arrow

इतिहासमा नेकपा

एक महिनासम्म चलेको दरभंगा प्लेनमको अर्थ, जहाँ रोए तुलसीलाल

महासचिव केशरजंग रायमाझी दरबारसँग मिले, जेलबाट छुटे एक महिनामै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
ncp-plenam-darbhanga-india.jpg

राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद विघटन गरे । त्यसको २१ दिनपछि सम्पूर्ण पार्टीहरूमाथि प्रतिबन्ध लगाए । दलमाथिको प्रतिबन्धले कम्युनिस्ट आन्दोलनमा पनि त्यसको गम्भीर असर पर्यो । अन्य पार्टीहरूभैmं नेकपाका केही नेता र कार्यकर्ताहरू गिरफ्तार भए । 

२०१७ साल कार्तिक महिनामा सोभियत संघको मास्कोमा आयोजित विश्व कम्युनिष्ट सम्मेलनमा भाग लिन गएका नेकपाका महासचिव केशरजंग रायमाझीले त्यहींबाट राजाको फौजी कदमलाई प्रगतिशील कदम भनी स्वागत गरे । तर पुष्पलालको नेतृत्वमा नेकपाको पोलिटब्यूरोले सैनिक आतंकको संज्ञा दिंदै त्यसको विरोध गर्यो र संसदीय दलहरूको सम्मेलनको माग गर्यो । 

माघ महिनामा रायमाझी सोभियत संघबाट फर्केपछि पार्टीमाथिको प्रतिबन्ध हटाउने, राजबन्दी रिहाइ तथा मौलिक अधिकारको माग गरियो । विघटित संसदका बारेमा भने कुनै कुरा अघि सारिएन । संसदको विघटनपछि २०१७ साल फागुनमा भारतको दरभंगामा नेकपा केन्द्रीय समितिको विस्तारित बैठक (प्लेनम) बस्यो । चर्को विवादको कारण बैठक एक महिनासम्म लम्बियो । 

यस बैठकलाई नेकपाको इतिहासमा दरभंगा प्लेनम भनिन्छ । यस बैठकमा तीन लाइन देखियो । वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रका पक्षमा रहेका केशरजंग रायमाझीलगायत केन्द्रीय समितिका बहुमत सदस्यहरू संसदीय व्यवस्थाको स्थापनाका विपक्षमा रहे । विघटित संसदको पुनस्र्थापना र संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल रहे । 

संविधान सभाको चुनावको पक्षमा बैठकको बहुमत रह्यो । यसको नेतृत्व मोहनविक्रम सिंहले गरेका थिए । यसमा मोहनविक्रम बाहेकका अन्य सबै सदस्यहरू केन्द्रीय समितिभन्दा बाहिरका थिए । दरभंगा प्लेनमले पार्टीमा देखा परेको मतभेदलाई निराकरण गर्न नौ महिनाभित्र महाधिवेशन बोलाउने, नेपाललाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रलाई एक–एक जना पोलिटब्यूरो सदस्यको जिम्मामा दिने र राजावादी रुझानका कारण रायमाझीलाई महासचिवबाट हटाएर तीन जनाको सचिवालय बनाउने तथा त्यसको कार्यालय काठमाडौंमा राख्ने निर्णय लियो । 

सचिवालयमा केशजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डी.पी. अधिकारीलाई राख्ने निर्णय भयो । पछि केन्द्रीय समितिले प्लेनमको निर्णय मान्न केन्द्र बाध्य छैन भन्दै रायमाझीको लाइनलाई नै अघि सार्यो ।

दरभंगा प्लेनमद्वारा गठन गरिएको सचिवालय पनि विवादमुक्त रहेन । केन्द्रीय समितिले चार–पाँच वर्षसम्म महाधिवेशन गर्न नसकिने धारणा अघि सार्न थाल्यो । २०१९ सालमा सचिवालय सदस्य शम्भुराम श्रेष्ठ पनि गिरफ्तार भए । परिणामस्वरूप दरभंगा प्लेनमको धारणा तत्कालीन केन्द्रीय समितिबाट कार्यान्वयन हुने सम्भावना पूर्णतः हराएर गयो । केन्द्रीय समितिमा रायमाझी र पुष्पलाल बीचको मतभेद अझ तीव्र भयो । 

दरभंगा प्लेनमको समयमा केशरजंग राति–राति राजाको दूत दामोदर शमशेरसँग भेट्ने गरेको रायमाझीलाई आरोप लाग्यो । त्यो रहस्य खुलेपछि प्लेनममा नै मोहनविक्रमले केशरजंगलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखे । त्यो प्रस्ताव आउनासाथ तुलसीलाल ‘अब पार्टी फुट्ने भयो’ भनेर रोएका थिए । त्यसपछि प्लेनमको वातावरण फेरियो । मोहनविक्रमको प्रस्तावमा छलफल नै भएन । छिटै रायमाझी, राजासित मिलेको कुरा स्पष्ट भयो । 

बिहारको दरभंगामा रहेका रायमाझी काठमाडौं पुगेपछि जेल परे । तर उनी एक महिनामै छुटे । ‘केन्द्रीय कमिटीको कुनै पनि सदस्य जेल परेमा कागज गरेर, माफी मागेर वा राजा र पञ्चायती व्यवस्थालाई समर्थन गरेर नछुट्ने’ प्लेनमको निर्णय थियो । पार्टीको महामन्त्री नै एक महिनापछि कसरी जेलबाट छुटे भनी सबैतिर प्रश्न र शंकाको विषय बन्यो । 

त्यो वेला तुलसीलाल र मोहनविक्रमहरू दरभंगामा नै थिए । उनीहरुले  रायमाझीबारे सत्यतथ्य पत्ता लगाउन भरतमोहन अधिकारीलाई काठमाडौं पठाए । त्यो बेला मनमोहन अधिकारी र रायमाझी एकै ठाउँमा नजरबन्दमा थिए  ।

भरतमोहनले गएर मनमोहनलाई भेटेपछि अन्ततः रायमाझी दरबारसँग मिलेर नै छुटेको भन्ने प्रमाणित भयो । यसरी नेकपाभित्र दरभंगा प्लेनमबारे बहस हुने गरेको छ । कम्युनिष्ट पार्टीभित्र यसको बहस निरन्तर चलिरहन्छ ।



नयाँ