arrow

एमालेले टुङ्ग्यायो कर्णालीका ७९ स्थानीय तहमा उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
karnali-pradesh-province-always.jpg

कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख-उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख-उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो ।  

एमालेले प्रमुख-उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुगुका आठ, कालिकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका पाँच तहका प्रमुख-उपप्रमुख टुङ्गो लगाएको हो । हुम्लाका सात स्थानीय तहका प्रमुख पद मात्र टुङ्ग्याएको छ । 

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख छन् । 

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको बताउनुभयो । दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख-उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो । केन्द्रले पनि आइतबार राति नै ती पालिकाको टुङ्गो लगाएको छ । 

आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुङ्ग्याएको छ । 

डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरको प्रमुख-उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन । कर्णालीअन्तर्गत सुर्खेतमा नौ, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा छ, जाजरकोटमा सात, कालिकोटमा नौ, जुम्लामा आठ, मुगुमा चार, हुम्लामा सात र डोल्पामा सात स्थानीय तह छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरेन्द्रनगरको नगर प्रमुख पदमा मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा वीरेन्द्रनगरका पूर्व नगर प्रमुख छन् । यस्तै, राप्रपाले नगर उपप्रमुख पदमा अञ्जु बस्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले पनि आज मनोनयन दर्ता गर्ने तयारीमा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ