arrow

महानगर र उपमहानगरमा एमालेलाई विरासत जोगाउने चुनौती, कडा प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
um-party-office-new-2079.jpg
फाइल तस्बिर

काठमाडौं । यतिबेला स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच प्रतिस्पर्धा शुरु भएको छ । सत्तारुढ दलहरुले एमालेप्रति आक्रामक रुपमा चुनावी अभियान शुरु गरेका छन् भने एमालेले पनि आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । 

खासगरी एमालेले विगतमा जितेका स्थानीय तह जोगाउन लागेको छ भने गठबन्धन दलहरुले विगतमा आफूले जितेका जोगाउँँदै एमालेले जितेका खोस्ने तयारीमा रहेका छन् । विगतमा एमालेले दुई महानगरसहित करिब ४४ प्रतिशत स्थानीय तह हात पारेको थियो । 

अहिले पनि एमालेले आफ्नो विरासतलाई कायम राख्ने प्रयासमा लागेको छ । यद्यपि एमाले विरुद्ध सत्ता गठबन्धन रहेका कारण ठूलो चुनौती देखिएको छ ।

एमाले सत्ता गठबन्धन भएपनि तीन महानगरपालिकामा आफ्ना पार्टीले जीत निकाल्ने जनाएको छ । तर सबै महानगरपालिकामा कडा प्रतिस्पर्धा गर्नुपर्ने एमालेको निष्कर्षसमेत रहेको छ । 

हाल महानगर र उपमहानगरमा भने एमालेले कडा प्रतिस्पर्धामा उभिएको छ । यतिबेला देशभरका ११ वटा उपमहानगरपालिकाको चुनावी सरगर्मीलाई निकै चासोको साथ हेरिएको छ । सबै उपमहानगरमा सत्ता–गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ ।  

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेले इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर गरी ६ वटा उपमहानगरमा प्रमुख जितेको थियो । हेटौडामा भने २०४८, २०५४ र २०७४ सालमा पनि एमालेले जीत निकालेको थियो । 

कांग्रेसले धरान, कलैया र धनगढी गरी तीन वटा उपमहानगरपालिकामा जीत निकालेको थियो । धरानमा भने उपनिर्वाचनपछि कांग्रेसको झन्डा गाडिएको  थियो । राष्ट्रिय जनता पार्टीले जनकपुर र राप्रपा नेपालले नेपालगञ्जमा विजय हासिल गरेका थिए । 

समग्र स्थानीय तह निर्वाचनमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रले भने कुनै पनि उपमहानगरमा जित्न सकेको थिएन । अहिले सत्ता गठबन्धनमा भागबन्डा हुँदा माओवादीले जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुख पाएको छ तर यी दुवैमा एमालेले कडा टक्कर दिइरहेको छ । 

त्यसैगरी बुटवल उपमहानगरपालिकामा सत्ता–गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट बाबुराम भट्टराई मेयरमा र सावित्रादेवी अर्यालले उपमेयरमा उम्मेदवारी दिएका छन् । 

२०७४ सालको स्थानीयमा बुटवलमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकृष्ण खाँणले २० हजार ८५१ मत पाएका थिए । 

त्यसबेला बुटवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । अहिले बुटवलमा एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । बुटबलमा पहिला भन्दा अहिले एमालेको अवस्था खस्किएको बताइएको छ ।

त्यस्तै कृष्णबहादुर महराले आफ्नो प्रतिष्ठाको विषय बनाएको दाङको घोराही उपमहानगरपालिकामा पनि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

यहाँ एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा मनकुमारी डिसीले उम्मेदवारी दिएका छन् । घोराही उपमहानगरपालिकामा गत निर्वाचनमा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्वाचित भएका थिए । उनले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डाँडीले १७ हजार ४८४ मत ल्याएका थिए । 

माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए । यसपटक माओवादी र कांग्रेस मिलेपछि त्यहाँ गठबन्धनलाई जीत्न सहज हुने बताइएको छ । एमालेका उम्मेदवार चौधरी र कांग्रेसका उम्मेदवार डाँगीबीच ४ हजार ५४६ को मतान्तर रहेको थियो । 

दाङकै तुलसीपुरमा पनि एमालेका लागि कठिन अवस्था बनेको छ । तुलसीपुर उपमहानगरपालिका पनि एमालेका लागि चुनौती बनेपछि एमालेलाई निकै असहज बनेको छ । 

तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् । 

एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार शेशुराम भण्डारीले  ८ हजार ६ सय ९३ मत ल्याएका थिए । 

यसपटक पाण्डे उम्मेदवार बनेनन् । उनले छाडेपछि एमालेले खड्कालाई उम्मेदवार बनाएको हो । पाण्डेचाहीँ त्यहाँ निकै लोकप्रिय नेताको रुपमा चिनिएका थिए । एमालेका उम्मेदवार पाण्डे र कांग्रेसका उम्मेदवार गिरीबीच ३ हजार ९५४ मतको फरक थियो। 

गठबन्धनका उम्मेदवार भएकाले यस पटक गिरीलाई सहज भएको अनुमान गरिएको छ । त्यस्तै राप्रपासँग सहकार्य गरेको एमालेका लागि नेपालगञ्ज उपमहानगरपालिका केही सहज हुने अवस्था रहेको छ । 

त्यहाँ बाहिरबाट आएका मानिसलाई टिकट दिइएको छ । यो उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपा नेपालका कमरुद्दिन राईले उम्मेदवारी दिएका छन् । 

एमालेबाट पशुपतिदयाल मिश्रले मेयरमा र शान्तिदेवी ढकालले उपमेयरमा उम्मेदवारी दिएका छन् । मिश्र भर्खरै एमालेमा प्रवेश गरेका हुन् । नेपालगञ्जमा २०७४ को स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार धवलशमशेर राणा १२ हजार ५१५ मतसहित मेयरमा निर्वाचित भएका थिए । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३० मत ल्याएका थिए। माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ मत ल्याएका थिए ।  

सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले मेयरमा पाएको मत २१ हजार ३६९ रहेको छ । जुन एमाले उम्मेदवारले पाएको मतभन्दा १४ हजार ४०४ मतले बढी हो । 

अहिले राप्रपा विभाजन भएको अवस्थामा गठबन्धनलाई सहज हुने देखिएपनि राप्रपा महामन्त्री धवलशमशेर आफैं लागेका कारण एमाले पनि कडा प्रतिस्पर्धामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ