- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा शुक्रवार बसेको बोर्ड बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत पारित गरेको छ ।
बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार पारिएको “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका-२०७९” पारित गरेको छ । साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता सञ्चालनका लागि सहमति प्रदान गर्ने नेपाल सरकार मन्त्रीपरिषद्प्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।
बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ । जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल-टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो-खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाइडिङ र रग्बी ७ ए साइट खेल सञ्चालन गरिने भएको छ । त्यसै गरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।
बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनुका साथै प्रतियोगिता मूल आयोजक कमिटी, कार्यकारी समिति, उप-समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत पारित गरेको छ ।
एशियन खेलमा २३ खेल समावेश गर्ने निर्णय
शुक्रवार युवा तथा खेलकुद मन्त्रालयको हलमा सम्पन्न राखेपको बोर्ड बैठकले १९ औं एशियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागी हुने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागिता जनाउने निर्णय गरेको हो ।
यसअघिका एसियन खेलमा खेलाडीहरुले देखाएको उत्कृष्ट नतिजा तथा पछिल्लो समयमा सफलता प्राप्त भइरहेका खेलहरूका आधारमा एशियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरिएको हो । बैठकले एशियन खेलकुदमा सहभागी हुने खेलाडीहरूको छनौट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । बैठकले विभिन्न सङ्घ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्ने देखी आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट माग गर्ने सम्मको निर्णय पारित गरेको छ ।
बैठकमा बोल्दै युवा तथा खेलकुद मन्त्री तथा बैठकका अध्यक्ष महेश्वर गहतराज (अथक) ले खेलकुदको महाकुम्भका रूपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । उनले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न नसकिए थप एक वर्ष खेर जाने भएकाले दत्तचित्त भएर प्रतियोगितामा केन्द्रित हुन निर्देशन समेत दिए ।