- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजा महेन्द्रले प्रजातन्त्रलाई कु गरेर निरंकुश शासन सत्ता शुरु गरेपछि कम्युनिष्ट पार्टी करिब करिब भंग भएको अवस्थामा दरभंगा प्लेनमको ठूलो महत्व छ । पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलायो ।
सोही बैठकले पाँचै जोनका संयोजक सम्मिलित ‘अन्तर–जोन सामञ्जस्य समिति’ बनाएको थियो । २०१८ सालमा दरभंगामा कम्युनिष्ट पार्टीको प्लेनम भयो । त्यस प्लेनममा २४ जिल्लाका प्रतिनिधिहरु, केन्द्रीय सदस्यहरु गरी ५४ जना नेता कार्यकर्ताहरुले भाग लिएका थिए ।
त्यसमा संविधान सभाबारे पनि बहस भएको पाइन्छ । तर दरभंगा प्लेनम विपरीत नेतृत्व तहबाट काम हुन थालेपछि उक्त प्लेनमद्वारा निर्धारित पाँचवटै जोन (क्षेत्र) का प्रतिनिधिहरू सामेल भई २०१८ साल भदौमा अन्तर जोन सामञ्जस्य समितिको गठन भयो । यसको गठन पार्टीका बहुसंख्यक सदस्यहरूको प्रतिनिधित्व हुने गरी विभिन्न जिल्लाको सक्रियतामा भएको थियो ।
पूर्वकोशी प्रान्तिय कमिटीको पुनर्गठन बैठक तुलसीलाल अमात्यको उपस्थितिमा सिलगुढीमा बस्यो । त्यो प्रान्तीय कमिटीको सचिवमा भरतमोहन अधिकारी छानिए । त्यसपछि पश्चिम कोशी प्रान्तिय कमिटी पुनर्गठन भयो । तर यी कमिटीहरुको विपक्षमा रहेकोले अन्तरजोन सामञ्जस्य समिति पनि केन्द्रीय समितिको विरोधमा उत्रियो ।
अन्तरजोन सामञ्जस्य समितिको सचिवमा तुलसीलाल छानिए । यही समितिको निर्णय अनुरुप पुष्पलाललाई लिन जाने र जेलमा रहेका मनमोहन अधिकारीलाई जेलबाट भगाउनेसमेत योजना बन्यो ।
अन्तरजोन सामञ्जस्य समितिको आयोजनामा २०१९ बैशाख ४–१५ मा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भयो । अन्तरजोन सामञ्जस्य समितिको तर्फबाट समितिका सचिव तुलसीलालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई महाधिवेशनले पारित गर्यो । महाधिवेशनले ५१ सदस्यीय राष्ट्रिय परिषद र ७ सदस्यीय सचिवालय (राजनीतिक समिति) निर्माण गर्यो । त्यसको महासचिवमा तुलसीलाल चुनिए ।
तेस्रो महाधिवेशनको मूख्य विवाद भनेको तत्कालिक नारामा केन्द्रीत थियो, कार्यक्रम होइन । अन्तरजोन सामञ्जस्य समितिको तर्फबाट तुलसीलालले संप्रभुता सम्पन्न संसद स्थापना (सुप्रिम एण्ड सोभरन पार्लियामेण्ट) को माग प्रस्तुत गरे । पुष्पलालले विघटित संसदको पुनःस्थापना (रेस्टोरेसन अफ भेरी पार्लियामेण्ट) को माग राखे ।
यसैगरी जेलमा रहेका मोहन विक्रम सिंहको तर्फबाट संविधान सभा (कन्स्टीचयेयण्ट असेम्ल्वी) को माग राखियो । छलफल पछि संप्रभुता संपन्न संसद स्थापनाको माग अत्यधिक बहुमतले पारित भयो ।
तुलसीलाल अमात्यद्वारा प्रस्तुत पार्टी कार्यक्रम राष्ट्रिय प्रजातन्त्रको कार्यक्रममा कसैको पनि विरोध थिएन । किनकि चीन र रुसका कम्युनिष्ट पार्टीसहित मास्कोमा भएको बैठकले नेपाल जस्तो देशका लागि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गरेका थिए ।
तेस्रो राष्ट्रिय महाधिवेशनले वास्तवमा त्यसलाई समावेशमात्र गरेको थियो । तर पार्टीमा विवाद बढ्दै गएपछि पुष्पलाल श्रेष्ठको समेत कार्यक्रम विवाद नगर्ने र छिटो संघर्षमा जाने सहमतिका विपरित आवश्यक छलफल नै नगराई राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गरिएको भन्ने आरोप छ ।
महाधिवेशनद्वारा एक भएर जाने प्रतिबद्धता लामो समयसम्म कायम रहन सकेन । महाधिवेशन पश्चात् केन्द्रीय समितिको विस्तारित बैठकले टिमको भावना कायम गर्नका लागि ६ सूत्रीय संहिता (आचारविधि) पनि तय गर्याे । पुष्पलाल र तुलसीलाललाई संयुक्त रूपमा कार्यालय सञ्चालन गर्ने जिम्मा दिइयो । छैटौं केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौथो महाधिवेशनको तयारी गर्ने जिम्मा तुलसीलाललाई दियो ।
तर नेतृत्व तहको बढ्दो गुटबन्दीका कारणले त्यो सम्झौता र सहमति कार्यान्वयन हुन सकेन । त्यही समयमा तुलसीलालले कुन बाटो ? नामक पुस्तिका प्रकाशित गरेका थिए ।
त्यसको जवाफमा पुष्पलालले मूलबाटो नामक पुस्तिका निकाले । अन्तर संघर्षमा परेका नेकपालाई सन् १९६२ पछि चर्किंदै गएको रुस र चीन विवादले पनि गम्भीर असर गर्यो । विवादको जड तुलसीलालको कुन बाटो र पुष्पलालको मूल बाटो भन्ने पुस्तिका बन्यो ।
तेस्रो महाधिवेशनपछि पार्टी केन्द्र पूर्ण रूपमा निस्क्रिय र निस्तेज बन्न पुग्यो । विभिन्न तहका कमिटीहरूले आपूmलाई केन्द्रबाट स्वतन्त्र घोषणा गर्न थाले ।
तेस्रो महाधिवेशनद्वारा कार्वाहीमा परेको रायमाझी गुटले २०२३ सालमा तेस्रो केन्द्रीय सम्मेलन गरी राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम अघि सार्यो र विधानमा संशोधन गरी तेस्रो महाधिवेशन गर्ने निर्णय गर्यो ।
त्यसले २०२४ सालमा तेस्रो महाधिवेशन गरी केन्द्रीय नेतृत्व छान्ने काम गर्यो । जेलमा रहेका मनमोहन र शम्भुरामलाई पनि केन्द्रीय समितिमा समावेश गर्ने काम गर्यो ।
२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यकारिणी समिति विवादका कारणले निस्क्रिय रहेको अवस्थामा २०२४ सालमा पुष्पलाल पक्षबाट केन्द्रीय समिति निर्माण गर्दै एउटा कन्भेन्सनको आयोजना गरियो ।
त्यसले पुष्पलालद्वारा प्रस्तुत गरिएको पार्टी सिंहावलोकन दस्तावेजलाई मस्यौदाका रूपमा पारित गर्यो । २०२५ साल जेठमा यस समूहले तेस्रो सम्मेलन गरी बेग्लै पार्टी केन्द्रको घोषणा गर्यो र पुष्पलाल महामन्त्री भए ।
छरिएर रहेका कम्युनिस्टलाई एक सूत्रमा बाधी पार्टी महाधिवेशन वा सम्मेलन गरी केन्द्रीय कमिटीको गठन गर्ने उद्देश्यले जेलमा रहेका नेताहरू छुटेर आएपछि २०२८ साल मंसीर २० गतेका दिन केन्द्रीय न्यूक्लियसको गठन भयो ।
केन्द्रीय न्यूक्लियसले मनमोहन, शम्भुराम र मोहनविक्रमलाई कार्यालय सञ्चालन गर्ने जिम्मा दियो । केन्द्रीय न्यूक्लियसले मनमोहन र शम्भुरामलाई पुष्पलालसँग एकता वार्ता गर्ने जिम्मा दियो । तर शम्भुरामले पुष्पलाललाई पार्टी भंग गर्ने प्रस्ताव राखेका कारणले वार्ता असफल भयो ।
कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले गठित न्यूक्लियस आफैं एकीकृत बन्न सकेन । अन्ततोगत्वा केन्द्रीय न्यूक्लियसको एउटा पक्षले मोहनविक्रमको नेतृत्वमा २०३१ साल भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन गर्यो । र अर्को पक्षले २०३६ सालमा एकता सम्मेलन गरी नेकपाको घोषणा गर्यो । नेकपाको फुट र विभाजनका कारणले एक समयमा डेढ दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी देखा परे ।
तृतीय महाधिवेशनको राजनीतिक प्रस्ताव
का. तुलसीलाल अमात्य, मन्त्री, अन्तर जोन सामञ्जस्य समितिद्वारा पे्रषित र तृतीय महाधिवेशनद्वारा पारित)
(२०१९ वैशाख ४ गतेदेखि १५ गतेसम्म)
राजनीति आयोगको भनाई
अन्तर जोन सामञ्जस्य समितिका मन्त्री का. तुलसीलाल अमात्यले तेस्रो पार्टी महाधिवेशनमा राजनीतिक रिपोर्ट पेश गरेका थिए । उक्त रिपोर्टमा सबै प्रतिनिधिहरूले आफ्नो विचार प्रकट गर्न सकून् भन्ने उद्देश्यले प्रतिनिधिहरूको विभिन्न डफ्फा पार्टी महाधिवेशनले बनाएको थियो ।
यी विभिन्न डफ्फा बैठकहरूमा सबै साथीहरूले भाग लिए । संशोधन, थपघट आदिका विभिन्न सुझावहरू आए ।
डफ्फा बैठकबाट आएका विभिन्न सुझावहरूलाई एकत्रित गर्न महाधिवेशनले ९ जनाको एउटा आयोग खडा गर्यो । सो आयोगले डफ्फा बैठकहरूबाट आएका सुझावहरूलाई एकत्रित गरी महाधिवेशनमा पेश गर्यो ।
औपचारिक रूपबाट तेस्रो पार्टी महाधिवेशनले रिपोर्टमा आएका सुझावहरूलाई स्वीकृति, अस्वीकृति, नयाँ थप सुझाव आदि दिने काम गरी राजनीतिक रिपोर्टलाई पारित गर्यो ।
त्यसपछि पारित गरिएको विभिन्न सुझावहरूको आधारमा रिपोर्टमा संशोधन गरी प्रकाशित गर्न पार्टी महाधिवेशनले ५ जनाको एउटा राजनीतिक आयोगको गठन गर्यो ।
तेस्रो पार्टी महाधिवेशनको सो आदेश बमोजिम, मूल रिपोर्टमा संशोधन गरी यस रूपमा राजनीतिक रिपोर्ट तयार गरेका छौं ।
काठमाडौं
राजनीतिक आयोग
तेस्रो पार्टी महाधिवेशन