arrow

नेकपाको दोस्रो महाधिवेशन : पुष्पलाललाई हराउँदै नेतृत्वमा रायमाझीको पकड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
ncp-2nd-convention.jpg

पहिलो महाधिवेशन भएको चार वर्षपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको दोस्रो महाधिवेशन २०१४ साल जेठ १५–२५ मा अहिले निर्वाचन आयोग भएको स्थल काठमाडौँको फोहरा दरबारमा खुला रूपमा सम्पन्न भयो । महाधिवेशनको झन्डोत्तोलन पुष्पलाल श्रेष्ठले गरेका थिए । 

उद्घाटन त्यस बेलाका कार्यवाहक महासचिव केशर जङ्ग रायमाझीले गरेका थिए । पहिलो महाधिवेशनद्वारा निर्वाचित महासचिव मनमोहन अधिकारी चीनमा उपचारका लागि बसेपछि उनी सो महाधिवेशनमा उपस्थित भएनन् । रायमाझीले नै कार्यवाहक महासचिवकै हैसियतले महाधिवेशन गराए ।
 
दोस्रो महाधिवेशनमा केशर जङ्ग रायमाझीले पार्टीको कार्यक्रम परिवर्तनको प्रस्ताव राखेका थिए । प्रस्तुत पार्टी कार्यक्रममा परिवर्तन किन ? भन्ने दस्ताबेज पूर्ण रूपमा अस्वीकृत भयो र गणतन्त्रको कार्यनीति नारा पास भयो । महाधिवेशनमा पुष्पलालद्वारा प्रस्तुत कार्यक्रमको मुख्य मुख्य बुँदाको मस्यौदा पनि पास भयो । यसकै आधारमा कार्यक्रमको पूर्ण मस्यौदा तयार गरी केन्द्रीय समितिद्वारा जारी गर्ने निर्णयसमेत लिइयो । 

महाधिवेशनमा रायमाझीद्वारा प्रस्तुत लाइन अस्वीकृत भए पनि नेतृत्वमा रायमाझी गुटको नियन्त्रण रह्यो र रायमाझी दोस्रो महाधिवेशनद्वारा पुनः महासचिव बन्न पुगे । यो महाधिवेशनको रमाइलो पक्ष के हो भने नेतृत्वको लागि भएको मतदानमा रायमाझीले १७ मध्ये १२ मत पाएका थिए भने पुष्पलालले पाँच मत मात्रै पाएका थिए । 

अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भएका कारण त्यसलाई लागु गर्न बहुमतको नेतृत्वले ध्यान दिएन । त्यसपछि उनले योजनाबद्ध रूपमा महाधिवेशनद्वारा पारित कार्यक्रम र कार्यनीतिलाई अस्वीकार गर्ने काम गरे । 

दुई–दुई वर्षमा महाधिवेशन गर्ने दोस्रो महाधिवेशनको निर्णयलाई केन्द्रीय समितिको बहुमतको आडमा रायमाझी गुटले ६ वर्षसम्म टार्ने काम गर्‍यो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी अवसरवादी रायमाझी गुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई लामो समयसम्म असर पार्‍यो ।

अहिले पनि कुनै न कुनै रूपमा त्यसको प्रभाव देखिने गरेको छ । दोस्रो महाधिवेशनबाट तेस्रो महाधिवेशन नहुँदै नेपालमा राजा महेन्द्रले पञ्चायत सुरु गरे । प्रजातन्त्रलाई कु गरियो धेरै नेताहरू जेल परे । उता चीनबाट उपचार गरी फर्किएका मनमोहन अधिकारीलगायत धेरै नेताहरू जेलमा परेपछि अन्यौलता छायो । 

पार्टीका निर्वाचित महासचिव त्यति बेला रुस थिए । उनले मस्कोबाटै राजाको कदमको स्वागत गरिदिए । उनी पूर्ण रूपमा राजावादी कम्युनिस्ट भइसकेको आरोप लाग्यो । त्यो आरोप पछि प्रमाणित भयो । 

त्यो समय नेकपाको लागि निकै कठिन बनेको थियो । पार्टी प्रतिबन्धित थियो । त्यसमाथि प्रभावशाली नेताहरू जेलमा पनि परेका थिए । जेलबाहिर र भित्रका नेताहरूबीच प्रभावकारी सम्पर्क हुन सकेको थिएन ।

पार्टीका सानातिना विवाद पनि ठुला देखिन थाले । अप्ठ्यारो परिस्थिति भएका कारण पार्टी कार्यनीति र रणनीतिमा मेल खाएन । रुसी संरचनाको पार्टी बनाउने कि चिनियाँ संरचनाको पार्टी बनाउने भन्ने बारेमा निकै विवाद थियो । 

यही बीचमा २०१७ फागुन–चैतमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र पार्टीको दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर दस्ताबेज, प्रतिनिधित्व, स्थान, खर्च लगायतको विषयमा निर्णय नभएको भन्दै तोकिएको समयमा महाधिवेशन हुन सकेन । 

०१७ पुस १ गतेदेखि सुरु भएको पञ्चायती शासनमा पार्टीहरू प्रतिबन्धित भएका कारण महाधिवेशन झन् कठिन बन्दै गयो । महाधिवेशन नै नभएपछि पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो । 

पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझीको विपक्षमा थिए । रायमाझी कालान्तरमा राजदरबार पसे । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिस्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन थाले । 

२०१४ सालमा पार्टीको दोस्रो महाधिवेशनमा मोहनविक्रम केन्द्रीय समितिमा निर्वाचित भए । त्यसपछि पुष्पलाल र मोहनविक्रम बीचको सम्बन्ध घनिष्ठ हुँदै गयो । वैधानिक राजतन्त्र मान्ने कि गणतन्त्र ?

यो प्रश्नमा पार्टीमा कडा अन्त सङ्घर्ष चल्यो । महाधिवेशनले गणतन्त्रको सिद्धान्त पारित गर्‍यो । यो सिद्धान्त पास हुनुमा पुष्पलाललाई मोहनविक्रम सिंहको साथ थियो । 

२०१६ पुसमा काठमाडौँमा भएको केन्द्रीय समिति बैठकमा सबै नेता आलोचित भएका थिए । पुष्पलालमाथि ‘व्यक्तिवादी’ र ‘नेतृत्वको महत्त्वाकाङ्क्षी’ भएको आरोप लगाइएको थियो भने तुलसीलाल अमात्यमाथि ‘संसदीय मोर्चामा सक्रिय भूमिका खेल्न नसकेको’, केशर जङ्ग रायमाझीलाई ‘राजावादी भएको’, डीपी अधिकारीलाई ‘काँग्रेस पन्थी’ को आरोप लगाइयो । 

तेस्रो महाधिवेशनमा नहुँदै २०१५ सालमा भएको आम निर्वाचनमा देशभरबाट ४ सिट मात्रै विजय हासिल गरेको थियो । १०९ सिटका लागि २०१५ सालमा भएको आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले ४ सिट मात्रै जितेको थियो । नेपाल कम्युनिस्ट पार्टीले १ लाख २९ हजार १ सय ४२ मत पाएको थियो । 

२०१५ सालको पहिलो आम निर्वाचनमा पुष्पलाल श्रेष्ठ काठमाडौँबाट काँग्रेसका गणेशमान सिंहसँग पराजित भए । ललितपुरबाट तुलसीलाल अमात्य र पाल्पाबाट कलमराज रेग्मी दुई पोलिटब्यूरो सदस्यले मात्र चुनाव जिते ।

बाँकी २ जना रौतहटका स्थानीय कार्यकर्ता थिए । चार सदस्यीय संसदीय दलमा तुलसीलाल अमात्य संसदीय दलको नेता भएका थिए । ०१७ सालमा राजा महेन्द्रले कु गरेपछि भने कम्युनिस्ट पार्टीको अवस्था निकै कमजोर बन्यो । 

पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलायो । सोही बैठकले पाँचै जोनका संयोजक सम्मिलित ‘अन्तर–जोन सामञ्जस्य समिति’ बनायो । यो समितिले २०१९ सालमा ‘तलबाट बोलाइएको अधिवेशन’ आयोजना गर्‍यो ।

अधिवेशनले बहुमत पक्षका महासचिव केशर जङ्ग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई दुई वर्ष र शम्भुराम श्रेष्ठ तथा पीढी मल्ल लगायतलाई एक वर्षका लागि पार्टीबाट निष्कासित गर्‍यो । 

अर्कोतर्फ बहुमत पक्षले अल्पमत पक्षको अधिवेशन हुनुअघि नै पुष्पलाल, तुलसीलाल अमात्य र हिकमतसिंह भण्डारीलाई पार्टीबाट निष्कासन गरिसकेको थियो ।

अल्पमत पक्षले तुलसीलाललाई महासचिव छान्यो । बहुमत पक्षको महासचिवमा केशर जङ्ग रायमाझी यथावत् थिए । रायमाझी गुटबाहेकका नेताहरू पार्टीको अल्पमतमा थिए तर पनि अल्पमतले आन्तरिक विधि पुर्‍याइ वैशाख ४ देखि १५ गतेसम्म लगाएर २०१९ मा भारतको बनारसमा तेस्रो महाधिवेशन सम्पन्न गर्‍यो ।

दोस्रो महाधिवेशनपछि कम्युनिस्ट आन्दोलनमा विष्णुबहादुर मानन्धर लामो समयसम्म डा. केशर जङ्ग रायमाझीका साथमा थिए । पछि रायमाझीलाई निष्कासन गरेपछि एक समय मानन्धर पनि महासचिव भए । रायमाझी, मानन्धर, कृष्णराज बर्मा, तुलसीलालहरूका बीचमा एकता र विभाजन भइरह्यो । रायमाझी भने पछि एक्लै परे । 

२०१८ सालमा दरभंगामा कम्युनिस्ट पार्टीको प्लेनम भयो । त्यस प्लेनममा २४ जिल्लाका प्रतिनिधिहरू, केन्द्रीय सदस्यहरू गरी ५४ जना नेता कार्यकर्ताहरूले भाग लिएका थिए । त्यहाँ पेस भएका ३ वटा राजनैतिक दस्ताबेज मध्ये मोहनविक्रम सिंहले पेस गरेको संविधान सभाको लाइनमा २८ मत परेको थियो ।

संविधान सभाको विषयमा २००७ सालमा पनि कम्युनिस्ट पार्टीले उठाएको भए पनि राजाले कु गरेपछि पनि नेताहरूबीच छलफल भई संविधान सभाको चर्चा र परिचर्चा भएको नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । 

नेपाली काँग्रेसले राजाको कदमको विरोध गरेको भए पनि कम्युनिस्टहरू भने सानो समूहमा रहेका र विभाजित मानसिकता भएकाले उनीहरूको आवाज पनि कमजोर थियो ।

कम्युनिस्ट पार्टीले विघटित संसद्को पुनर्स्थापनाको नारा दिएर निरङ्कुश राजतन्त्र र पञ्चायती तानासाही व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने घोषणा गरेको थियो । पुष्पलालले पनि दरभंगा प्लेनममा त्यही नारालाई प्रस्तावित गरे । 

मोहनविक्रमले पहिले देखिको संविधानसभाको नारालाई निरन्तरता दिने कुरामा जोड दिए। त्यसरी दरभंगा प्लेनममा गएर पुष्पलाल र मोहनविक्रमबीचको एकता अन्तर्विरोधमा बदलियो।

रायमाझी पक्षको मत संविधानसभा वा विघटित संसद्को पुनर्स्थापनाजस्तो कुनै नारा नदिएर संसदीय प्रणालीको पुनर्स्थापना गर्नुपर्छ भन्ने थियो।केन्द्रीय कमिटीमा रायमाझीको बहुमत थियो । पुष्पलालको प्रस्तावको पक्षमा तुलसीलाल, शम्भुराम, हिकमतसिंह भण्डारी आदिको समर्थन थियो।



नयाँ