरी अगाडि बढ्न तछाड मछाड गरिरहेका छन् ।
यो पनि पढ्नुस्-