- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२०४६ सालको जनआन्दोलनपछि राजनीतिक दललाई लागेको प्रतिवन्ध हट्यो । नेपाली कांग्रेसको नेतृत्वमा २०४७ सालमा अन्तरिम सरकार र २०४८ सालमा आम निर्वाचन सम्पन्न भयो । त्यसअघि नै नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्ना गतिविधिहरु खुला रुपमा सञ्चालन गरिसकेका थिए ।
नेकपा माले ठूलो कम्युनिष्ट पार्टीको रुपमा उदाएको थियो । माले–माक्र्सवादी एकीकरणले देशव्यापी रुपमा कम्युनिष्ट पार्टीको लहर आएको थियो । २०४७ सालमा माले–माक्र्सवादी एकीकरण भएपछि बनेको नेकपा (एमाले) ले २०४९ साल काठमाडौंमा खुला रुपमा महाधिवेशन गर्ने घोषणा गरेको थियो । त्यही सिलसिलामा नेकपा अमात्य समूह पनि पार्टीमा एकीकरण भयो । एमाले अझै बलियो शक्तिको रुपमा अघि बढ्यो ।
नेकपा (एमाले) को आयोजनामा नेकपाको पाँचौं महाधिवेशन २०४९ साल माघ १४–२० मा काठमाडौंमा खुला रूपमा सम्पन्न भयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिको खुला परिवेश र माले–माक्र्सवादी एकतापछिको तदर्थपूर्ण स्थितिलाई अन्त्य गर्दै पाँचौं राष्ट्रिय महाधिवेशनको राष्ट्रिय राजनीतिमा महत्व राखेको पाइन्छ ।
पाँचौं महाधिवेशनले नेपाली क्रान्ति (कम्युनिष्ट आन्दोलन) को मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गर्यो । अधिवेशनमा कार्यनीति, संगठनात्मक प्रस्ताव, विधान, कृषि क्रान्तिको कार्यक्रम, विश्व कम्युनिष्ट आन्दोलन र जाति, भाषा सम्बन्धी नीति जस्ता दस्तावेजहरू पारित गरिए ।
यो महाधिवेशनले माक्र्सवादीबाट आएका मनमोहन अधिकारीलाई अध्यक्ष र मालेका महासचिव मदन भण्डारीलाई महासचिवमा सर्वसम्मत चयन गर्यो । जनस्तरमै खुला बहस र छलफल संचालन गरी सम्पन्न पाँचौं महाधिवेशन नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमै अभूतपूर्व रह्यो । महाधिवेशनले नेपाली क्रान्तिका लागि नया दिशाबोध गर्ने कामसमेत गर्यो ।
पाँचौं महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको मार्गदर्शनमा अघि बढ्ने क्रममा आज नेकपा (एमाले) मुलुककै सर्वाधिक ठूलो कम्युनिष्ट पार्टी बन्न पुगेको छ । नेकपा (एमाले) ले वर्तमानमा हासिल गरेको सफलताको श्रेय पाँचौं राष्ट्रिय महाधिवेशनलाई नै छ । पाँचौं राष्ट्रिय महाधिवेशनको प्रभाव अहिलेको दशौ महाधिवेशनसम्मका लागि उत्तिकै सान्दर्भिक रहेको बताइन्छ ।
जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा अत्यधिक बहुमतद्वारा जनताको बहुदलीय जनवाद पारित गरेपछि त्यसको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा नेकपा (एमाले) ले लोकतान्त्रिक पार्टीको रुपमा रुपान्तरित हुँदै गयो । ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं’ भन्ने मूल नारा थियो ।
पाँचौ महाधिवेशनले पास गरेको जनताको बहुदलीय जनवादको कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा पार्टीले एमालेले पटक पटक केन्द्रीय सरकार संचालन गर्ने अनुभव हासिल गर्यो । स्थानीय निकायमा पार्टी अहिले मुख्य संचालक बन्न सफल भयो । प्रतिनिधि सभामा पार्टी पटक पकट सबैभन्दा ठूलो दल र प्रमुख पार्टीका रूपमा कार्यरत रहेको छ ।
पाचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको व्यवहारिक परीक्षण भएको छ । जनताको बहुदलीय जनवादको कार्यक्रम आफ्नो विशिष्टता र मौलिकताका कारण जनता माझ र पार्टी पंक्तिमा अत्यन्त लोकप्रिय बन्न पुग्यो । जनताको बहुदलीय जनवाद अहिले नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित हुनुका साथै यो नेपाली विशिष्टतामा आधारित र आफ्नै विशेषता भएको नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीतिलाई निर्देशित गर्ने नेतृत्वकारी विचार बन्न पुगेको एमालेको दावी छ ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले) २१ औं शताब्दिलाई नेपाली जनताको मुक्ति र समृद्धिको शताब्दिका रूपमा अघि बढाउन सफल हुने कुराको अपेक्षा सँगै समाजवादमा पुग्ने मुख्य गन्तब्य नै जबज भएको जनाएको छ ।
पाँचौ महाधिवेशन अघि तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा ‘बहुदलीय जनवादबारे केही कुरा’ शीर्षकमा पुस्तिका प्रकाशित गरेका थिए । पछि त्यही पुस्तिकालाई नै अन्तिम रुप दिएर ०४९ माघ १४–२० मा काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) पारित ग-यो । यद्यपि, महाधिवेशनमा भण्डारीको जबजका अतिरिक्त सिपी मैनालीको परिमार्जित नौलो जनवाद, मोहनचन्द्र अधिकारीको नौलो जनवाद, रघु पन्तको सामाजिक जनवादीजस्ता कार्यक्रम पनि प्रस्तुत गरिएका थिए ।
तर व्यापक छलफलबाट पनि निष्कर्ष ननिस्किएपछि मतदान भयो, जहाँ भण्डारीको दस्तावेजले बहुमत पायो । पाँचौं महाधिवेशनले नै नेपालमा कम्युनिष्ट पार्टीको स्थापना सन् १९४९ अप्रिल २२ मा भएको भन्ने निष्कर्ष निकाल्यो । त्यसअघि कम्युनिष्ट पार्टीको स्थापना सन् १९४९ अप्रिल २२ कि सेप्टेम्बर १५ भन्नेमा विवाद थियो ।
एक पटक पत्रकार अरुण बरालले ‘एमालेमा जबजको च्याप्टरः दक्ष प्रजापतिको टाउकै गायव’ शीर्षकको लामो लेख लेखेका थिए । त्यसमा एमालेभित्र भएका गुटबन्दीको चिरफार थियो । त्यसमा पाचौ महाधिवेशन र त्यसबाट आएका विषयहरुलाई पनि केही हदसम्म समेट्ने प्रयास गरेको देखिन्छ ।
जसअनुसार एमालेभित्रको गुटगत झगडा कहिले जबजका नाममा चल्छ, कहिले ‘परिमार्जित नौलो जनवाद’ का नाममा चल्थ्यो । कहिले ‘पार्टी स्वतन्त्रता’ कि ‘राजनीतिक स्वतन्त्रता’ भन्ने बाहनामा झगडा चल्थ्यो त कहिले ‘झापाली गुट’ र ‘गैर झापाली गुट’ का नाममा चल्थ्यो भनेका छन् । पाँचौ महाधिवेशनपछि जबजकै वरिपरि विवाद चलिरहेको छ ।
पाँचौ महाधिवेशनपछि कहिले माले–मार्क्सवादी गुटका नाममा त कहिले ‘माओवादी परस्त’ र कहिले ‘महाकाली नदी’ को ईस्युमा समेत एमालेभित्र भगडा भयो । पाँचौ महाधिवेशनपछि ‘जबज’को च्याप्टरका नाममा चलिरहेको विभिन्न अन्तर्यमा न विचार न सिद्धान्तले भन्दा पनि बढी पुरानो रिस आवेग तुषले गुटबन्दी भैरहेको छ । पाँचौ महाधिवेशनमा एमालेको आन्तरिक जीवनलाई हेर्दा त्यहाँभित्र ‘देखिने गुट’ हरुमात्रै होइनन् नदेखिने गुटहरु पनि सक्रिय हुने गरेका छन् । जुन आज पनि निरन्तर सक्रिय जस्तै छन् ।
२०७४ भदौ ४ गते प्रकासित एउटा अन्तर्वार्तामा सीपी मैनालीले पाँचौ महाधिवेशनबाट मदन भण्डारीले माक्र्सवाद छाडेको आरोप लगाएका छन् । ‘मदन भण्डारी प्रखर वक्ता हुन् । मार्क्सवादको वर्गीय दृष्टिकोण उनले छोडे पनि राष्ट्रवादी थिए । तर, नयाँ जनवादको ठाउँमा जबज भनेर उनले मार्क्सवाद छाडेका थिए । त्यसैको विरोधमा मेरो लडाई थियो । तर, पार्टीको सत्तामा रहेकाहरुले त्यसबेला पार्टीभित्र ठूलो अनियमितता गरे । पुँजीवादी चुनावमा हुने धाँधली उनीहरुले महाधिवेशनमा गरे ।
मदन भण्डारी आफैं दरबारदेखि झुपडीसम्म बहस गर्नुपर्छ भन्थे । उनले बहस यति गरे कि पुँजीवादीहरू, अवसरवादीहरु उनको पक्षमा उभिने भए । जबकि मेरो पक्षमा माक्र्सवाद बुझ्ने थोरै मान्छे उभिए’, सीपी मैनालले त्यतिबेला भनेका थिए ।
एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद अर्थात जबज सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरे । तथापि बहुदलीय जनवादको भ्रूण चौथो महाधिवेशमै रोपिएको थियो । त्यतिबेला एमाले (तत्कालीन माले) ले आफ्नो दस्तावेजबाट ‘माओ विचारधारा’ औपचारिकरुपमै हटाउने निर्णय गरिसकेको थियो । जनआन्दोलनपछि ०४९ सालमा आयोजित पाँचौं महाधिवेशनमा जबजबारे बहस भइरहँदा एमालेमा दुईवटा गुटहरु देखा परे ।
सीपी मैनालीले को ‘परिमार्जित नौलो जनवादी’ र मदन भण्डारीले ‘जबज’ को नेतृत्व गर्दे गुटबन्दी शुरु भयो ।
पार्टी स्थापना कालदेखि नै सीपी मैनालीको देवत्वकरण हुँदै आएकाले पाँचौं महाधिवेशनमा पनि उनकै लाइनले जित्ने धेरैले अनुमान लगाएका थिए । तर, महाधिवेशनमा नेता सीपी मैनालीको लाइन पराजित भयो ।
पार्टीका नवोदित नेता मदन भण्डारीको बहुदलीय जनवादी लाइनले जित्यो । पाँचौं महाधिवेशनसम्म एमालेका धेरै नेताहरु सीपी मैनालीका भक्त थिए । हुन त सीपी मैनाली आफैं पनि नौलो जनवादमा परिमार्जन गरिनुपर्छ भन्थे, तर ‘जुँगाको समस्या’ ले गर्दा मदन भण्डारीसँग फरक देखिनकै लागि उनले जबजलाई स्वीकार गरेनन् र ‘परिमार्जित नौलो जनवादी’ लाइनका नाममा एमालेभित्र बलियो गुट उभ्याए ।
त्यतिबेलाका सीपी मैनाली पक्षधर विजय सुब्बाका अनुसार मदन भण्डारीको भन्दा मैनालीको नीतिका एकाध बुँदा मात्रै फरक रहेको त र सीपीलाई मदन भन्दा फरक हुनै पर्ने भएकाले सो लाइनमा नीति तयार पारेका थिए । त्यस समय एमालेको टोल कमिटीसम्मै सीपी गुट र मदन गुटका नाममा सामानान्तर धारहरु विकसित भएका थिए ।
एमालेमा त्यसबेला के भन्ने गरिन्थ्यो भने सीपी मैनालीको ‘देखिने गुट’ हुन्छ, तर केपी ओलीको चाहिँ ‘नदेखिने गुट’ हुन्छ । केपी ओली पनि पार्टीभित्र गुट त खेलाउँथे, तर नदेखिने गरी । मदन भण्डारी र सीपी मैनालीका दुई गुटहरु मौलाइरहेका बेला केपी ओलीको पनि गुट थियो, तर बाहिरबाट देखिँदैनथ्यो ।
केपी ओली व्यक्तिगत रुपमा पनि सीपी मैनालीको लाइन भन्दा पनि मदन भण्डारीको बहुदलीय जनवादतिरै नजिक थिए । ओलीको त्यही ‘नदेखिने गुटले’ पाँचौं महाधिवेशनमा जबजको लाइनलाई जिताइदियो । पाँचौं महाधिवेशनका बेला एमाले नेता झलनाथ खनालको प्रस्तुती निकै नै रोचक रह्यो । उनले जबजलाई ‘दक्ष प्रजापतिको टाउको’को संज्ञा दिए ।
पौराणिक पात्र दक्ष प्रजापतिको शरीरमा बोकाको टाउको जोडिएजस्तै जबजलाई निन्दा गरेका झलनाथ खनालपछि आठौ महाधिवेशनमा पुग्दा जबजबाटै पार्टी अध्यक्ष निर्वाचित भए । यद्यपि झलनाथ खनाललाई वैचारिक नेता मान्ने युवापुस्ताका एमाले नेताहरु अहिले झलनाथको अनुहारमा सीपी मैनालीको ‘परिमार्जित लाइन’ उभिएको देख्छन् ।
त्यसो त वामदेव गौतम पनि विगतमा जबजको विकल्पमा आफूले नयाँ विचार प्रस्तुत गरेको बताउँछन् । भर्खरै प्रकाशित कितावको भूमिकामा पनि उनले यो कुरा लेखेका छन् । पछि उनै गौतम जबजको असली व्याख्याता भए ।
पाँचौ महाधिवेशनमा प्रस्तुत जनताको बहुदलीय जनवादका १४ विशेषता :
१. संविधानको सर्वोच्चता :कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।
२. बहुलवादी खुला समाज : प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाँबाट अलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन ।
३. शक्ति पृथकीकरणको सिद्धान्त : शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।
४. मानव अधिकारको रक्षाः साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन् । मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण तत्व हो र हुनुपर्दछ ।
५. बहुदलीय प्रतिस्पर्धा प्रणालीः राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।
६. आवधिक निर्वाचनः जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।
७. बहुमतको सरकार र अल्पमतको विपक्ष बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिस्पर्धा हो । अर्कोमूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुन संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।
८. कानूनको शासनः कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनैपनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन्।
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरणः जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ । पहिलोचरणः पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबैक्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
दोश्रो चरणः नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने । तेश्रो चरणः समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
१०. विदेशी पूजी र प्रविधिः वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।
११. क्षतिपूर्तिः नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइनेछ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइनेछ ।
१२. विदेश नीतिः पञ्चशीलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।
१३. नेतृत्व र अधिनायकत्वः सेवा, पहलकदमी र प्रतिस्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आमरूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।
१४. जनताकोबहुदलीय जनवादः यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीयजनवाद नामाकरण गरिएको हो ।
जबज लेख्ने क्रममा पाँचौ महाधिवेशन अघि संविधानमा आलोचनात्मक समर्थन गर्दै बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेको संकेत ।
०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै मदन भण्डारीले प्रस्तुत गरेका असहमतिका २७ वुँदाहरूः
१. मस्यौदा संविधानको धारा ३ मा सार्वभौमसत्ता जनतामा निहित रहेको र यसको प्रयोग संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भनिएको छ । यस्तो अस्पष्टता हुनुहुँदैन । यसमा सुस्पष्टरुपमा जनता र जनताबाट निर्वाचित प्रतिनिधिहरूद्धारा सार्वभौमसत्ताको प्रयोग हुनेछ भनेर लेखिनुपर्छ, नत्र फेरि घुमाउरो ढंगले त्यो अधिकार राजाकै हातमा पुग्नसक्छ ।
२. धारा ४ अधिराज्यको (१) मा उल्लेख भएको हिन्दू शब्द हटाइनुपर्छ । राजा हिन्दू धर्मावलम्बी हुनेछन् भन्ने कुरा धारा २७ मा लेखिएको हुनाले यहाँ अधिराज्यको परिभाषामा त्यसलाई राख्नु आवश्यक छैन । त्यसले अधिराज्यको सम्बन्धमा भ्रम खडा गर्नसक्छ । राजा हिन्दू हुनु वर्तमान यथार्थताको तस्विर मात्र हो । अधिराज्यको सवालमा यस्तो कुनै भ्रम रचिनुहुँदैन ।
३. धारा ६ मा नेपाली भाषालाई राष्ट्रभाषा र देशका सबै मातृभाषाहरुलाई राष्ट्रिय भाषा लेखेको हुनाले पक्षपात गर्न खोजिएको भ्रम उत्पन्न भएको छ । सबै भाषालाई समानढंगले सम्मान गर्नका निमित्त एउटै मात्र शब्दको प्रयोग गरी नेपाली भाषालाई राजकीय वा सरकारी कामकाजको भाषा मात्र मान्नुपर्छ ।
४. धारा ७ को ३ मा उल्लेख भएको निशाना छाप वर्तमान परिस्थितिअनुरुप फेर्नुपर्छ ।
५. भाग ३ को मौलिक हकसम्बन्धी व्यवस्थामा प्रतिबन्धात्मक उपधाराहरू राखिएका छन् । तिनीहरूमा प्रयोग गरिएको राजद्रोह तथा हिंसात्मक कार्य गर्ने जस्ता शब्दहरू हटाउनुपर्छ । त्यहाँ सुस्पष्ट रुपमा राजद्रोह तथा हिंसात्मक कार्य गर्ने जस्ता शब्द राख्नुपर्छ । नत्र शासकहरूले जहिले पनि विपक्ष माथि यस्तो आरोप लगाएर प्रतिबन्ध लगाउने खतरा रहन्छ । प्रतिबन्धात्मक विषयलाई अत्यन्त आवश्यक भएका ठाउँसम्म मात्र सीमित गर्नुपर्छ । एक हातले मौलिक हक दिए जस्तो गर्ने र अर्को हातले खोस्ने ढंगले गरिएको व्यवस्था आपत्तिजनक छ ।
६. धारा १७ को सम्पत्तिको हकसम्बन्धी व्यवस्था लोककल्याणकारी राज्यको अवधारणा अनुरुप हुनुपर्छ । आमूल परिर्वतनकारी भुमिसुधार र अरू आर्थिक सुधारका कार्यक्रमहरू संचालन गर्ने, हदबन्दी निश्चित गर्ने र हदबन्दीभन्दा बढी जग्गालाई कानून बनाएर अधिग्रहण गर्ने संवैधानिक व्यवस्था हुनुपर्छ । श्रमिकहरूलाई आफ्नो श्रम र श्रमको उत्पादनमाथि पूर्ण स्वामित्व प्रदान गर्ने कुरा उल्लेख गरिनुपर्छ ।
७. भाग ५ को श्री ५ सम्बन्धी महलमा धारा २७ को २ मा श्री ५ लाई नेपालको राष्ट्रियता र नेपाली जनताको एकताको प्रतीक भनिएको छ श्री ५ भनेको संविधान अनुसार एउटा व्यक्ति राष्ट्रियता र जनएकताको प्रतीक हुन सक्दैन । यसलाई हटाउनुपर्छ । बहुदलीय प्रजातन्त्रमा प्रजातान्त्रिक संविधान मात्र राष्ट्रियता र जन एकताको प्रतीक हुनसक्छ ।
८. धारा२७ को ३ मा संविधानको संरक्षण श्री ५ बाट गर्ने भनिएको छ । संविधानको संरक्षणकर्ता जनता हुन्, श्री ५ वा कुनै व्यक्ति, राजनीतिक पार्टी वा संस्था हुनसक्दैन । श्री ५, राजनीतिक पार्टी र हरेक व्यक्तिले संविधानको पालना गर्नुपर्छ । सार्वभौम अधिकार भएका जनतामात्र त्यसका संरक्षक हुन सक्दछन् ।
९. धारा २८ को १ र २ दुवैलाई हटाउनुपर्छ । श्री ५ का वंशजहरूको रित र परम्परा भनेको स्वेच्छाचारी र निरंकुशतन्त्री रहँदै आएको छ । अब त्यस्तो स्थिति रहन पाउने छैन । राजा पूर्णरुपमा संविधानको मातहत हुनुपर्छ । उत्तराधिकारीको क्रम सम्बन्धी कानून बनाउने, संशोधन गर्ने, खारेज गर्ने अधिकार श्री ५ को स्वीकृत संसदमा रहनुपर्छ ।
१०. धारा २९ को श्री ५ र राजपरिवारको खर्चसम्बन्धी व्यवस्थामा प्रचलित कानूनमा व्यवस्था भएको खर्च र सुविधा घट्ने गरी कुनै कानून बनाउन पाइने छैन भन्ने प्रतिबन्धात्मक वाक्यांशलाई हटाउनुपर्छ र यस धारामा उल्लेख गरिएको श्री ५ शब्द पनि हटाउनुपर्छ ।
११. धारा ३० मा राजपरिवारको आय वा निजी सम्पत्ति करमुक्त र अनतिक्रम्य हुने व्यवस्था गरिएको छ । यसलाई पूरै हटाउनुपर्छ । श्री ५ राजपरिवार जमिन, उधोग, व्यवसाय आदिमा पूरै लाग्न पाउने तर हदबन्दी र नियन्त्रण गर्ने केही पनि हुन नहुने संवैधानिक व्यवस्था हुनुहुँदैन । राजा र राजपरिवारको सम्पत्तिमा पनि नागरिकसरह कर लाग्ने व्यवस्था गरिनुपर्छ ।
१२. धारा ३० मा गरिएको स्पष्टीकरणलाई अलग र सिंगो धारा बनाएर सुस्पष्ट व्यवस्था गरिनुपर्छ र राजपरिवार भन्नाले के बुझिन्छ भन्ने किटानसाथ उल्लेख हुनुपर्छ ।
१३. धारा ३१ मा श्री ५ ले गरेका कुनै कामको सम्बन्धमा कुनै पनि अदालतमा सवाल–जवाफ गर्न नपाइने व्यवस्था गरिएको छ, यसलाई सच्याएर श्री ५ ले संविधान बमोजिम गरेका कामको बारेमा अदालतमा सवाल–जवाफ नहुन सक्छ । संविधान मिचेर काम गरेको भएमा अदालतमा मुद्दा चलाउन र सवाल–जवाफ गर्न पाउनुपर्छ ।
१४. भाग ६ को राजपरिषद्ले गर्ने भनिएको काम संसदले नै गर्नसक्ने हुनाले राजपरिषद्को अलग व्यवस्थालाई पूरै हटाउनुपर्छ ।
१५. धारा ४० मा उल्लेख गरिएको कार्यकारिणी अधिकारबाट श्री ५ लाई हटाउनुपर्छ । यसैको उपधारा (२) लाई पुनर्लेखन गरी अन्यथा शब्दले भन्न खोजेको व्यवस्थालाई प्रष्ट पार्नुपर्छ र बाँकी सबै श्री ५ ले गर्ने काम मन्त्रिपरिषद्को सल्लाह र सम्मतिबाट मात्र गर्ने व्यवस्था किटान हुनुपर्छ ।
१६. धारा ४१ को (६) मा प्रतिनिधिसभामा निजका विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा भन्ने कुरा पनि थप्नुपर्छ ।
१७. प्रतिनिधि सभा विघटन भई कार्यबाहक मन्त्रिपरिषद्ले निर्वाचन सम्पन्न गर्ने दायित्व निर्वाह गर्नेक्रममा प्रधानमन्त्रीको निधन भएमा राष्ट्रियसभाको सिफारिसमा श्री ५ बाट अर्को कार्यबाहक मन्त्रिपरिषद्को गठन गरिने कुरा स्पष्ट पारिनुपर्छ ।
१८. धारा ६१ को (१) मा बहसमा बन्देज गरिएको कुरा हटाउनुपर्छ । अनुचित आचरण भएको खण्डमा संसदमा बहस, छलफल गर्न पाउनुपर्छ ।
१९. धारा ७३ को (२) मा विधेयकमा संशोधन पेश गर्न श्री ५ को पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटाउनुपर्छ ।
२०. धारा ७७ को अध्यादेशसम्बन्धी व्यवस्थामा उपधारा (१) को श्री ५ सन्तुष्ट होइबक्सेमा, मौसुफबाट आवश्यक सम्झिबक्सेको भन्ने वाक्यांशहरु हटाउनुपर्छ । मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गर्नुपर्न सुस्पष्ट व्यवस्था गरिनुपर्छ ।
२१. धारा ८२ को (१) र धारा ८४ को (१) मा गर्नुपर्ने कामहरु श्री ५ बाट गराउने भन्ने प्रावधान हटाउनुपर्छ । धारा ८६ र ८७ मा श्री ५ को स्वविवेक, सन्तुष्टि र स्वीकृति भन्नेजस्तो वाक्यांशलाई हटाउनुपर्छ । यो मन्त्रिपरिषद्को अधिकार र कर्तव्यको विषय हो ।
२२. भाग १८ बमाजिम संकटकालीन स्थिति उत्पन्न भएमा धारा १२२ को (८) अनुसार निलम्बित धाराहरुबाहेक धारा २३ को संवैधानिक उपचार प्राप्त गर्ने हकसमेत निलम्बन गर्नुहुँदैन ।
२३. धारा १२५ मा राष्ट्रिय सुरक्षा समितिको व्यवस्था उल्लेख गर्नु आवश्यक छैन । देशको सेना पूर्णरुपले मन्त्रिपरिषद्को मातहत हुनुपर्छ । सेनाको परिचालन कार्यकारिणी अधिकार हो र त्यो पूर्णरुपमा मन्त्रिपरिषद्मा रहनुपर्छ ।
२४. धारा १२९ मा बाधा अड्काउ अधिकारको व्यवस्था गरिएको ठाउँमा प्रधानमन्त्रीको सिफारिसमा श्री ५ बाट आदेश जारी गर्ने कुरा उल्लेख हुनुपर्छ । त्यो आदेशलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउनुपर्छ । प्रतिनिधिसभाले अनुमोदन नगरे त्यो आदेश अमान्य र खारेज हुनुपर्छ । यो धारा संविधान लागू भएको एक वर्षपछि स्वतः हट्नेछ ।
२५. धारा १३३ मा संविधान लागूभएपछि पनि संविधानसँग बाझिएको भए पनि खारेज वा संशोधन नभएसम्म पुराना कानूनहरु एक वर्षसम्म लागू रहने व्यवस्था गरिएको छ । यसलाई बदल्नुपर्छ र संविधान लागू भएदेखि नै त्यससँग बाझिने ऐन÷कानूनहरू बाझिएको हदसम्म निष्क्रिय हुने र नबाझिएका कानूनहरू मात्र लागू रहने व्यवस्था गरिनुपर्छ । नत्र संविधान जस्तोसुकै भए पनि जनताको दैनिक जीवनमाथि तानाशाही शासन बदलिएको अनुभव हुन पाउनेछैन ।
२६.श्री ५ को सरकार मा श्री ५ हटाएर नेपाल सरकार भन्ने व्यवस्था हुनुपर्छ । शाही सेना भनिएको ठाउँमा नेपाली सेना भन्ने व्यवस्था हुनुपर्छ। सरकारी सार्वजनिक संस्थानहरु र निकायहरू सबै ठाउँमा रहेको शाही शब्द हटाउनुपर्छ ।
२७. श्री ५ ले संविधान विपरित काम गरेको खण्डमा महाअभियोग लगाउन पाइने अधिकारकोव्यवस्था गरिनुपर्छ। यदि यस्तोप्रावधान भएन भनेइतिहासमा जस्तै फेरि निरंकुश तन्त्र-स्वेच्छाचारिता बढ्दै जानसक्ने खतराबाट जोगिन सकिन्न ।